बुटवलमा जारी प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगितामा बाँकेले बुद्धिचाल र ब्याडमिन्टनमा स्वर्ण पदक हासिल गरेका छन् भने महिलाको १५ सय मिटर दौडमा तेस्रो हुँदै काँस्य पदक हासिल गरेका छन् ।
बुद्धिचालमा बाँकेबाट प्रतिनिधित्व गरेका पशुपतिनाथ योगीले सबै प्रतिस्पर्धीलाई पछाडि पार्दै स्वर्ण पदक हासिल गर्न सफल भएका हुन् । भर्खरै मात्र सक्रिय भएको बाँके जिल्ला बुद्धिचाल संघलाई जीतको श्रेय दिंदै योगीले स्वर्ण पदक जिल्लालाई समर्पित गरेको प्रतिक्रिया दिए । ब्याडमिन्टनको टिम इभेन्टमा सुष्मा खड्का र सम्झना शाहीको जोडीले स्वर्ण पदक जितेको छ । एथलेक्टिसमा कमला रोकाले काँस्य पदक हात पारेकी हुन् ।
आयोजक खेलकुद परिषद् प्रदेश ५ का अध्यक्ष भीम ओलीका अनुसार, आज बुधबार पुरुष भलिबलको तेस्रो उपाधीका लागि बाँके रोल्पासँग भिड्दैछ । उनका अनुसार, कुल पाँच विद्याका १३ ईभेन्टका प्रतियोगिता भैरहेको छ । प्रतियोगिता आज नै सकिनेछ ।