नेपालगन्ज छात्राका लागि मात्रै अर्को विद्यालय

बाँकेको नेपालगन्जमा अर्को छात्रा विद्यालय सञ्चालनमा आएको छ । यसअघि सरस्वती मावि एक मात्र छात्रा विद्यालयको रुपमा रहेको थियो । जनसंख्या बढेसँगै बढ्दो छात्रा विद्यार्थी संख्यालाई ध्यानमा राखेर नेपालगन्ज उपमहानगरपालिकाले यसै बर्षदेखि नेपालगन्ज–४ सल्यानीबागमा रहेको आधारभूत विद्यालयलाई छात्रा विद्यालयका रुपमा सञ्चालनमा ल्याएको हो ।


खासगरी मधेसी र मुस्लिम समुदायलाई लक्षित गरी छात्रा विद्यालय सञ्चालनमा ल्याइएको हो । मधेशी तथा मुस्लिम समुदायमा अझै पनि छात्र पढ्ने विद्यालयमा बालिका पठाउन भिभावकहरु अनिच्छुक पाइएकाले उपमहानगरपालिकाले छात्रा विद्यालय सञ्चालनमा ल्याएको हो ।

सल्यानीवागमा २०२२ सालमा स्थापिना गरिएका तत्कालीन वडा नं. ५ को निमाविलाई छात्रा विद्यालयका रुपमा परिणत गरिएको हो । यसअघि विद्यालयमा अध्ययन गर्दै आएका छात्रहरुलाई अन्य विद्यालयमा स्थानान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक बुधेश जायसवालले जानकारी दिए ।

विद्यालय प्रत्येक बर्ष कक्षा थप्दै जाने योजना बनाएको छ । कक्षा १२ सम्म अध्यापनको लक्ष्य राखिएको छात्रा विद्यालयमा हाल बालविकासदेखि कक्षा ८ सम्म पढाई सञ्चालन हुँदै आएको छ । आगामी बर्ष ९ र १० कक्षा त्यसपछि १२ सम्म अध्यापन सुरु गर्ने योजना रहेको प्रअ जायसवालले जानकारी दिएका छन् ।

‘विद्यालयमा अध्ययन गर्ने छात्राको संख्या सय पुगेको छ’, विद्यालयका प्रधानाध्यापक जायसवालले भने, ‘विद्यार्थी थपिने क्रम जारी छ ।’ हाल विद्यार्थी भर्ना अभियान समेत चलिरहेकाले विद्यालयले भर्ना अभियान समेत सञ्चालन गरिरहेको छ । ‘घरघरमा पुगेर छात्राका लागि विद्यालय सञ्चालनमा आएको जानकारी दिंदै बालिका भर्नाका लागि अनुरोध गरिरहेका छौं’, प्रधानाध्यापक जायसवालले भने । उनले छात्रा विद्यालय प्रति आकर्षण बढ्दो रहेको बताएका छन् ।

छात्रा विद्यालय बनाइएपछि उक्त विद्यालयमा भौतिक पूर्वाधारहरु समेत थपिंदैछ । विद्यालयका प्रअ जायसवालले ६ वटा कोठा थप गर्न लागिएको जानकारी दिए । त्यसका लागि उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ । विद्यालयमा हाल ८ जना शिक्षकले अध्यापन गराइरहेका छन् ।

छात्र विद्यालयका लागि उपमहानगरपालिकाले एक शिक्षाविद्लाई पनि परामर्शदार्ताको रुपमा राख्ने निर्णय गरेको छ । उपमहानगरपालिकाको बोर्ड बैठकले धम्बोझी माविकी पूर्व प्रधानाध्यापक किरण आचार्यलाई छात्रा विद्यालयको परामर्शदाताको रुपमा राख्ने निर्णय गरेको हो ।


नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणाले छात्रा कलेजमा अपेक्षित विद्यार्थी आएमा थप पूर्वाधार थप्दै जानकारी जानकारी दिएका छन् । ‘यो बर्ष राम्रो सँग चल्यो भने आगामी बर्ष थप चार तल्ले बिल्डिङ्ग महिला स्कुलका लागि बनाउने छौं’, नगर प्रमुख डा. राणाले विद्यालयमै आयोजित भर्ना अभियान सम्बन्धित कार्यक्रममा भनेका थिए ।

छात्रा कलेज बनाइँदै

नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज–११ मंगलप्रसाद माविमा छात्रा कलेज निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ । उपमहानगरपालिकाले छात्रा कलेजका लागि ४० कोठे भवनका लागि टेण्डर समेत आव्हान गरेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले जानकारी दिएका छन् । ‘९ करोड लागतमा भवन बनाउन टेण्डर आव्हान गरेका छौं’, नगर प्रमुख डा. राणाले भने ।

उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि छात्रा कलेज सञ्चालनको योजना बनाएको नगर प्रमुख डा. राणाले विद्यार्थी भर्ना अभियान उद्घाटनका क्रममा भनेका थिए । मधेशी र मुस्लिम बालिकालाई हाई स्कुलपछि पर्ने अप्ठ्यारो सम्बोधन गर्न छात्रा कलेज बनाउन लागिएको नगर प्रमुख डा. राणाले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया