बाँकेमा ‘ट्राफिक सप्ताह’ सुरु

विभिन्न सभेचनामुलक कार्यक्रम सहित प्रदेश भरीनै ट्राफिक सप्ताह मनाइँदै


प्रदेश ५ का विभिन्न जिल्ला सँगै बाँकेमा शनिवारदेखि ट्राफिक सप्ताह सुरु भएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि ठाउँको ठाउँ सुधार’ भन्ने नारासहित सवारी चाप र बढीरहेको दुर्घटनालाई कम गर्न ट्राफिक सप्ताह सुरु गरिएको हो ।


सप्ताहको पहिलो दिनमा कोहलपुरमा प्रभातफेरी निकालिएको छ । कोहलपुर चौराहाबाट सुरु भएको प्रभातफेरी सुर्खेतरोड, पीपल चौतारा, एनटिभी रोड, नयाँ सडक हुँदै पुनः चौराहमा पुगेर कोणसभामा परिणत भएको थियो ।


ट्राफिक सप्ताहबारे बोल्दै बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले बढ्दो जनसंख्यासँगै सवारी साधनको चापका कारण दुर्घटनाका सम्भावनाहरु पनि बढ्दै गएको बताए । तिव्र गति, प्रविधिको प्रयोग हुन नसक्नु, ट्राफिक चिन्ह र संकेतको पालना नहुनु लगायतका बेथिति औल्याउँदै पौडेलले पैदलयात्रीहरु जथाभावी सडक पार गर्नु लगायतका कारण सडक दुर्घटना बढेकोले यसलाई नियन्त्रण गर्न कडाईका साथ लाग्नुपर्ने बताएका थिए ।


ट्राफिक सप्ताह एक हप्तासम्म जनचेतनामुलक कार्यक्रमका साथै ट्राफिक नियमसम्बन्धी कार्यक्रम गरिने बाँके जिल्ला ट्राफिक प्रमुख, प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए ।
कोहलपुर नगरपालिकाका प्रमूख लुटबहादुर रावतले कोणसभामा बोल्दै जिल्लाको शान्ति सुरक्षासंगै ट्राफिक ब्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्न आवश्यक रहेको धारणा राखेका थिए ।
प्रदेश नं ५ सशस्त्र प्रहरी सुरक्षा गण खजुराका प्रहरी उपरीक्षक बीरबहादुर वलीले दुर्घटना न्यूनीकरणका लागि नागरिकहरुले पनि साथ दिनुपर्ने बताए ।


प्रदेश प्रहरी कार्यालय तुल्सीपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक टिकाबहादुर कार्कीका अनुसार, प्रदेश ५ का १२ वटै जिल्लामा औपचारिक रुपलेनै ‘ट्राफिक सप्ताह’ शुभारम्भ गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश नं ५ ट्राफिक प्रहरीले शनिवारदेखि ठाउँको सुधार कार्यक्रम पनि शुरु गरेको जनाएको छ । बुटवलमा प्रभातफेरीसहित विशेष समारोहको आयोजना गरी कार्यक्रम शुभारम्भ गरिएको हो ।


बुटवल ट्राफिक चोकमा आयोजित विशेष समारोहमा बोल्दै प्रदेशका आन्तरीक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशका नागरिकको सुरक्षाका लागि दुर्घटना न्यूनीकरण जरुरी रहेको बताए । उनले दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनका लागि प्रदेश सरकारले ऐन ल्याउन लागेको जानकारी पनि दिएका छन् ।


प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले ट्राफिक सप्ताह अन्तर्गत ¥याली, पर्चा पम्प्लेट वितरण, सडक नाटक, आकस्मिक चेकिङ, प्रशिक्षण, प्रत्यक्ष अभ्यास, मेकानिकल परीक्षण, नमूना प्रदर्शन, सडक अवलोकन आदि कार्यक्रम रहेको जानकारी गराए ।


सप्ताह अन्तर्गत बाँकेसहित प्रदेश अन्तर्गतका सबै जिल्लामा दुर्घटना न्यूनीकरण गर्न चालक तथा सहचालकलाई सडक सुरक्षा सम्बन्धी प्रशिक्षण तथा विभिन्न सचेतनामूलक कार्यक्रम गरिने बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया