बाँकेका स्थानीय तहहरुले तोकिएको समय सीमा नाघिसक्दा पनि योजना छनोटका लागि तदारुखता देखाएका छैनन् । वैशाख १० गतेसम्म योजना छनोटको दोस्रो चरण पार गरिसक्नुपर्नेमा अझै पनि त्यसतर्फ स्थानीय तहले रुचि देखाएको पाइँदैन ।
गतबर्ष संक्रमणकालीन समय भन्दै अधिकांस स्थानीय तहका जनप्रतिनिधि आफैले योजना छनोट गरेका थिए । यसबर्षदेखि नियम संगत योजना छनोट गरिने अपेक्षा राखिएको भएपनि गतबर्षकै प्रक्रिया पुनरावृत्त हुने अवस्था देखिएको छ ।
‘आगामी आ.व.को लागि गरिने योजना तर्जूृमा हालसम्मपनि किन स्थानीय तहले वास्ता गरेको पाइँदैन’, सुशासन विज्ञ मिन बहादुर मल्लले भने, ‘नजानेर हो वा जानी जानी आफ्नो अनुकुलतामा योजना छानिने हुन् भन्नेमा नागरिक चिन्तित छन् ।’
आय व्यायको प्रक्षेपण गर्ने कार्य पौष महिनाको मसान्तभित्र गरिसक्नु पर्नेमा स्थानीय तहहरुले उक्त कम समयसीमा गर्न सकेका छैनन् । संघ र प्रदेशवाट बजेटको सीमा प्राप्त गर्ने कार्य चैत्र मसान्तभित्र गरिसक्नु पर्ने हुन्छ । तर, स्थानीय तहका जनप्रतिनिधि केन्द्रबाट बजेटको सीमा प्राप्त भै नसकेकाले काम अगाडि नबढेको बताउँदै आएका छन् ।
दोस्रो चरणमा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण गर्ने कार्य बैशाख दश गतेभित्र गरिसक्नु पर्छ । तर, उक्त सीमा नाघ्दा पनि त्यसतर्फ स्थानीय तहले गम्भीर रुपमा नलागेको देखिन्छ ।
तेस्रो चरणमा बस्ती तहका योजना छनौट चौथो चरणमा वडा तहको योजना छनौट तथा प्राथमिकीरण पांचौ चरणमा बजेट तथा कार्यक्रम तर्जूमा, छैठौं चरणमा गाउँ वा नगरपालिकावाट बजेट तथा कार्यक्रम स्वीकृति, सातौँ चरणमा गाउँ वा नगर सभावाट बजेट कार्यक्रम स्वीकृतिगरी सम्पूर्ण चरण असार मसान्तभित्र सकिनु पर्ने हुन्छ ।
स्थानीय तहहरुले आगामी आ.व.का लागि योजना बनाउने प्रक्रिया सुरु नगरेकाले गत बर्ष जस्तै हतारमा नियम विपरित नै बजेट ल्याउन सक्ने सम्भावना देखिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले योजना छनोटका लागि ढिलाई भैरहेको स्वीकारेका छन् । ‘चालु आ.व.का योजनाहरु टुङ्ग्याउने कार्यमा लागिरहेकाले आगामी आ.व.को योजनाका प्रक्रिया निर्धारित समयमा हुन नसकेको हो’, प्रवक्ता रिजालले भने, ‘छिट्टै प्रक्रियागत रुपमा योजना छनोटको काम हुनेछ ।’
कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले पनि पुरानै कामहरुमा अल्झिएकाले आगामी बर्षका लागि योजनाका चरणहरुमा काम गर्न नभ्याएको बताएका छन् । ‘केन्द्रबाट बजेट सिलिङ्ग आएको छैन, आन्तरिक आयको निर्धारण गर्ने काम पनि नसकिएकाले ढिलाई भैरहेको छ’, नगर प्रमुख रावतले भने, ‘केही दिनभित्र हामी प्रक्रिया सुरु गर्नेछौं ।’ रावतले ढिलै भएपनि योजना छनोटका सम्पूर्ण प्रक्रियाहरु पालना गरिने प्रतिबद्धता समेत जनाएका छन् ।
जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादव आगामी आ.व.को योजना र बजेटका लागि आन्तरिक तयारीमा रहेको जानकारी दिएका छन् । ‘ढिलो भएको छ, तर हामीसँग समय छ’, अध्यक्ष यादवले भने, ‘योजना छनोट प्रक्रियागत रुपमा नै गर्नेछौं ।’ उनले आगामी आ.व.का लागि हचुवाको भरमा नभई लागत इष्टिमेट गराएर मात्रै योजना छनोट गरिने जानकारी दिए ।
स्थानीय निकाय गाविस, नगरपालिका र जिविस हुँदा १४ चरणको प्रकृयाबाट योजना छनोट गर्दै आएको त धेरैलाई जानकारी नै छ । बस्ती, वडा, गाउँ, इलाका हुँदै जिल्ला भएर केन्द्रमा आइपुग्दा १४ चरण पार हुन्थ्यो । तर, हाल योजना छनोटका चरण छोटो पारिएको छ । तर, पनि गत बर्ष स्थानीय तहले ती चरणहरु संक्रमणकाल भन्दै पार गर्न सकेनन् भने यस बर्षपनि निर्धारित समयमा उक्त प्रक्रियाहरु सुरु नै गरिएका छैनन् । स्थानीय तहले बजेट बनाउनुभन्दा अघि योजना छनोट गर्नुपर्छ । योजना छनौटका लागि ७ चरणका प्रकृया पूरा गर्नुपर्छ ।
दोस्रो चरणको समय सीमा बैशाख १० नाघ्दा पनि दोस्रो चरणमा गर्नुपर्ने स्रोत अनुगमन तथा बजेट सीमा निर्धारणको काम हुन सकेका छैनन् । त्यसपछि बैशाख मसान्तसम्म बस्ती तहका योजना छनोटका काम सुरु गर्नुपर्ने हो । यसअघिकै चरणका कामहरु नभएकाले बाँकेमा तेस्रो चरणको काम सुरु हुने छाँटकाँट अझै पनि देखिएको छैन ।