चार करोड बजेट, विश्वका डेढ अर्ब बौद्धमार्गी भित्र्याउने लक्ष्य !
प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ रुपन्देहीमा मात्रै केन्द्रित हुने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बुटवलले रुपेन्देहीलाई केन्द्रमा राखेर लुम्बिनी भ्रमण बर्षको घोषणा गरेको हो । त्यसका लागि प्रदेश सरकारले देशका सात वटै प्रदेशमा प्रचारप्रसार गरिरहेको छ ।
नेपाल सरकारले सन् २०२० लाई भिजिट नेपाल बर्षका रुपमा मनाउन लागिएको कार्यक्रमलाई आधार प्रशस्त गर्ने उद्देश्य समेत राखेको लुम्बिनी भ्रमण बर्षमा प्रदेश सरकारले अन्य जिल्लामा रहेको धार्मिक तथा पर्यटकीय स्थलहरुमा भने कुनै कार्यक्रम तोकेको छैन । लुम्बिनी भगवान् गौतम बुद्धको जन्म स्थल हो । विश्वभर रहेका डेढ अर्ब बुद्धमार्गीहरुलाई लुम्बिनी र नेपालको भ्रमणमा आकर्षित गर्न सकिन्छ भन्ने निष्कर्षका साथ प्रदेश सरकारले लुम्बनी भ्रमण बर्ष मनाउन लागेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र लुम्बिनी भ्रमण बर्ष कार्यक्रम २०७६को प्रचारप्रसार उपसमितिले संयुक्त रुपमा नेपालगन्जमा मंगलबार नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
विश्वभरका बौद्धमार्गीलाई लुम्बिनी भित्र्याउन प्रचारप्रसार तथा तयारीमा ठूलो बजेट खर्च हुनुपर्ने हो । तर, उद्देश्य अनुरुपको बजेट भने प्रदेश सरकारले विनियोजन गरेको छैन । प्रदेश सरकारले बजेट भने चार करोड रुपैयाँ मात्र छुट्याएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । विश्वभरीका बौद्ध मार्गीलाई लुम्बिनीमा आकर्षित गर्ने भनिएपनि नेपाल बाहिर कुनै पनि प्रवद्र्धनात्मक कार्यक्रमको योजना आयोजकसँग छैन ।
प्रदेश ५ को नामाकरण नै लुम्बिनी रहने चर्चा चलिरहँदा लुम्बिनी भ्रमण बर्ष रुपन्देहीमा मात्र केन्द्रित रहेको देखिएपछि पत्रकार सम्मेलनमा सहभागीहरुले विभिन्न हिसाबले पर्यटनको केन्द्र बन्न सक्ने अन्य जिल्लाका पर्यटकीय स्थलमा कुनै पनि कार्यक्रम समावेश नगरेको बारे प्रश्न समेत उठाएका थिए । ‘प्रदेश सरकारले नै आयोजना गर्न लागेको लुम्बिनी भ्रमण बर्षका कार्यक्रम प्रदेशका अन्य जिल्लामा रहेका पर्यटकीय स्थल किन नराखिएको हो ?’, पत्रकार सम्मेलनमा सहभागीहरुले आयोजकको ध्यानाकर्षण गर्दै प्रश्न गरे ।
प्रदेश सरकारले लुम्बिनी भ्रमण बर्षको सफल कार्यान्वयनबाट प्रदेशको मात्र नभई देशकै पर्यटन उद्योगमा नयाँ अवसर सिर्जना हुने दाबी गरेको छ । तर, एक बर्ष भरी चल्ने भनिएको भ्रमण बर्षका औपचारिक कार्यक्रमहरु भने लुम्बिनी नै केन्द्रित हुने आयोजकले उपलब्ध गराएको प्रचार सामाग्रीमा उल्लेख छ । ‘लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेश ५ का महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार र प्रवद्र्धन गरिनेछ’, आयोजकले भनेका छन् ।
पर्यटन व्यवसायीले लुम्बिनी भ्रमण वर्षमा प्रदेशका हरेक पर्यटकीय क्षेत्रलाई जोड्न सुझाव दिएका थिए । उनीहरुले प्रदेश ५ मा रहेका सबै पर्यटकीय स्थलहरुको विश्वव्यापी प्रचारप्रसार गरे त्यसले पर्यटक केन्द्रित गर्न सकिने धारणा राखेका थिए । ‘देशभित्र केन्द्रित प्रचारले आन्तरिक पर्यटक मात्रै केन्द्रित हुन्छन्, विश्वभर पयटकीय स्थल प्रवद्र्धन गर्ने कार्यक्रमहरु ल्याइनु पर्छ’, सहभागीहरुले भने, ‘प्रदेश सरकारले भ्रमण बर्ष आयोजना गर्दा अन्य जिल्लाका पर्यटकीय स्थलहरु केन्द्रित गरेर प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरे राम्रो हुनेथियो ।’
भ्रमण वर्षको जेठ ४ गते बुद्ध पूर्णिमाको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । जेठ ५ गते मायादेवी प्रस्तुति उत्सव आयोजना गरिनेछ । भ्रमण बर्षका क्रममा सुजाता खीर उत्सव, सडक प्रदर्शनी, मायादेवी मन्दिर परिसरमा दैनिक दिप प्रज्वलन, मासिक फुल मुन डे (पूर्णिमा) उत्सव, धार्मिक यात्रा र त्रिपिटिक वाचन, योग तथा ध्यान शिविर, पिस म्याराथुनको कार्यक्रम तय गरेको छ । भ्रमणवर्षबाट लुम्बिनीमा वार्षिक २० लाख पर्यटन आउने अपेक्षा गरिरएको छ ।
पत्रकार महासंघ प्रदेश महासचिव भेषराज बस्नेतले सञ्चालन गरेको कार्यक्रममा बाँकेका विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।