एउटा दमकलको भरमा नेपालगन्ज, एकबर्षमा ७८ आगलागीका घटना

गर्मी याममा बढी आगलागीका घटना हुने गरेका छन् । एक बर्षको अवधीमा नेपालगन्जमा रहेको एकमात्र वरुण यन्त्र ७८ वटा स्थानमा लागेको आगो निभाउन खटिएको छ । आगलागीका कारण बाँकेमा करोडौं सम्पत्ति प्रत्येक बर्ष स्वाहा हुने गरेको पाइन्छ ।


नेपालगन्ज उपमहानगरपालिका घना बस्ती र व्यवसायिक क्षेत्र हो । यहाँ प्रत्येक बर्ष आगलागीका बढ्दै गएको पाइन्छ । तर, त्यसलाई नियन्त्रण गर्नका लागि दमकल भने नेपालगन्ज उपमहानगरपालिकासँग एउटा मात्र रहेको छ । एकै पटक दुई ठाउँमा आगलागीका घटना हुने वा ठूलो आगलागीका घटना भए छिमेकी स्थानीय तह वा अन्य जिल्ला बाट दमकल बोलाउनुको विकल्प छैन ।


नेपालगन्ज उपमहानगरपालिकाको वारुण यन्त्र शाखाका अनुसार, यसबर्षको सुरुवात देखि नै आगलागीका घटना बढी भएको छ । ‘यस बर्षको बैशाख सुरुदेखि १६ गतेसम्म १६ वटा आगालागीका घटना भएका छन्’, वारुण यन्त्र शाखाका फायर म्यान नरेन्द्र सिंह सरकारले भने । गत बर्ष बैशाखमा जम्मा ६ वटा आगलागीका घटना भएका थिए ।


गत बर्ष जेठमा ७, असारमा ४, साउनमा ४, भदौमा ६, असोजमा ४, कार्तिकमा ५, मंसिरमा ८, पुसमा ४, माघमा २, फागुनमा ३ र चैत्रमा ९ वटा आगलागीका घटना नियन्त्रणका लागि नेपालगन्जमा रहेको वारुण यन्त्र खटिएको थियो ।


एउटै दमकलले ठूलो आगो तत्काल नियन्त्रणमा लिन सक्दैन । अझ कतिपय स्थानमा दमकल पानी भर्न जाँदा नियन्त्रणमा आउन लागेको आगो पुनः दन्किने गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा रहेको दमकल नेपालगन्ज मात्र नभई बाँकेका कुनैपनि ठाउँ र कहिलेकाही अन्य जिल्ला र माग भए सीमावर्ती भारतीय क्षेत्रमा समेत पुग्ने गरेको छ ।


नेपालगन्ज उपमहानगरपालिकाले दमकललाई २४ घण्टा तयारी अवस्थामा राख्ने गरेको छ । दमकल राखिने नगर भवनमा दमकललाई पानी भर्नका लागि पानी ट्यांकीको व्यवस्था छ । तर, आगलागी भएको ठाउँमा पानीको स्रोत नभेटिदा समस्या हुने गरेको बताउँछन् फायर म्यान नरेन्द्र सिंह । ‘यहाँ त पानीका लागि समस्या छैन तत्कालै आएर पानी भर्न सकिन्छ’, उनले भने, ‘तर पानीका स्रोत नभएका ठाउँमा भने समस्या हुन्छ ।’


दुई दशक अघि नेपालगन्ज उपमहानगरपालिकाले सहरमा आगलागीका घटना भएमा पानीको उपलब्धका लागि विभिन्न ठाउँमा फायर हाइटे«न्च राखेको थियो । हाल कतिपय फायर हाइटे«न्च हराइसकेका छन् भने कतिपय सडक बिस्तारका क्रममा उखेलेर फालिएका छन् । सुर्खेत बिस्तारमा क्रममा सडक छेउ रहेका फायर हाइटे«न्च उलेखिए पनि पुनः त्यसलाई राखिएको छैन । जसले गर्दा आगलागीको घटना हुँदा पानीको जोहो गर्न ठूलै समस्या सिर्जना हुने गरेको छ ।


उपमहानगरपालिकाले वारुण यन्त्रका लागि नगर भवन समेत हेरचाहको जिम्मेवारी सम्हाल्ने गरी ८ जना कर्मचारी व्यवस्था गरेको छ । यसअघि वारुण यन्त्रमा १३ जनासम्म कर्मचारी कार्यरत रहेका थिए ।


बढ्दो जनसंख्या, व्यवसायिक प्रतिष्ठान र घरहरुलाई मध्यनगर दमकल थपिनु पर्ने धारणा व्यवसायी र नगरबासीले राख्दै आएका छन् । आगलागीका घटना नियन्त्रणका लागि नेपालगन्ज, कोहलपुर र नरैनापुरमा १/१ वटा दमकल रहेका छन् । त्यसबाहेक ठूला आगलागीका घटनामा नेपालगन्ज विमानस्थल र बर्दिया, सुर्खेत र दाङ्गबाट समेत दमकल बोलाइने गरेको छ ।

थपिंदै दमकल
आगलागीका घटना तत्काल नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिकाले एउटा दमकल थप्ने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले एक महिनाभित्र अर्को दमकल आउने जानकारी दिएका छन् । ‘दमकल खरिदका लागि नौ महिना अघि नै प्रक्रिया अगाडि बढाइएको थियो’, उनले भने, ‘प्रक्रियागत कारणले अझै एक महिना लाग्ने सम्भावना छ ।’
उपमहानगरपालिकाले दमकल कर्मचारीहरुको क्षमता अभिवृद्धिको उद्देश्यले गतबर्ष तालिमको समेत आयोजना गरेको थियो ।

कपास उद्योगमा आगलागी

नेपालगन्ज उपमहानगरपालिकाको पुरैना स्थित एउटा कपास उद्योगमा सोमबार आगलागी भएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका अनुसार, शारदा कपास उद्योगमा आगलागी भएको हो । आगलागीमा ५० लाख क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणका लागि वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख, प्रहरी निरीक्षक नारायण डाँगीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।


बाँकेमा पछिल्ला दिन आगलागीको घटना बढ्दै गएका छन् । केही अघि घरबारीटोलको एक इलेक्ट्रोनिक्स पसल, नेपालगन्ज–१३ को ओम प्लाइउड एण्ड फर्निचर, बाँकेको नरैनापुरमा केही घर र गोठमा आगलागी हुँदा करोडौंको क्षति पुगेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया