‘सौता’लाई पनि क्यान्सर नहोस्

एउटी महिलाका लागि सबैभन्दा ठुलो शत्रु भनेको के हो ? राष्ट्रसेवक भइकनपनि अधिकारकर्मीको सफल छवि बनाउन खोजिरहँदा एक्कासी थलिएकी विन्दु कुँवरले भनिन्, ‘सौता ।’ आँशु नझार्न कोशिश गरिरहेकी विन्दु रोष्टममा पुगेर पनि छेउ लाग्दै भनिन्, ‘सौतालाई पनि क्यान्सर नहोस् ।’


विन्दु भर्खरैमात्र अधिकृतमा बढुवा भएकी छन् । ‘नेपालगन्जमै आएर अधिकृतको जिम्मेवारी सम्हालनै रहर छ,’ जटिल रोग क्यान्सरले थलिएकी उनले निकै पीडादायी कीमोथेरापीका २७ वटा चरण पार गरेर पाँचौ रेडियसनमा जानु अघि नेपालगन्जवासीसँग भेट्न आएको जनाउँ दिंदा भक्कानिइन् । देख्दा स्वस्थ लाग्ने शरिर कीपो र रेडियसनले गलाइसकेको बताइन् । र, भनिन्, ‘जीवनमा पैसा कमाउन त सकिएन मलामी चाहिं कमाएँछु भन्ने लाग्यो यहाँहरुका यो सहयोग देखेर ।’


महिला तथा बालबालिका कार्यालय बाँकेमा लामो समय कार्यरत कुवँर हाल महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा कार्यरत छिन् । उनले कार्यक्रममा रोगका बिरुद्ध गरेको संघर्ष सुनाउँदा सहभागी ६० बढी जिल्लाका अगुवा भावविव्हल देखिन्थे । कति त मञ्चमै पुगेर विन्दुसँग अंगालो जालेर भक्किानिए पनि ।


पहिले पाठेघर हुँदै बोन क्यान्सरबाट गस्त विन्दुलाई उपचार सहयोगार्थ ५ लाख ५४ हजार ४ सय ३६ रकम सहयोग हस्तान्तरण गर्न भएको जमघटमा थलिएपछि पहिलो पटक पीडामा बोलेकी उनले भनिन्, ‘सास रहुन्जेल बाँच्ने आश हुँदो रहेछ, पैसा पनि पैसा पनि चाहिंदो रहेछ ।’ रचना श्रेष्ठ नेतृत्वको बिन्दु कुँवर उपचार सहयोगार्थ समितिले संकलन गरेको रकम ग्रहण गर्दै उनले आफुलाई बाँचोस् भनेर सहयोग गर्नेहरु प्रति श्रद्धापूर्वक निहुरिएर सम्मानसहित आभार व्यक्त गरिन् ।


नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणा, बिन्दु कुँवर उपचार सहयोगार्थ समितिका सहसंयोजक नमस्कार शाह, समितिका सल्लाहकार झलक गैरे, वरिष्ठ पत्रकार पूर्णलाल चुके, शुक्रऋषि चौलागाईं, प्राध्यापक डाक्टर जनार्दन आचार्य, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, धम्बोझी माबिकी पूर्व प्राचार्य किरण आचार्य लगायतले संयुक्त रुपमा विन्दुलाई सहयोग रकमको चेक हस्तान्तरण गरे । नेपालगन्जका नगर प्रमुख डा. राणाले हरेक महिना जस्तै आफनो तलब भत्ता बराबरको ५० हजार रकमको चेक पनि विन्दुलाईनै हस्तान्तरण गर्दै भने, ‘जनताको पैसा तपाईजस्तै अति आवश्यकतामा दिने गरेको छु ।’ डा. राणाले त्यसो भनिरहँदा आफ्नी आमानै क्यान्सरबाट गुमाएको सम्झना गरे । डा. राणासँगै पत्रकार बाल जोशीले विन्दुलाई यत्तिकै ठुलो रकम सहयोग गरेका छन् । हाल अमेरिकामा रहेका पत्रकार जोशीले समितिमार्फतनै ५० हजार सहयोग पठाएका हुन् ।


‘आर्थिक सहयोग मात्रै भन्दा पनि यो सु¥स्वास्थ्यको सामुहिक प्रार्थना हो,’ बिन्दु कुँवर उपचार सहयोगार्थ समितिका सहसंयोजक नमस्कार शाहले सामाजिक सञ्जालमार्फत गरिएको अपीलबाटै सहयोग रकम जुटेको जानकारी दिंदै भने । ‘उहाँजस्तो राष्ट्रसेवक बाँच्नुपर्छ, त्यसका लागि सबैले साथ दिऊँ,’ सहयोगको अझै खाँचो औल्याउँदै बालअधिकारकर्मी साहिल अन्सारीले भने । ‘यो सहयोग अन्तिम होइन,’ पुर्ण रुपमा स्वस्थ नहुँन्जेल रकमको आवश्यक परिरहने भन्दै समितिका सहसंयोजक शाहले भने, ‘निरन्तर सहयोगको खाँचो छ ।’

प्रतिक्रिया

प्रतिक्रिया