अदालतका एक कर्मचारीलाई अख्तियारले रंगेहात घुस सहित पक्राउ गरेको जानकारी दिएको छ । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा कार्यरत टाइपिष्ट नायब सुब्बा कुमार पाठकलाई शनिबार अख्तियारले घुस सहित समातेको हो । पाठकले अदालतमा विचारधीन मुद्दामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेको हो छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले घुसको सूचना पाएपछि अख्तियारको टोली परिचालन गरिएको जानकारी दिएका छन् । अख्तियारले दिएको जानकारी अनुसार नायब सुब्बा पाठकले ३ लाख रुपैयाँ घुस माग गरेका थिए ।
‘घुस लेनदेन गरेको अवस्थामा चारबाहिनीचोक नेपालगन्ज स्थित श्री लयर्स च्याम्बरबाट पाठकलाई नियन्त्रणमा लिइएको हो’, अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले पछिल्ला दिन बाँकेका सरकारी कार्यालयमा निगरानी बढाएको छ । त्यसक्रममा केही कर्मचारीहरु फन्दामा परेका छन् ।