गत बर्षजस्तै यसबर्ष पनि नेपालगन्जबासीले गर्मीमा विद्युत अनियमितता झेल्नु पर्ने देखिएको छ । पछिल्ला केहीदिनदेखि बढ्दो गर्मीका बीच नेपालगन्जमा विद्युत अनियमितता भैरहेको छ ।
४० डिग्री कटेको नेपालगन्जमा पटकपटक बत्ती जाने गरेको छ । यसले व्यवसायिक क्षेत्रमा नकारात्मक प्रभाव परेको छ त नै रातीको समयमा समय जाँदा आरामले निदाउन समेत सक्ने अवस्था छैन ।
विद्युत प्राधिकरणले यसअघि विभिन्न कारण देखाएर विद्युत अनियमित हुने पूर्व सूचना दिएको थियो । तर, पछिल्ला दिन विद्युत अनियमितताको कारण भने प्राधिकरणले खोलेको छैन ।
अनियमित विद्युत कटौतीले नेपालगन्जका कलकारखाना, नगरबासी देखि अस्पताल सम्म समस्यामा छन् । शल्यक्रिया, ल्याव परिक्षण लगायतका तत्कालै गर्नुपर्ने उपचारमा विद्युत अनियमित हुँदा समस्या हुने गरेको छ । लोडसेटिङ्गको विकल्पमा जेनेरेटर र इन्टभर जडान गरिएपनि लामो समय विद्युत अवरुद्ध हुँद ती उपकरणले धान्न सक्ने अवस्था हुँदैन भने अर्को तिर लागत समेत बढ्न जान्छ ।
स्थानीय होटल व्यवसायी पनि अनियमित विद्युतका कारण समस्या छन् । होटल व्यवसायी जेनेरेटर पटकपटक चलाउनु पर्दा त्यसले सञ्चालन लागत बढ्ने गरेको बताउँछन् ।
‘विद्युत कति बजे कति समयका लागि जाने हो भन्ने पूर्व सूचना हुँदैन’, फुल्टेक्राका गीत भुषाल भन्छिन्, ‘राम्रो सँग निदाउन सक्ने अवस्था छैन ।’ उनी यस्तो गर्मीमा विद्युत अवरुद्ध नहोस् भन्नेमा सरोकारवाला उदासिन रहेको धारणा राख्निछन् । उनी पटकपटक विद्युत जाँदा जागेरै रात काट्नु पर्ने अवस्था आएको बताउँछिन् ।
नेपालगन्जमा माग अनुसारको विद्युत आपूर्ति भैरहेको बताउँछन् नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख राम दुलार यादव । ‘नेपालगन्जको हालको माग थेग्ने विद्युत हामीले पाइरहेका छौं’, यादव भन्छन्, ‘तर गर्मीमा देखा पर्ने प्राविधिक समस्याका कारण कहिलेकाही विद्युत अनियमित हुनेगर्छ ।’
वितरण केन्द्र प्रमुख यादव चर्को गर्मी रहेको नेपालगन्जमा विद्युतका कारण समस्या भोग्नु नपरोस् भन्नेमा आफुहरुको ध्यान केन्द्रित रहेको बताउँछन् । ‘विद्युत सप्लाई दुरुस्त राख्नका लागि यसबर्ष विभिन्न ठाउँमा मर्मत सम्भारका काम भैसकेका छन्’, उनी भन्छन्, ‘तर, नेपाल र भातरबाट विद्युत आपूर्ति हुने नेपालगन्जमा प्राविधिक समस्या आए अनियमति हुन्छ ।’
वितरण केन्द्र प्रमुख यादव पूर्व योजनामा हुने मर्मत, सम्भारका काम गर्दा विद्युत अनियमितताको सूचना दिने गरेपनि आकस्मिक हुने प्राविधिक समस्याका जानकारी तत्काल उपभोक्तामाझ पुर्याउन नसकिएको बताउँछन् । ‘नेपाल र भातरमा कतै समस्या आएमा नेपालगन्जको आपूर्तिमा समस्या हुन्छ, जसको तत्कालै जानकारी उपभोक्तासम्म पुर्याउन सकिंदैन’, यादवले भने ।
हाल नेपालगन्जमा हाल २१/२२ एमभिए विद्युतको माग रहेको वितरण केन्द्र प्रमुख झा बताउँछन् । उनी दुवै ठाउँबाट पूर्व निर्धारित मात्रामा विद्युत उपलब्ध भैरहेको बताउँछन् । भारतबाट नेपालगन्जमा ११/१२ एमभीए विद्युत आपूर्ति भैरहेको छ ।
‘गर्मी मौसममा लोड धान्न नसक्ने, तार जल्ने, ट्रान्सफर्मर जल्ने जस्तो समस्या हुन्छन्’, यादव भन्छन्, ‘नेपालगन्जमा हुने विद्युतीय समस्या हामी आधा घण्टामा नै समाधान गर्छौ तर नेपालगन्जमा आपूर्ति हुने ठाउँमा समस्या भए समय लाग्ने गरेको छ ।’ उनी बुधबार नेपालको पूर्वी क्षेत्रमा आएको हावाहुरीका कारण नेपालगन्जको विद्युत आपूर्तिमा समस्या देखिएको बताउँछन् ।