ओहो ! गर्मी, ४१ पुग्यो नेपालगन्जको पारा

बाँकेमा पछिल्ला दिन गर्मी बढ्दै गएको छ । केही दिनदेखि नेपालगन्जमा तापक्रम वृद्धि हुँदै गएपछि गर्मी महसुस हुन थालेको हो । चर्को घाम सँगै चल्ने तातो हावाले जनजीवन प्रत्यक्ष प्रभावित बनेको छ । यो साताको सुरु देखि नै दैनिक १ डिग्री तापक्रम वृद्धि भैरहेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका अनुसार, नेपालगन्जको अधिकतम र न्यूनतम दुवै तापक्रम बढ्दै गएको हो ।


सोमबार ३७.६ डिग्री सेल्सियस मापन गरिएको नेपालगन्जको अधिकतम तापक्रम शुक्रबारसम्म आइपुग्दा ४० डिग्री सेल्सियस नाघेको छ । नेपालगन्जको तापक्रम गत मंगलबार ३७.५ डिग्री सेल्सियस, बुधबार ३७.२ डिग्री सेल्सियस, बिहीबार ३९.५ डिग्री सेल्सियस रहेको फिल्ड कार्यालयका मौसम विज्ञान सहायक प्रकाश विश्वकर्माले जानकारी दिएका छन् । मंगलबार २० डिग्री सेल्सियस रहेको नेपालगन्जको न्यूनतम तापक्रम शुक्रबार २३ डिग्री सेल्सियस पुग्यो । गत सोमबार नेपालगन्जको न्यूनतम तापक्रम २० डिग्री सेल्सियस, मंगलबार २१, बुधबार २३.३, बिहीबार २३ र शुक्रबार पनि २३ डिग्री सेल्सियस रहेको मौसम विज्ञान सहायक प्रकाश विश्वकर्माले जानकारी दिएका छन् ।


शुक्रबार नेपालगन्जको अधिकतम तापक्रम यस बर्षकै बढी रह्यो । शुक्रबार नेपालगन्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस मापन गरिएको हो । ‘तातो हावा र तापक्रमको वृद्धिले बढी गर्मी महसुस भैरहेको हो’, मौसम विज्ञान सहायक प्रकाश विश्वकर्माले भने । शनिबार पनि नेपालगन्जको अधिकतम तापक्रम ४१ नै रहेको छ ।


गर्मी बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले चिकित्सकहरुले सजगता अपनाउन सुझाव दिएका छन् । गर्मी तथा वर्षायाममा बढी मात्रामा देखिने समस्या खाना विषाक्तता हो । काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, गह्रौं, पचाउन नसकिने खाद्य पदार्थले फुड प्वाइजनिङ हुन्छ । यस्ता बिरामीलाई वान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने हुन्छ ।
अत्यधिक गर्मीमा वायु मण्डलले तातो हावा फ्याँक्छ । जसले लु लाग्न सक्छ । लु लाग्दा शरीरबाट पसिना धेरै निस्केर पानीको कम हुन गई उत्पन्न हुने समस्या र अंगहरुले तापक्रमलाई व्यवस्थित राख्न नसकी कमजोरी हुने, सिर्जित नकारात्मक असर हुन्छ । लुबाट बच्न पर्याप्त पानी पिउनुपर्दछ । ‘बिहान ११ बजेदेखि दिउँसो ३ बजेको समयमा घाममा ननिस्कने, निस्कनै परेमा छाताको प्रयोग गर्नुपर्दछ । पानीको बोतल साथैमा राखी पटकपटक पानी पिउनुपर्दछ । खानामा शाकाहारी खानेकुरा, झोल पदार्थ फलफूल प्रशस्त मात्रामा खानुपर्दछ । कडा घाममा नशालु पदार्थ सेवन गर्नु हुँदैन,’ स्वास्थ्यकर्मी भन्छन् ।


जल तथा मौसम विज्ञान विभागका अनुसार, आज शनिबार देशको पूर्वी तथा मध्य भूभाग र पश्चिमका पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र बांँकी भु–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी भूभागको थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू–भागका एकरदुइ स्थानमा अपरान्हतिर मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।


आज राती देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमका पहाडी भु–भागमा आंशिक बदली र बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक÷दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया