नेपाल भ्रमण वर्ष–२०२० अभियानअन्तर्गत भ्रमण वर्षको लोगोसहितको स्टीकर सार्वजनिक गरिएको छ । नेपाल भ्रमण वर्ष कार्यक्रम कार्यान्वयन उपसमितिले ‘समृद्ध नेपाल बनाऔँ, विश्वमा नेपाल चिनाऔँ’ तथा ‘गरौँ तयारी धुमधाम, पाहुनालाई गराऔँ घुमघाम’ भन्ने नारासहित स्टीकर तय गरेको हो । भ्रमण वर्षको लोगो तथा मूल नारा भिजिट नेपाल ‘लाइफ टाइम्स एक्सपेरियन्स’ यसअघि नै सार्वजनिक भइसकेको थियो । मूल नारामा थप दुई नारा थपेर लोगोसहितको स्टीकर बनाइएको छ ।
पर्यटन बोर्ड परिसरमा आज आयोजित कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले उक्त भ्रमण वर्षको लोगो र नारासहितको स्टीकर पर्यटक बस र माइक्रोमा टासेर उद्घाटन गर्नुभएको थियो । भ्रमण वर्षको देशव्यापी प्रचार गर्ने उद्देश्यले समितिले पर्यटक सवारीसाधन तथा सार्वजनिक सवारीसाधनमा टाँसिने जनाएको छ । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ, पर्यटक ट्याक्सी व्यवसायी सङ्घ तथा पर्यटन क्षेत्रका विभिन्न सङ्गठनका प्रतिनिधिलाई स्टीकर प्रदान गरिएको थियो ।
सो अवसरमा पर्यटन मन्त्रालयका सचिव सापकोटाले सरकारले भ्रमण वर्ष मनाएर बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गरी पर्यटनको माध्यमबाट मुलुकको आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यका साथ अभियान शुरु गरिएको उल्लेख गर्नुभयो । उहाँले नेपालको पर्यटन हालको १२ लाख हाराहारीको पर्यटक आवागमनलाई बढोत्तरी गर्दै आर्थिक गतिविधि बढाउने र रोजगारी सिर्जना गर्नेतर्फ मन्त्रालयले निजी क्षेत्रको साझेदारीमा काम अघि बढाउनेछ । सचिव सापकोटाले नेपाल पर्यटनका लागि विश्वकै आकर्षक र सुरक्षित गन्तव्य भएको सकारात्मक सन्देश प्रवाह गर्न पर्यटनका सकारात्मक सामग्री सम्प्रेषण गरी भ्रमण वर्षलाई सहयोग पु¥याउन सम्वद्ध सबैलाई आग्रह गर्नुभयो । सरकारले भ्रमण वर्ष मनाउनका लागि तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीको संयोजकत्वमा मूल समारोह समिति गठन गरी व्यवसायी सुरज बैद्यलाई भ्रमण वर्ष राष्ट्रिय कार्यक्रम संयोजक बनाएको थियो । समितिले सचिवालय स्थापना गरी प्रवद्र्धनात्मक काम अघि बढाएको छ ।
सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई उत्साहका साथ प्रभावकारी कार्यान्वयन गराउन प्रचारप्रसारका लागि सबै संयन्त्रलाई प्रभावकारी बनाउने निर्णय गरिसकेको छ । भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । भ्रमण वर्षको पूर्व शुरुआत ‘सफ्ट लन्चिङ’ गत चैत ३० गते पोखराबाट गरिएको थियो । भ्रमण वर्षको औपचारिक शुरुआत सन् २०१९ को डिसेम्बरको अन्तिम दिन गरिने सचिव सापकोटाले जानकारी दिनुभयो । 2076-01-15
काठमाडौँ, १५ वैशाख (रासस)ः