कोमलको बैंङ्किङ्ग उडान

इन्टर्नशिपदेखि ब्रान्च मेनेजरसम्म

रामु ओली

साँझको समय । सात बजि सकेको थियो । डुबेका घामहरुले नेपालगन्जलाई थोरै चलायमान बनाइसकेका थिए । स्थान थियो बिपि चोक नजिकैको गुड्डुको चिया पसल । पसलमा भरिभराउ थिए नेपालगन्जका युवापुस्ता । मैले कुरेको ब्यक्ति आउने छाटकाट देखिएन । फेरि फोन लगाए । केही मिनेट मै पुग्ने जानकारी आयो ।


एउटै नगरका हामी । चिनजान नभएको होइन । तर कयौं कुराको जानकारी लिन भने बाँकी नै थियो । बर्ष ३१ का कोमल बिष्ट पेशाले बैंकर हुन् । जसलाई म कुर्दै थिए । निमेषभरमै सेतो चेक सर्टमा झुल्किएका बिष्ट हसिला थिए । चिया पसलको माहोल ब्यक्ति पिच्छे फरक थियो । हामीले गफिने गफहरुमा कसैको जिज्ञासा थिएन । सम्भवत म नेपालगन्जको कान्छो बैंक मेनेजर संग गफिन तयार थिए । उनी आफ्नो गफहरु दैनिक नेपालगन्जको अक्षरहरुमा कैद गर्न तयार थिए ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको मान्यता प्राप्त मुक्तिनाथ बिकास बैंकको देशभर ११४ शाखा मध्यको नेपालगन्ज शाखाका प्रमुख हुन् ३१ वार्षिय कोमल बिष्ट । सम्भवत नेपालगन्जमै कान्छा बैंक प्रमुख हुन् । बैंङ्किङ्ग क्षेत्रमा उनको सुरुवात २०६६ सालमा भार्गव बिकास बैंकबाट भएको थियो । जतिबेला उनी भार्गभमा इन्टर्नशिपमा छिरेका थिए । भार्गवमा करिब एक दशक लामो समय बिताएका उनले त्यहाँ लोन डिपार्टमेन्ट हुँदै सेन्ट्रल लोन चिफको रुपमा समेत काम गरे ।
भार्गवमा काम गर्दै अध्यनलाई निरन्तरता दिएका बिष्टले ब्यवस्थापन र अर्थशास्त्रमा मास्टर्स डिग्री गरिसकेका छन् । पढाइ र काम लाई संगै लैजादाका अप्ठेराहरु सोध्दा उनी एकै छिन बिगत सम्झिदै मुस्कुराउदै भने, ‘त्यो मेरो बाध्यता थियो, आर्थिक स्थिति खासै राम्रो थिएन त्यसैले दुबै लाई संगै लैजानु पर्ने नै थियो । त्यसैले विकल्प नभएपछि अप्ठ्यारा पनि सप्ठ्यारा बनी दियो ।’
अहिलेका युवापुस्तालाइ लोभ्याउने क्षेत्रको रुपमा परिचित बैंक तथा बित्तीय क्षेत्र युवापुस्ताको लागि कलेज पछिको पहिलो रोजाई भएको छ । लोभलाग्दो सेवा सुबिधा र स्टाटसको निम्ति पनि राम्रो मानिन्छ बैंक तथा बित्तीय क्षेत्र । तर हरेक क्षेत्रका आफ्नै भोगाइ हुन्छन् । देखिने र भोगिने कुरा अलग हुन् । जुन कुरालाई बिष्टले राम्रो संग भोगेका छन् ।


गफगाफको सेरोफेरो चल्दै गर्दा उनको मोबाइल बारम्बार बजि नै रह्यो । सजिलो पक्कै हुँदैन एउटा बैंकको शाखालाई उचाईमा पुर्याउन । एउटा बैंक जस्तो संवेदनशिल र आर्थिक कारोबार गर्ने संस्थालाई ब्यवस्थापन गर्न त्यसैले उनी शनिबार समेत छुट्टी लिदैनन् । कहिले कलेज त कहिले स्कुल पुग्छन् बित्तीय साक्षरता कार्यक्रम गर्न । कहिले गाउँ त कहिले सहरको गल्लीहरुमा घरदैलो गर्छन्, जनतालाई आफ्नो बैंङ्किङ्ग सिस्टममा जोड्न । कारण, बैंक तथा बित्तीय क्षेत्रमा जति ठुलो आकर्षण छ त्यति नै ठूलो प्रतिस्पर्धा पनि । त्यसैले उनको कार्यालय छुट्टी भएपनि काम देखि भने छुट्टि पाएका थिएनन् । जुन कुरा चिया गफमा समेत प्रष्टै महसुस हुन्थ्यो ।
२०६० सालमा मंगल प्रसाद माबी बाट एसएलसी दिएका कोमल बिष्टको स्कुले जीवनको अनुभव भने सुखद थिएन । पढाईमा अब्बल थिए तर परिवार भने कमजोर आर्थिक अवस्थामा जुझिरहेको थियो । एसएलसीको तयारीको क्रममा सबै साथीहरु अतिरिक्त कक्षा लिदा उनी संग भने पैसा थिएन ।


मेहनती र आज्ञाकारी कोमललाई मंगल प्रसादका शिक्षक दुर्गा बहादुर थापाले सहयोग गरे । चिया गफमा उनी ती दिन सम्झिदै भन्छन्, ‘ दुर्गा सर मेरो लागि पिता मात्रै नभै ईश्वर समान हुनुहुन्छ, दुर्गा सरकै सहयोगको देन आज म यो स्थानमा छु ।’ त्यस्तै इमान्दारीताको पाठ सिकाउने मुक्तिनाथ बैंकका जिएम ओम प्रकाश नेपाली र बैंङ्किङ्ग कारोबारको ज्ञान सिकाउने भार्गभ बिकास बैंकका सिइओ पुष्कर जोशीलाई आफ्नो बैंङ्किङ्ग व्यवसायको गुरु मान्छन् ।
उसो त उनको इच्छा आर्मी हुने थियो, रुचि भने खेलकुदमा । सितोरियी करातेका ब्याक बेल्ट कोमलले दुई तीन पटक आर्मीमा कोसिस गरे पनि सफल हुन सकेनन् । बिष्टले प्लसटु पछि पुनः नेपाल प्रहरीको असइमा भर्ना हुन करिब आठ महिना काठमाडौं बसेर कोसिस गरे र संगै प्रेसमा मार्केटिङ पनि । त्यहा पनि पार नलागे पछि उनी नेपालगन्ज नै फर्केर भार्गव बिकास बैंकमा छिरे अनि सुरु भयो कोमलको बैंङ्किङ्ग यात्रा ।


हसिलो मुहार अनि मिलनसार स्वभावका उनी सहयोगी छन् । उनले कार्यालयलाई परिवारको रुपले बिकास गर्नुपर्छ भन्ने मान्यता राख्छन् । जसको प्रतिफल कारोबारमा देखीने गरेको उनको जिकिर छ । नेपालगन्जमा खुलेका र खुल्ने क्रममा रहेका बैंक तथा बित्तीय संस्थाको प्रमुख चुनौती समग्र नेपालगन्जबासीलाई बैंकको पहुँचमा ल्याउनु र बैंक मार्फत कारोबार गर्ने बानिको बिकास गर्नु रहेको बताउँछन् ।


चिया गफकै क्रममा उनले भने, ‘अझै पनि नेपालगन्ज आसपासका गाउँमा बैंक खाता नखोलेका ब्यक्तिहरुको संख्या अधिक रहेको छ । उनीहरुको बैंक खात खोलेर उनिहरुलाई बैंक मार्फत कारोबार गर्ने बानिको बिकास गराउनु पर्ने छ । जसको लागि हामी घरदैलो अभियानमा पनि हिड्ने गरेका छौ भने बिद्यार्थीका लागि बित्तीय साक्षरता कार्यक्रम विभिन्न विद्यालय तथा कलेजमा गर्ने गरेका छौँ ।’


युवापुस्ताको रोजाइमा परेको बैंक तथा बित्तिय क्षेत्रमा रोजगारीको सम्भावना अधिक रहेको छ । बैंकले आफ्नो शाखा बिस्तार गरेर जनतालाई छिटोछरितो सेवा सुबिधा दिनुपर्ने आवश्यकता महसुस गरिरहेका छन् । त्यसैले यस क्षेत्रमा युवापुस्ताको लागि प्रशस्त सम्भावना रहेको बिष्ट बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया