खेलकूदमा थप लगानी गर्न उपराष्ट्रपतिको आग्रह

बाँके, ११ वैशाख कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले खेल क्षेत्रमा सरकारले थप लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ ।

नेपालगञ्जस्थित महेन्द्र रङ्गशालामा आयोजित आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै उहाँले राष्ट्रलाई स्वस्थ राख्न खेलकूद अपरिहार्य भएको बताउँदै अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीलाई सशक्त भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको राष्ट्रिय झण्डालाई विश्वसामु फहराउन खेलकूदको विकास जरुरी छ ।” निर्धारित समयमै खेलकूद सम्पन्न गरेकामा सरकारप्रति धन्यवाद ज्ञापन गर्दै उहाँले बाँकी रहेका पूर्वाधार सम्पन्न गर्नका लागि पनि अनुरोध गर्नुभयो । उहाँले बाँकी रहेका भौतिक पूर्वाधारका काम सम्पन्न गर्दै १३ औँ दक्षिण एशियाली खेलकूदको तयारीमा जुट्न आग्रह गर्नुभयो । कावा राष्ट्रपति पुनले प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक तथा आयोजकलाई धन्यवाद पनि दिनुभयो ।

यही वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपति पुनले गर्नुभएको हो । उपराष्ट्रपति पुन आज कोहलपुरमा रहने र बिहीबार बर्दियाको बाँसगढी नगरपालिकास्थित केदारेश्वर धामको औपचारिक उद्घाटन गरी काठमाडौँ फर्किने बताइएको छ ।
(रासस)

प्रतिक्रिया

प्रतिक्रिया