सत्तारुढ नेकपाको नेपालगन्ज उपमहानगरपालिका कमिटिले नगरमा रिङ रोडको आवश्यकता रहेको भन्दै त्यसका लागि सरकारको ध्यानाकर्षण गराउने भएको छ । शनिबार बसेको जनप्रतिनिधि समेतको विशेष बैठकले प्रदेश सरकार र संघीय सरकारसँग रिङ्ग रोडका लागि माग पठाउने निर्णय गरेको हो ।
‘नेपालगन्जका लागि अब रिङ्ग रोड अपरिहार्य भैसक्यो’, नेकपा नगर सचिव दत्त प्रसाद आचार्यले पूर्व बजेट छलफल चलिरहेकाले सरकारसँग योजना तर्जुमाका लागि नेपालगन्जबाट सुझाव पठाउन शनिबार विशेष बैठक गरिएको जानकारी दिंदै भने । आचार्यका अनुसार, प्रदेश सरकारसँग कम्तिमा १० किलोमिटर कनेक्टिभिटी रोड र केन्द्र सरकारसँग रिङ्ग रोडका लागि माग गर्ने विषयमा एकमत धारणा बनाइएको छ । ‘२३ वटै वडालाई जोड्ने एउटा सजिलो सडक अपरिहार्य छ’, रिङ्ग रोडको कार्यान्वयन नआउँदासम्म रोड कनेक्टिभिटीको अवधारणालाई तत्काल अगाडि बढाउने पर्ने आफुहरुको धारणा रहेको जानकारी दिंदै आचार्यले दैनिक नेपालगन्जसँग भने, ‘नितान्त नगरको विकास निर्माण र त्यसमा पनि सडकलाई नै प्राथमिकता दिएर योजना तर्जुमा गर्न छलफल भएको छ ।’
प्रदेश सभा सदस्य उषा पुन गहतराजको प्रमुख आतिथ्यतामा भएको छलफलमा नेपालगन्ज नगरका नेकपा सम्बद्ध जनप्रतिनिधि, पार्टीका नगर कमिटिका सदस्यहरु समेत सहभागिता थियो । पार्टीको नगर अध्यक्ष डिल्ली बरालको अध्यक्षता भएको छलफलमा नगरका पछिल्ला विकास गतिविधि बारे पनि छलफल गरिएको सचिव आचार्यले जानकारी दिए ।