पशुपालनमा करोडौं लगानी

देशकै ठुलो फार्म बनाउन अग्रसर भएका कंडेलले डाले घाँसका एक लाग रुख तयार गर्न लागेका छन्

खगेन्द्र दाहाल

सुर्खेतरोडमा सबैभन्दा ठुलो व्यवसायिक कप्लेक्स, ५० लाखको गाडी, विलासी आवास एक्कासी तासको घरझैं गल्र्यामगुर्लुम ढल्यो । तर, ढलेन उनको हिम्मत । ‘५ उठेदेखि म काममैं व्यस्त हुन्छु,’ किसान मान्छे कहाँ अहिल्यै सुत्ने ?,’ सोमवार राती साढे १० बजे दैनिक नेपालगन्जसँग गफिंदै ५८ वर्षीय उद्यमी तुलबहादुर कंडेलले भने, अब खाना खान बेला भयो ।’


५ वर्ष अघिको तुलबहादुर कंडेलको परिचय पुरै फेरियो । जल्दाबल्दा होटल तथा रेष्टुरेन्ट व्यवसायी उनी अहिले अगुवा कृषक बनेका छन्, नेपालगन्ज छाडेर बाँकेकै खजुरामा । धैर्यता नगुमाएर मानिसले हरेस खाएन भने भविष्य उसले चाहेकै बाटोमा अगाडी बढ्छ भन्ने दृष्टान्त हुन्, तुल बहादुर कंडेल । एउटा जिउँदो उदाहरण जस्ले आफुलाई सपनाबाट ब्युँझिएझैं नयाँ बाटोमा मज्जाले डो¥याउन सफल भए ।


बाँकेमा कृषि पेशालाई व्यवसायिक रुपमा अंगाल्ने र ठुलो लगानी गर्ने किसानको संख्या दिनप्रतिदिन बढ्दो छ । कोही विदेशबाट फर्केर त कोही जागिर छाडेर भएपनि व्यवसायिक रुपले कृषि क्षेत्रमा संलग्न भइरहेका छन् । बाँके खजुराका तुल बहादुर कंडेल नेपालगन्जमा चल्तीको रेष्टुरेन्ट व्यवसाय छाडेर ढाई करोड रुपैयाको लगानीका साथ पशुपालन गरिरहेका छन् । उनले कहिंबाट अनुदान पाएर बढाएको लगानी नभएर कंडेलको एकल हो ।


नेपालगन्जको हाम्रो मःम, हिलपार्क रेष्टुरेण्ट सन्चालक गरिसकेका कंडेल हिजो आज खजुरा गाँउपालिका वडा नम्बर ३ सिर्जनाटोलमा रहेको हिलपार्क कृषि तथा पशुपालन फार्ममा भेटिन्छन । सुखसयलमा हुर्केका तुलबहादुरले दुःखको पेसा रोज्दा कतिपयले उनलाई मुर्ख भने । तर उनले हिम्मत नहारेर कृषिमा लागीपर्ने निधो सहित कृषि कान्तितर्फ उन्मुख छन । कंडेलले पशुपालनमा दुःख हुन्छ भन्ने थाह हुँदाहुदै पनि यस व्यवसायमा प्रवेश गरेको बताउँछन् । यसैमा रमाएको, राम्रो स्वास्थ्यका लागी काम गर्नु आवश्यक भएको र यसैवाट आत्मसन्तुष्टि मिलेकाले निरन्तरता दिएको कंडेलले बताए ।


धेरै किसानहरुले दुःख गरेको देखेका कंडेलले आफु पनि अन्य किसान जस्तै मेहेनत गरेर बस्न चाहेको बताउँछन । स्वदेशमै बसेर पसिना बगाएर काम गर्ने हो भने राम्रो कमाई गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल हुँदैछन तुलबहादुर कंडेल । ‘आफ्नो देशमै बसेर रमाउनका लागी पनि प्रयास गरिरहेको छु, उनले भने – म यसमा क्रमिक रुपले सफल भैरहेको छु ।’ हुनपनि हिजोको सुख होस् वा आजको कठिन परिश्रमको अवस्था, उनलाई परिवारले पुरै साथ दिइरहेको छ ।


कृषि पेशामै बाँकी जीवन विताउने योजना सहित बाख्रा, भैसी, लोकल कुखुरा, हाँस, टर्की, लौकाट आदि पालन गरिरहेका कंडेलले ५ हजार बाख्राको माउ पाल्ने योजना सहित लगानीलाई बढाइरहेका छन् । २०७३ साल देखि पशुपालनमा लागेका तुलबहादुर यसैलाई नै निरन्तरता दिइरहेका छन । आफ्नो बिग्रिएको कारोबारबाट माथि उठ्ने र देशको आर्थिक स्थिति सुधार्ने योजना सहित सुरुमा ८/१० वटा बाख्राबाट व्यवसायिक कृषक बनेका तुलबहादुर सँग हाल ४ सय ३४ बढि खसी बाख्रा छन् ।


५ हजार माउ बाख्रा पालन गर्ने गरी अघि बढेको कंडेले बताए । तुलबहादुरले बाख्रा मात्र नभएर लोकल कुखुरा, हाँस, टर्कि, भैसीपालन पनि सँगै गरेका छन् । भैसीको दुधबाट आम्दानी भएजस्तै बाख्राले पनि आम्दानी दिइरहेको छ । गत बर्ष २२ लाख रुपैया बराबरको खसीबाख्रा बिक्री गरेका तुलबहादुरको यो वर्षमा १९÷२० लाख सम्म खसीबाख्रा बिक्री गर्ने लक्ष्य छ ।
‘२० भैसी र ४ गाई पालन गरेको छ,ु यसबाट मासिक डेढ लाख आम्दानी गर्छु’ कंडेलले दैनिक नेपालगन्जसँग भने ‘३० वटा भैसी र १२ वटा गाई पाल्ने लक्ष्य छ । २४ विगाह जमिन लिजमा लिएको छु । त्यसमा मकै, घाँस, डाले घाँस लगाएको छु । एक लाख डाले घाँस लगाउदै छु ।’
कंडेलले ८ जना स्थानीयलाई रोजगारी पनि दिएका छन । २ जनालाई भैंसीको रेखदेखमा लगाएका छन् भने ४ जनालाई बाख्रातर्फ राखेका छन् र २ जनालाई घाँस काट्ने काम दिएको बताउँछन । घरका सम्पुर्ण परिवार पशुपालनमै लागेका छन् । खसीबाख्राको माग बढ्दो भएकाले यसलाई बढाउदै लैजाने उनको योजना छ । पश्चिममै सबैभन्दा ठुलो लगानीमा पशुपालन गरीरहेका कंडेलले देशकै ठुलो पशु पालन फार्म बनाउने लक्ष्य राखेको बताएका छन ।

‘आफुलाई किसानकै रुपमा पहिचान बनाउन चाहेको छु,’ तुलबहादुर कंडेलले भने । ५० लाखको गाडी चटक्कै छुटेपछि २ लाखका स्कुटीबाट काम चलाउँदै आएका कंडेल भन्छन्, ‘जहाँ छु त्यहीबाट शुरु गर्ने हो, निराश भएर आफुलाई कमजोर किन बनाउने ?’

प्रतिक्रिया

प्रतिक्रिया