निशु जोशी

बाँके खेलाडीहरुको सहर हो । अहिले नेपालगन्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यहाँबाट प्रतिनिधित्व गरेका खेलाडीहरु र उनीहरुको कामले पनि यो क्षेत्र खेलमा कति उर्वर छ भन्ने कुराको पुष्टि गर्छ । त्यसमाथि नेपालगन्ज ओलम्पियनहरुको सहर हो । नेपालगन्जबाट पूर्व दक्षिण क्षेत्रमा फैलिएको घरवारीटोल ओलम्पियनहरुको टोल वनेको छ । यहाँबाट सुरेन्द्र हमाल, पार्वती थापा र अनिता श्रेष्ठ ओलम्पियन वनेर यहाँको शिर उचो पारेका छन् । रोचक त के छ भने उनीहरु तीनै जना घरबारी टोलकै हुन् । उनीहरुले नेपालगन्जका लागी मात्रै खेलेनन् देशमै पहिलो ओलम्पियन खेल्ने खेलाडिका रुपमा पहिचान वनाएका छन् । हमाल भारोत्तलन, थापा र श्रेष्ठ सुटिङका खेलाडि हुन् । उनीहरु तीनै जनाले खेल खेलेर नाम र दाम कमाएका छन् ।


ओलम्पियन विभिन्न देशका खेलाडीहरुले प्रतिष्पर्धा गर्ने एउटा अन्तर्राष्ट्रियस्तरको मञ्च हो । जसमा जो पाइला राख्ने धेरैको उद्येश्य हुन्छ तर केही मात्रै त्यो उद्देश्य पूरा गर्छन् । त्यसमध्येमा यी ३ जना पर्छन् । उनीहरुले नेपालगन्जलाई मात्र होइन देशलाई नै अन्तर्राष्ट्रियस्तरमा चिनाए । यतिमात्रै होइन उनीहरुसंगै अन्य थुप्रै खेलाडीहरु यही घरवारीटोलबाटै उदाएका छन् । पुरानादेखि नयाँपुस्ताका खेलाडीहरुले अन्तर्राष्ट्रियस्तरसम्म खेलेका छन् । तीनै जना ओलम्पियन जन्मेको ठाउँ भएकाले घरवारीटोलमा ओलम्पियनको संकेत गर्ने स्तम्भ निर्माण गर्न लागिएको छ ।


ओलम्पियन खेलाडिहरुको सम्मानमा उक्त स्तम्भ निर्माणको काम थालिएको हो । वदरुद्दिन अन्सारी, नरेन्द्र थापा लगायतका खेलाडी पनि घरवारीटोलमै रहेका छन् । त्यसैले पनि यो टोलमा खेलाडीहरुको सम्मानमा ओलम्पकी स्तम्भ निर्माण गर्न लागीएको हो । उसो त पछिल्लो समय बाँकेबाट अन्तर्राष्ट्रिय स्तरसम्म खेल्ने खेलाडीहरु करीव ४० देखि ५० जनासम्म रहेको अनुमान छ ।


भारोत्तोलनमा मात्र करीव १ दर्जन खेलाडीहरुले अन्तर्राष्ट्रियस्तरमा खेलिसकेका छन् भने केहीले अन्तराष्ट्रिय स्तरसम्म खेल्न पाएनन् । करिव ४ दशक अघि प्रतियोगिता नै नहुने भएकाले धेरै खेलाडीहरु राम्रो खेल्दाखेल्दै अन्तर्राष्ट्रियस्तरको खेल खेल्न पाएनन् । यस्ता प्रतियोगिता त्यतिवेला आक्कल झुक्कल मात्र हुने गर्थे । अन्तराष्ट्रियस्तरमा खेल्नका लागि मौका हुन्थेन । त्यसैले खेलाडिहरु शोखका लागि मात्र खेल्थे । अन्तर्राष्ट्रियस्तरसम्म खेल्ने चाहाना भएपनि धेरैले त्यस्तो मौका पाएनन् । त्यस्तो मौका नपाउने खेलाडीमा पर्छन् नेपालगन्जका तिर्थमान श्रेष्ठ, सचिदानन्द चौवे । उनीहरुले नेपालगन्जमा खुवै खेले तर प्रतियोगितामा सहभागी हुन पाएनन् । यस्ता अन्य धेरै खेलाडीहरु पनि रहेका छन् ।

नेपालगन्जमा खेलकुदको विकास


नेपालगन्जमा खेलकुदको पुरानो इतिहास छ । कहिलेबाट सुरु भयो त्यो त ठ्याक्कै कसैलाई थाहा छैन तर वावुवाजेले पहिलेदेखि नै खेल खेल्ने गरेको पूर्वखेलाडीहरु बताउँछन् । त्यतिवेला नेपालगन्ज भारतीय सीमासंग जोडिएको सहर भएकाले भारतमा क्रिकेट खेल्ने गरिएको थियो । त्यसको प्रभावले नेपालगन्जमा पनि क्रिकेट खेल्ने गरिन्थ्यो । अर्को खेल भनेको पहलमानी अर्थात कुस्ती थियो । माटोमा खनजोत गरेर पुराना खेलाडिहरुले पहलमानी अर्थात कुस्ती खेल्ने गरेका थिए ।


सीमाक्षेत्रका भारतीय र नेपाली युवाहरु कुस्ती खेल्ने गर्थे । जव भलिवल, टेवलटेनिस लगायतका अन्य खेलहरुको विकास हुदै गयो । कुस्ती खेलमा पनि आधुनिकता भित्रियो । पहिले लडाई गरेर कुस्ती खेल्ने गरिएकोमा भारोत्तोलनको विकास भयो । भारोत्तोलन भन्नाले भार उठाउने खेललाई वुझिन्छ । नेपालगन्जका खेलाडीहरुले करीव ३ सय केजीसम्मको भार उठाएर इतिहास कायम गरेका छन् । यो खेलमा नयाँ युवापुस्ताको पनि उत्तिकै आर्कषण देखिएको छ । नयाँ पुस्तामा बाँकेका सन्जु चौधरी र प्रकाश केसीमा सम्भावना धेरै देखिएको पूर्व खेलाडीहरु बताउँछन् । सन्जु चौधरी भारोत्तोलन खेलमा देशमै नम्वर १ मा रहेकी छिन् । किशोर अवस्थामै उनको यस खेलप्रतिको लगाव र मिहनतले उनको भविष्य उज्जल देखिएको पूर्वखेलाडीहरुको भनाइ छ ।
बाँकेमा वसेर लामो समयसम्म खेल खेलेका तर अन्र्तराष्ट्रियस्तरसम्म खेल्न नपाएका खेलाडीहरु पनि धेरै छन् । ६८ वर्षिय तिर्थमान श्रेष्ठ पुराना भलिबल खेलाडी हुन् । उनले राम्रो खेल्दाखेल्दैे प्रतियोगितामा सञ्चालन नहुँदा आफ्नो खेललाई अन्तर्राष्ट्रियस्तरसम्म देखाउन पाउनुभएन । भलिबलकै अर्का राकेश श्रीवास्तव पनि यहाँको खेलक्षेत्रले सम्झनुपर्ने नाम हो । उनले पनि धेरै राम्रो खेल्ने गरेको पूर्व खेलाडीहरु बताउँछन् । विस्तारै प्रतियोगिता हुन थाले । सुरेन्द्र हमालको पालामा यस्ता प्रतियोगिताहरु सुरु भए । अन्तर्राष्ट्रिय स्तरका खेलहरु हुन थालेपछि आफुले क्षमता प्रदर्शन गर्ने मौका पाएको हमाल बताउँछन् ।


त्यस्तै सुटिङ खेलमा घरवारी टोलकै पार्वती थापाले खेल्ने मौका पाइन् । क्षमता प्रदर्शन गर्ने अवसर पाएका कारण अन्तर्राष्ट्रियस्तरमा देशको नाम चिनाउन पाएको उनी बताउँछिन् । सुटिङबाटै घरवारीटोलमा वदरुद्दिन अन्सारीले पनि अन्तराष्ट्रिस्तरमा खेल खेलिसकेका छन् । उनको नाममा पनि धेरै किर्तिमान कायम भएको रेकर्ड छ । त्यस्तै क्रिकेटमा सन्जयराज सीँह, एलवि क्षेत्री, भीम थापा, नेरी थापा यहाँको चर्चीत र सम्झनुपर्ने अनुहार हुन् । उनीहरुले पनि आफ्ना नाममा किर्तिमान कायम गरेका छन् । कोहलपुरका एलवी क्षेत्री १९८८ का कप्तान समेत हुन् । गोविन्द वहादुर क्षेष्ठ, सचिदानन्द चौवे, विश्वनाथ चौवे पुराना सम्झनुपर्ने खेलाडिहरु हुन् । तर उनिहरुले यस्ता अन्तर्राष्ट्रियस्तरका खेलहरु खेलने मौका पाएनन् । रतनकुमार टण्डन, गोर्वद्धनंिसह सम्झना पनि यहाँका पुराना खेलाडी हुन् । पछिल्लो समय दिपक सापकोटा पनि यहाँका प्रभावशाली खेलाडी हुन् । उनले बाँकेबाटे थुप्रै अन्तर्राष्ट्रियस्तरका खेलहरु खेलिसकेका छन् । उनको नाममा पनि थुप्रै किर्तिमान कायम भएको रेकर्ड छ ।

