हत्या र सरकारी कागत किर्ते प्रकरण : १६ थुनामा, तीनलाई धरौटी

मालपोत कार्यालय बाँकेका कर्मचारीहरुको मिलेमतोमा सरकारी जग्गा निजी नाममा गर्दै हत्याउन सक्रिय रहेको भन्दै पक्राउ परेका १९ जना मध्ये १६ जनालाई थुनामा राख्न बाँके जिल्ला अदालतले आदेश गरेको छ ।


जिल्ला न्यायाधीश राम प्रसाद वश्यालको एकल इजलाशले हत्या तथा अपहरण सम्बन्धी मुद्दामा दुई जनालाई र सरकारी कागज किर्ते सम्बन्धी मुद्दामा १४ जनालाई थुनछेकको आदेश गरेको हो । बाँकी ३ जनालाई जनही १÷१ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ । ‘तर अख्तियारले मागेकाले तीन जनालाई नै जिल्ला प्रहरी कार्यालय मार्फत अख्तियार पठाइएको छ’, जिल्ला अदालतका नासु सन्त पौडेलले दैनिक नेपालगन्जसँग भने ।


सरकारी कागज किर्ते अन्तर्गत मुद्दा चलाइएका प्रेम बहादुर चन्द, सञ्जय कुमार ठाकुर र तुलसीरानी थारुलाई जनही १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको हो । तर, अख्तियारले उक्त मुद्दा अनुसन्धान गरिरहेकाले तीनै जनालाई अदालतबाटै माग गरी झिकाएको सम्बद्ध स्रोतले जनाएको छ । अदालतले रिहाईको आदेशसँगै धरौटी बुझाइ सकेका चन्द, ठाकुर र थारुलाई प्रहरीले अख्तियारलाई बुझाउनका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको बताइएको छ ।


सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सघाउने सरकारी कर्मचारीहरु समेत गरी १९ जनालाई बाँके प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको थियो । पक्राउ पर्ने दुई जना हत्या तथा अपहरण मुद्दामा परेका छन् । सम्बद्ध स्रोतका अनुसार, नेपालगन्ज–३ का कोशल भन्ने फैरुल हसन अन्सारी र उनका अर्का साझेदार सज्जन सैय्यदलाई हत्यामा संलग्नताको आशंकामा पक्राउ गरी मुद्दा चलाइएको छ । अन्सारीले आफ्ना साझेदार भारतीय नागरिक जुनेद अन्सारीको हत्या गरेको अभियोग छ । अन्सारी एकाएक बेपत्ता भएपछि जयसपुर स्थित उनकी नेपाली पत्नीले खोजीका लागि दिएको उजुरीका आधारमा प्रहरी सक्रिय हुँदा जग्गा लेनदेनको कारोबार सरकारी जग्गालाई व्यक्तिका नाममा गर्ने गिरोह खुलासा गर्नेदेखि जग्गा विवादमा हत्या समेत भएको प्रकरण सार्वजनिक भएको थियो ।


मालपोत कार्यालय बाँकेका अधिकृत पुष्पा श्रेष्ठ सहित बाँके, बर्दियाका १७ जना मालपोत कर्मचारी प्रहरी अनुसन्धानको दायरामा छन् । बाँके प्रहरीले जुनेदकी श्रीमतिलाई घटनास्थल पुर्याउँदा भारतीय प्रहरीले दाहसंस्कार गरी पहिचानका लागि राखेको कपडाका आधारमा जुनेद नै भएको खुलेको थियो । त्यसअघि प्रहरीले अनुसन्धानका विभिन्न चरणमा जुनेद र फैरुल हसन बीच सरकारी जग्गा व्यक्तिका नाममा गर्ने भैरहेका प्रयासहरु तथ्य संकलन गरिसकेको थियो । ‘फैरुलले आफ्ना मृत बाबुका नाममा सिक्टा सिंचाईको जग्गा नामसारी गरिसकेको खुलेको छ’, प्रहरी भन्छ, ‘पहिले मृत बाबुका नाममा र पछि आमाका नामसारी गर्न खोज्दा विवाद उत्पन्न भएको देखिन्छ ।’

बर्दियाको नेउलापुर स्थित ६ विगाह जग्गा पनि त्यसैगरी व्यक्तिका नाममा गर्न प्रक्रिया निकै अगाडि बढिसकेको तथ्य प्रहरी हातमा परिसकेको छ । सोही मुद्दामा बर्दियाका मालपोत कार्यालय प्रमुख सहितका कर्मचारीहरु पक्राउ परेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया