सुनचाँदी व्यवसायीको गुनासो, ‘सिण्डिकेट खारेज गर’

सरकारको बेवास्ता र लापरवाहीका कारण पर्याप्त कच्चा पदार्थ नपाएर हजारौं सुनचाँदी व्यवसायीको व्यवसाय संकटमा परेको सुनचाँदी व्यवसायीहरुले जनाएका छन् । सुुन वितरणमा सरकारले लगाएको कोटा प्रणाली खारेज गरेर व्यवसायीहरुको सदस्यताका आधारमा पान नम्बर हेरेर सुन वितरण गरिनु पर्ने माग उनिहरुले गरेका छन् ।


बाँके सुन चाँदी तथा गहना व्यवसायी संघको कोहलपुरमा आइतवार आयोजना गरिएको पाँचौ साधारणसभाको उदघाटन समारोमा बोल्ने अधिकांश व्यवसायी अगुवाहरुले तत्काल व्यवसायीको समस्या समाधान नगरिए आन्दोलन चर्काउने चेतावनी पनि दिएका छन् ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहन कुमार सुनारले बार्षिक ५० अर्ब भन्दा बढी कारोबार गरेर १३ अर्ब भन्दा बढी राजस्व तिर्दे आएका देशका हजारौं सुनचाँदी व्यवसायीका समस्याप्रति सरकार गम्भीर नरहेको आरोप लगाए ।


उनले सरकारले नै व्यवसायीलाई अवैध तरिकाले सुन खरिद गर्न बाध्य पारेको पनि बताए । देशभरी कम्तीमा पनि दैनिक ५० किलो सुनको माग र खपत रहेकोमा सरकारले राष्ट्रबैंक मार्फत २० किलो मात्र सुन उपलब्ध गराइरहेकोले व्यवसाय नै धरापमा परेको अध्यक्ष सुनारले बताए ।
यसैगरी सो अवसरमा बोल्ने अधिकांश व्यवसायीले सरकारले अनुगमन र परिक्ष्णका नाममा व्यवसायीहरुलाई आनाहकमा दुख दिने गरेको तथा प्रहरी प्रशासनको व्यवसायीलाई हेर्ने दृष्टिकोण चोरलाई हेर्ने जस्तो रहेको पनि गुनासो गरेका छन् ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष अर्जुन रसाइलीले सरकारले सुन व्यवसायलाई समाप्त पार्ने तरिकाले काम गरिरहेको आरोप लगाउँदै तत्काल समस्या समाधानमा पहल गुर्नपर्ने माग गरे । सोही अवसरमा बोल्दै प्रदेश नम्बर ५ का सहकारी तथा कृषि मन्त्री आरती पौडेलले सुन व्यवसायीहरुका समस्याहरुप्रति सरकार गम्भीर रहेकोले छिटै समस्या समाधान हुने विश्वास व्यक्त गरिन् ।


व्यवसायीले माग बमोजिमको सुन नपाएको गुनासो लामो समयदेखि गर्दै आएको जनाउँदै उनले सुन वितरणमा सहजता ल्याइने तथा सबैलाई आवश्यक पर्ने सुन उपलब्ध गराइने व्यवस्था मिलाउन सरकारले गृहकार्य गरिरहेको बताइन् ।


मन्त्री पौडेलले अनुगमन र परिक्षणका नाममा व्यवसायीलाई दुख दिने गरिएको गुनासो प्रति पनि सरकारको ध्यान आकृष्ट भएको जनाइन् । उपभोक्तालाई ठगी गर्ने गरेको, सुन चाँदीमा मिसावट गर्ने गरेको र मनपरी मूल्य असुल्ने गरेको भनि व्यवसायीहरुमाथि लाग्ने गरेको आरोपप्रति पनि उनले व्यवसायीको ध्यान आकृष्ट गरिन् ।


सो अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष प्रेम सुनार, केन्द्रीय सचिव सुदिप श्रेष्ठ, केन्द्रीय सदस्य दुर्गा गहतराज, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश ५ का सदस्य नरेन्द्रराज शर्मा, कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र अधिकारी, सुनचाँदी व्यवसायी संघ दाङका अध्यक्ष मदन केसी, संघका बाँके अध्यक्ष बुद्धि बहादुर विक र बाँके रत्न तथा आभूषण संघका अध्यक्ष रमा शंकर गुप्ता र नेकपा प्रदेश नम्बर ५ का सदस्य पुजन विश्वकर्मा लगायतले सुन चाँदी व्यवसायीका समस्या तत्काल समाधान गर्नु पर्नेमा जोड दिएका थिए ।
साधारणसभामा आएका अधिकांश व्यवसायीले सरकारको बेवास्ता र लापरवाहीले कच्चा पदार्थ नपाएर हजारौं सुन व्यवसायीको व्यवसाय नै धरापमा परिसकेको उल्लेख गर्दै अब व्यवसाय गर्न नसकिने बताएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया