न्यूरोड सौन्र्दयीकरणमा बाधा किन ?

नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जको आकर्षणका रुपमा विकास गर्न लागेको न्यूरोड सडकखण्डको योजना हठात् रोकिएको छ । यसै आर्थिक बर्षमा आधुनिक रुपले सुन्दर सडकका रुपमा विकास गर्न लागिएको न्यूरोडको सेतु विक चोकदेखि त्रिवेणीमोड खण्ड काम सुरु गर्नासाथ रोकिएको हो ।


स्थानीयबासीलाई सामान्य जानकारी पनि नदिई मंगलबार राती एक्कासी न्यूरोडमा डोजर चलेपछि समस्या सिर्जना भएको हो । ‘एक्कासी सडक बीचको ग्रीनरी खन्न लागेपछि थाहा पाइयो’, स्थानीयबासी ज्ञानेन्द्र श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘पछि बुझ्दा ठेकेदारले निर्माणको ठेक्का लिएर पनि काम सुरु गर्न थालेको रहेछ ।’ श्रेष्ठसँगै भेला भएका स्थानीयबासीहरुले डोजरको काम रोकेपछि बुधबार त्यसबारे व्यापक छलफल गरिएको छ ।


‘काम रोकिएपछि मेयर साबले आफ्ना योजना सार्वजनिक गर्नुभयो’, स्थानीय अगुवा कृष्ण प्रसाद श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘त्यसलगत्तै विभिन्न चरणका छलफल पनि नगरपालिकालाई सामूहिक सुझाव दिने निर्णय गरिएको छ ।’


श्रेष्ठको अगुवाईमा न्यूरोड सेतु विक चोकदेखि त्रिवेणीमोडसम्मका दुवै तर्फबाट घरधनी, स्थानीयबासीहरुको बुधबार नै भेला गरिएको छ । ‘भेलाले सेतु विक चोकको उत्तर तर्फको जस्तै तर आधुनिक ग्रीन वेल्टका रुपमा विकास गर्न उपमहानगरपालिकाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ’, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका स्थानीयबासी श्रेष्ठले भने ।


नगर प्रमुख डा. धवल समशेर राणाले १८ लाख बजेटमा ठेक्का दिइसकिएको न्यूरोड सौन्र्दयीकरण योजनामा बाधा आउने कुरा आफुले नसोचेको बताए । ‘ठेकेदारले जिम्मा पाउनासाथ फिल्डमा गएर काम सुरु गरेछ’, नगर प्रमुख डा. राणाले भने, ‘एक दुई दिनमा सबै कुरा मिल्छ र यसै आर्थिक बर्षभित्र न्यूरोड एउटा आकर्षक बजार क्षेत्र बन्छ ।’ डा. राणाका अनुसार, भएको ग्रीनरी पूर्णत सुरक्षित राख्दै मोटरसाइकल पार्किङ्ग क्षेत्रको विकास गर्न खोजिएको छ ।


स्थानीयबासीले भने ग्रीन वेल्टमा कुनै किसिमका कंक्रिट संरचना नबनाई पूर्ण हरियालीको प्रस्ताव गरेका छन् । ‘पार्किङ्गको विकल्प खोजिनु पर्छ’, भेलापछि स्थानीय अगुवा श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘मेयर सापको योजना उत्कृष्ट छ तर नेपालगन्जको सापेक्षतामा कार्यान्वयन सम्भव छैन ।’


स्थानीयबासीले अधिकार सम्पन्न टोल विकास संस्था वा उपभोक्ता समिति निर्माण गरी साझेदारीमै उपमहानगरपालिकासँग टोलको सौन्र्दयीकरणका लागि हातेमालो गर्न तयार रहेको बताएका छन् । ‘हामी धेरै पटक ६०÷४० को अवधारणामा सहकार्य गर्न नगरपालिका धायौं’, श्रेष्ठले स्थानीयबासीको भावनालाई नबुझेको गुनासो गर्दै भने । नगर प्रमुख डा. राणाले भने आफु कहाँ त्यस्तो कुनै प्रस्ताव नआएको दाबी गर्दै भने, ‘हामीले खोजेको छैन सहभागिता र साझेदारी हो ।’

प्रतिक्रिया

प्रतिक्रिया