समस्या ग्रस्त नहर सरकारले बनाउने
कृष्ण अधिकारी
बाँके जिल्लामा निर्माणाधिन राष्ट्रिय गौरबको सिक्टा सिचाई आयोजनाको पटक पटक भत्किने मुल नहर खण्डको मर्मतसम्भार आयोजनाले नै गर्ने भएको छ । निर्माण सम्पन्न नहुदै मुल नहर पटक पटक भत्किएर क्षतिग्रस्त भए पछि क्षतिग्रस्त नहरको मर्मत संहार तथा सुधार आयोजना वा निर्माण कम्पनी कस्ले गर्ने भन्ने अन्यौल देखिएको थियो ।
मन्त्रिपरिषदको बैशाख १० गतेको बैठकले आयोजनाको क्षतिग्रस्त खन्डको मर्मत तथा सुधार गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय पछि ९ महिना देखि अलपत्र अबस्थामा रहेको क्षतिग्रस्त नहरको मर्मत तथा सुधारको काम सुरु हुने आयोजनाका प्रमुख कृष्ण नेपालले बताए ।
गत बैशाख ३ गते भेरी बबई डाइभर्सन आयोजनाको ब्रेक थु्र गर्नका लागि सुर्खेत आएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, सिचाई मन्त्री बर्षमान पुन लगायत नेपाल सरकारका उच्च अधिकृतहरुले सिक्टा सिचाई आयोजनाको क्षतिग्रस्त नहर खण्डको हबाई निरिक्षण गरेका थिए ।
प्रधानमन्त्री ओलीले नै सिक्टा सिचाई आयोजनाको क्षतिग्रस्त नहर खन्डको हबाई अनुगमन गरे सिचाइ मन्त्रालयले पेश गरेको प्रस्ताव अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।
क्षतिग्रस्त मुल नहर खन्डको मर्मत संहार गर्ने सम्बन्धमा देखिएको अन्यौल हटाउनका लागि आबश्यक निर्णय गरी उपयुक्त निकास निकाल्नका आयोजनाले ६ महिनादेखि निरन्तर प्रयास गर्दै आएको थियो ।
सिक्टामा देखिएका समस्या
१) निर्माण सम्पन्न नहुदै मुल नहर पटक पटक भत्किने, धुलनशिल माटोका कारण भत्किएको निष्कर्ष निस्के पनि त्यसको समाधानका लागि के गर्ने भन्ने अन्यौल कायमै हुनु ।
२) सिक्टा आयोजना अन्र्तगतको साढे २३ किलोमिटर लामो डडुवा नहरको निर्माणमा लापरबाही गरेको जनाउदै आयोजनाले ठेक्का तोडेर कालो सुचिमा राख्न गरेको निर्माण बिरुद्ध कोस्टाल पप्पु कन्स्ट्रक्सनले उच्च अदालत र मध्यस्थता परिषदमा दायर भएको मुद्दा लम्बिदै जानु ।
३) आयोजनामा कार्यरत कर्मचारी र निर्माण ब्यबसायी माथि अख्तियारबाट मुद्दा दायर पछि आयोजनाका कर्मचारीको मनोबल खस्किदा काम गर्ने वातावरण नहुनु ।
४ ) ५० क्युमेक्स ( ५० हजार लिटर प्रति सेकेन्ड ) क्षमताको नहर ४ क्युमेक्स पानी छोड्दा २०७५ साउन ७ गते राती मुल नहर ढकेरीको चंगाई खोला नजिकै र २०७३ असार १४ मा पनि ढकेरी क्षेत्र मै मुल नहर भत्किए पछि सिक्टा नहरको भबिष्यका बारेमा आशंकाहरु बढ्दै जानु ।
बाँके जिल्लाको करीब ३४ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याउने उद्देश्यले १३ वर्ष अघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा हाल सम्म करिब १५ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।
आयोजनाको सुरुवात गर्दा १२ अर्ब ७० करोडको लागतमा २०७० माघमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको समय सकिएको ५ बर्ष बिति सक्दा पनि सम्म ब्यारेज तथा मुल नहर बाहेक शाखा नहरको निर्माणको कामले गति लिन सकेको छैन । निर्माण भएको मुल नहरमा पनि पटक पटक भत्किने समस्या दोहोरिदै गएको छ ।
सुरुवातीमा आयोजनाको लागत अनुमान भन्दा दोब्बर बढी अर्थात २५ अर्ब २ करोड खर्च गरेर आर्थिक वर्ष २०७६ ÷०७७ सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
हाल सम्म करिब ६० प्रतिशत मात्रै काम भएकाले आर्थिक वर्ष २०७६ ÷०७७ सम्ममा अनुमान गरिएको रकम खर्च भए पनि नहर निर्माणको काम सम्पन्न भई किसानको खेतबारीमा सिचाई सुबिधा पुग्ने सम्भावना निकै न्यून छ ।
नहर निर्माणमा देखिएका अन्यौलको अन्त्य गरि सिक्टाको नहरबाट खेतबारीमा सिंचाइ गरी खाद्यान्नको उत्पादन बृद्धि गर्ने बाँकेबासीको बर्षाै देखिको चाहाना छिटो भन्दा छिटो पुरा हुनु पर्ने सिक्टा सिचाई आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले बताए ।
सिक्टा सिचाई आयोजनाको निर्माणमा ढिलाई र अनियमितासंगै निर्माण कम्पनी र आयोजना बिचको मुद्दा मामिलाका कारण सिक्टा सिचाई आयोजनामा पैसाको खोलो बगि रहने तर नहर निर्माण रोकिएर खेतबारी बाझै रहने अबस्था देखिनु बिडम्बनापूर्ण भएको नेपालगन्जका बुद्धिजीवि प्रा.डा. जर्नादन आचार्यले बताए ।
सिचाई मन्त्री बर्षमान पुन सिक्टा सिचाईको स्थगत अनुगमनमा २०७५ फागुन १४ गते आयोजना स्थलमा पुगेका थिए । मन्त्री पुनले स्थानीय बासिन्दाहरुसंगको अन्तरक्रया कार्यक्रममा भत्किएको संरचना मर्मत संहार गरेर थप क्षति हुन नदिने बनेका संरचनाबाट सम्भब भएको क्षेत्रका किसानको खेतबारीमा सिचाई सुबिधा उपलब्ध गराउनका लागि आवश्यक निर्णयका मन्त्रिपरिषदबाटै गराउने बताएका थिए ।
निरन्तरको प्रयास पछि भत्किएको संरचना मर्मत संहार गरेर थप क्षति हुन नदिने बनेका संरचनाबाट सम्भब भएको क्षेत्रका सिचाई सुबिधा पुराउने बाटो खुलेको बाके क्षेत्र नं १ का सभासद महेश्वर गहतराज अथकले बताए । पटक पटक भत्किने, धुलनशिल माटोका कारण भत्किएको निष्कर्ष निस्केकाले त्यसको समाधानका लागि बिज्ञहरुको परामर्शका आधारमा प्रकृया अगाडि बढाइने सभासद गहतराजले बताए ।
सिक्टा बनेपछि पहिलो चरणमा बाँकेको करिब ३४ र दोस्रो चरणमा ९ हजार गरेर करिब ४३ हजार हेक्टर क्षेत्रमा वर्ष भरी नै भरपर्दाे सिंचाई सुबिधा पुग्ने छ । साथै उत्पादन र उत्पादकत्वमा करीब २ गुणा वृद्धि भइ एकैसाथ ४६ हजार ७ सय १५ घरपरिबारका करिब ४ लाख ५० हजार सदस्य प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।
सिंचाइ उपलब्धता भएमा सुक्खा र खडेरीको अन्त्य भइ उत्पादन र उत्पादकत्व वृद्धि भई किसानको आर्थिक समृद्धिको ढोका खुल्ने अपेक्षा गरिएको थियो ।
निर्माण कार्य सुरु भएको १३ बर्षमा १४ अर्ब ७० करोड खर्च भइ सकेको छ । हाल सम्म आयोजनाले करिब ४२ किलोमिटर मुल नहर निर्माण गरि सके पनि शाखा नहर निर्माण नहुदा बाकेका किसानहरुलाई सिचाई सुबिधा पाउन सकेका छैनन । ५० क्युमेक्स क्षमताको नहर ४ क्युमेक्स पानी छोड्दा नै भत्किए पछि नहर निर्माणको गुणस्तर माथि नै प्रश्न उठेको छ । मूल नहरको १८ किलोमिटरदेखि ३५ किलोमिटर खण्डको बिभिन्न स्थानमा नहर चर्किनुका साथै ठाउँठाउँमा भत्किएको छ ।
मुल नहरको करिब १७ किलोमिटर क्षेत्रमा घुलनशील माटो (डिसपर्सिभ सोयल) अर्थात माटोमा बालुवा र नुनको मात्रा धेरै भएको भत्किएको हो । पटक पटक भत्किने क्षेत्रको मुल नहरको निर्माण ‘आइसिपी–टू’ ठेक्काअन्तर्गत कालिका कन्स्ट्रक्सनले गरेको हो पटक पटक नहर भत्किएका कारण निर्माण कार्य लम्बिदै जादा बाकेका किसानहरुले सिक्टाबाट कहिले सिचाई सुबिधा पाउने हुन भन्ने अन्यौल बढ्दै गएको छ ।