शिक्षामा पछाडि परेको बाँकेको नरैनापुर गाउँपालिकामा भर्ना अभियानलाई प्रभावकारी बनाउन सांसद् पनि घरदैलो कार्यक्रममा सहभागी भएका छन् । वडा नम्बर ५ मटेहियामा गरिएको घरदैलो कार्यक्रममा क्षेत्र नम्बर १ का संघीय सांसद् महेश्वरजंग गहतराज अथकले पनि सहभागिता जनाएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो । वडा नम्बर ५ को जयरामपुर्वाबाट बाजागाजा र र्यालीसहित शुरु भएको घरदैलो जमुनाहा हुँदै मटेहियामा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै सांसद् गहतराजले शिक्षामा पछाडि परेको नरैनापुरलाई अघि बढाउन आफू लागिपरेको र भर्ना अभियानमा उर्जा थप्न स्वयम् उपस्थित भएको बताउनुभयो । उहाँले आफ्ना बालबच्चालाई विद्यालयमा भर्ना गर्न अभिभावकहरुलाई आग्रह गर्नुभयो ।
गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले भौतिक विकासले मात्र समाजको विकास पूरा नहुने बताउँदै पारिवारिक र सामाजिक विकासका लागि शिक्षा जरुरी रहेकाले आफूले हरसम्भव प्रयास गरिरहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी तथा सरोकारवाला संघसंस्था भर्ना अभियानमा संगसंगै रहेको भन्दै भर्नादर सत् प्रतिशत बनाउन आफूहरु लागिपरेको बताउनुभयो । उहाँले २०६८ को जनगणना अनुसार गाउँपालिकाको साक्षरता दर ३२ प्रतिशत रहेको जानकारी दिनुभयो । उहाँले गाउँपालिकाले यस बर्ष २४ सय जनालाई साक्षर बनाएको र अझैं झण्डै ७६ सय नागरिकले राम्रोसंग पढ्न र लेख्न नजान्ने तथ्यांक प्रस्तुत गर्दै २ हजार विद्यालय जाने उमेरका बालबालिका अहिले पनि विद्यालय बाहिर रहेको बताउनुभयो । गाउँपालिकाले वडा नम्बर १ कट्कुइँयाबाट थालेको घरदैलो कार्यक्रम ६ वटै वडामा सम्पन्न गरेको छ ।