शरद शर्मा
प्रमुख राजनीतिक दल निकटका विद्यार्थी सङ्गठनको साङ्गठनिक गतिविधि प्रायः निष्क्रिय भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) तथा नेपाली काङ्ग्रेसको नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को साङ्गठनिक गतिविधि निष्क्रिय भएका हुन् । नेकपा एकता गर्दा नै पार्टीले अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)को साङ्गठनिक गतिविधिलाई रोक लगाएको भने नेविसङ्घको केन्द्रीय कार्यसमिति विघटन भएसँगै निष्क्रिय भएको हो । ती विद्यार्थी सङ्गठनको अहिले केन्द्रीय कमिटीदेखि जिल्ला कमिटी हुँदै तल्लो तहसम्मका बैठक, भेलासमेत ठप्प हुँदै आएका छन् ।
२०७२ माघमा २२ औँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन गरेको अनेरास्ववियुको त्यसपछि पार्टीले नै कुनै अधिवेशन नगर्नु भनेपछि अहिलेसम्म कुनै पनि साङ्ठगनिक कार्य गरेको छैन । प्रत्येक दुई÷दुई वर्षमा हुँदै आएको अखिलको अधिवेशन अहिले पार्टी एकताले रोकिएको छ । अखिलको सम्मेलनमा २०७४ माघमा भइसक्नुपर्ने थियो तर तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएपछि बनेको नेकपा पार्टीले अहिले दुवै अखिलका क्रियाकलापमा रोक लगाएको कारणले सङ्गठनको कुनै काम हुन सकेका छैनन् । अहिले तल्लो तहसम्मका ती दुई अखिलका कमिटी निष्क्रिय रहेको छ । दुई सङ्गठनको एकताका लागि एक वर्षदेखि प्रयास गरे पनि अहिलेसम्म टुङ्ग्गोमा पुग्न सकेको छैन । अखिलका कार्यवाहक अध्यक्ष रश्मी आचार्यले पार्टी एकताले सङ्गठनको जीवनमा शिथिलता भएको बताउनुहुन्छ ।
“सङ्गठनलाई चलायमान गराउनका लागि हामीले अहिलेसम्म प्रत्येक दुई/दुई वर्षमा अधिवेशन गर्दै आएका थियौँ” उहाँले भन्नुभयो, “तर पार्टीले दुई सङ्गठनको एकता नभएसम्म कुनै पनि साङ्गठनिक कार्य गर्न रोक लगाएकाले कुनै क्रियाकलाप गर्न पाएका छैनाँै । अहिले सङ्गठनको जीवन नै सुस्त छ ।” उहाँले दुवै अखिलको एकता नभएकाले अहिले पदाधिकारी बैठकले गतिविधि गरिरहेको बताउनुभयो । पार्टी एकतासँगै दुई सङ्गठनको एकता हुन बाँकी रहेको छ । सङ्गठनको नाम अनेरास्ववियु र केन्द्रीय कमिटी ४९९ रहने मात्र टुङ्ग्गिएको छ । क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले दैनिक क्रियाकलाप गर्न नपाउँदा सङ्गठनमा समस्या भएको बताउनुभयो । “पार्टी एकताले गर्दा अहिले हामीले कुनै पनि दैनिक क्रियाकलाप गर्न पाएका छैनौँ”, उहाँले भन्नुभयो, “शैक्षिक एजेण्डलाई दरिलोसँग उठाउन पाएका छैनौँ । कुन विषय कसरी उठाउने र विद्यार्थीबीच जाने भन्नेमा अन्यौल भएको छ ।”
२०७४ असोजमा भएको ११ आँै राष्ट्रिय सम्मेलननबाट निर्वाचित अध्यक्ष तामाङले अहिलेसम्म एक पटकमात्र केन्द्रीय कमिटीको बैठक बसिएको जानकारी गराउनुभयो । उहाँका अनुसार क्रान्तिकारीको कतिपय जिल्ला कमिटी र एकाइ कमिटीको अधिवेशन दुई वर्ष पूरा भइसक्दा पनि हुन सकेको छैन । अध्यक्ष तामाङले औपचारिक रुपमा सङ्गठन एक नहुँदा अन्योल र अराजकता सङ्गठनमा बढेको बताउनुभयो । विद्यार्थी सङ्गठनका साङ्गठनिक गतिविधि नै सुस्त भए पनि विद्यार्थी आन्दोलनलाई प्रभावित भएको छ । विद्यालय तहको नयाँ शैक्षिक शुरुआत हँुदा पनि विद्यार्थी सङ्गठनले आफ्नो प्रभाव देखाउन सकेनन् । यस्तै निजी विद्यालयले चर्को शुल्क लिँदा पनि उनीहरु चुप लागेर बसेका देखिन्छन् । यस्तै प्रत्येक दुई÷दुई वर्षमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा पनि सङ्गठनका साङ्गठनिक जीवनमा सुस्तता आउँदा यो वर्ष हुन सकिरहेको छैन ।
यसैगरी नेविसङ्घ गत माघ २८ गतेबाट कार्यसमितिविहीन भएको छ । कार्यकाल समाप्त भएपछि सङ्घका अध्यक्ष नैनसिंह महरले दिएको राजीनामा पार्टीले स्वीकृत गरेपछि कार्यसमितिविहीन भएको छ । २०७३ सालमा भएको ११ आँै राष्ट्रिय महाधिवशेनबाट महरको नेतृत्वमा कार्यसमिति चयन गरिएको थियो । सङ्घका निवर्तमान अध्यक्ष महरले सङ्गठनको नेतृत्व नभएपछि साङ्गठनिक गतिविधिमा शून्यता भएको बताउनुभयो । “हाम्रो कार्यकाल सकिएपछि हामीले सामूहिक राजीनामा दिएका हाँै”, उहाँले भन्नुभयो, “पार्टीले नयाँ नेतृत्व चयन नगरेकाले सङ्गठनका क्रियाकलाप हुन सकेको छैन ।” प्रतिपक्ष दलको विद्यार्थी सङ्गठन नै निष्क्रिय भएपछि सरकारका विरुद्ध कुनै पनि आन्दोलन हुन सकेका छैनन् । महरले साङ्गठनिक जीवन नभएकाले फाट्टफुट्ट रुपमा विद्यार्थी आन्दोलन गरे पनि धनभूतरुपमा हुन नसकेको बताउनुभयो ।
अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरेले परिवर्तनका संवाहकको रुपमा रहेका विद्यार्थी सङ्गठनको साङ्गठनिक जीवन निष्क्रिय भएपछि समाजले न्याय नपाएको बताउनुभयो । “विद्यार्थी सङ्गठन जहिले पनि परिवर्तनका लागि क्रियाशील संस्था हुन्”, उहाँले भन्नुभयो, “तर अहिले प्रमुख विद्यार्थी सङ्गठन नै निष्क्रिय भएपछि विद्यार्थी आन्दोलन हुन सकेको छैन ।” यता नेविसङ्घका पूर्वअध्यक्ष रन्जित कर्णले प्रमुख विद्यार्थी सङ्गठन क्रियाशील नहुँदा समग्र विद्यार्थी आन्दोलनसँगै राजनीतिक आन्दोलनसमेत शिथिलता भएको बताउनुभयो । “अहिले विद्यालय, कलेजमा शुल्क्रवृद्धि हुँदा बोल्ने कोही छैन । दिनदिनै विद्यार्थीका ढाड सरकारी र निजी कलेज÷विद्यालयले भाँचेका छन्” उहाँले भन्नुभयो, “तर त्यसविरुद्ध बोल्ने कोही छैन । विद्यार्थीका हकअधिकार कुण्ठित हुँदै गएका छन् ।”