ओलम्पियन सुरेन्द्र हमाल
ओलम्पियन सुरेन्द्र हमाल प्रदेशसभा सदस्य हुन् । आजभोलि उनको व्यस्तता धेरै छ । प्रदेशसभा सदस्य भएकाले विभिन्न राजनीतिक र सामाजिक कार्यमा उनको व्यस्तता छ नै उनी यतिवेला नेपालगन्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अझ धेरै व्यस्त छन् । यस्ता प्रतियोगिता भइराख्नुपर्नेमा उनी जोड दिन्छन् । बाँकेबाट धेरै खेलाडी उदाएपनि प्रतियोगिता नभएका कारण धेरैले खेल्न नपाएको स्मरण गर्दै उनले भने, ‘यस्ता प्रतियोगिताले खेलाडीको स्तर मापन गर्ने र अन्तराष्ट्रिय स्तरमा खेल्न मद्दत पुग्ने भएकाले प्रतियोगिता भइरहन जरुरी छ ।’ प्रतियोगिताले खेलाडीको खेलको स्तर मापन गर्न मद्दत पुग्ने उनको भनाइ छ ।


महाकुम्भ मेला नेपालगन्जमै भइरहेकाले प्र्रतियोगितामा भइरहेका गतिविधि ओलम्पियन सुरेन्द्र हमालले नजिकबाटै नियाल्नुका साथै आवश्यक सहयोग गरिरहेको बताए । आफ्नो पालामा ३ पटक ट्रेनिङ गर्दा पनि प्रतियोगीता नहुने भएकाले स्तर मापन गर्न नपाएकोमा उनको दुखेसो छ । उनले विस २०३२ सालदेखि राष्ट्रिय खेल खेल्न सुरु गरेका हुन् । नेपालगन्जको घरवारीटोल निवासी हमालले निरन्तर २०४८ सालसम्म सम्म खेलाडीका रुपमा खेल खेले । यही समयमै उनले बाँकेलाई मात्र नभई देशलाई नै अन्तर्राष्ट्रियस्तरसम्म चिनाए । ०४८ पछि पनि उनि निरन्तर खेलक्षेत्रमा सक्रिय रहे । कहिले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष, क्षेत्रीय लगायतका खेलकुदमा सदस्य वनेर । त्यतिवेला चौथो राष्ट्रिय खेलकुद प्रतियोगिता पनि बाँकेमै आयोजना भएको थियो ।


बाँकेमा यति ठुलो राष्ट्रिय प्रतियोगिता दोस्रो पटक सञ्चालन भइरहेको हो । खेलकुदमा सक्रिय हुदा भारोत्तनसंगै उनले धेरै खेल खेले । टेवलटेनिसबाट खेलको यात्रा सुरु गरेका उनी दाई विजेन्द्र हमाल टेवलटेनिस खेलाडी भएकाले उनकै देखासिकीमा लगातार ३ वर्षसम्म टेवलटेनिस खेलेको बताउँछन् । छिमेकमा भारत भएकाले त्यहाँको प्रभावले यहाँ क्रिकेट प्रतियोगिता समेत भए । उनले त्यहाँ पनि खेले । उनले पहिलोपटक २०३७ सालमा राष्ट्रिय खेल खेले ।
पहिलो वर्ष राष्ट्रिय खेलमै उनले स्वर्णपदक जिते । दोश्रो भारोत्तन च्याम्पीयन प्रतियोगिता नेपालगन्जमा भएको थियो ०३८ सालमा । त्यसपछि उनी पुनः भारोत्तोनतर्फ मोडिए । उनको परिवार नै खेलमा भएकाले उनि खेलको वरिपरी नै घुमे । उनका वुवा पनि पहलमान थिए ।

उनका अंकल महेन्द्र हमाल, रणेन्द्र हमाल पनि पहमान नै थिए । हमालले आफ्नो शारीरिक वनावट पहलमान वन्नका लागि तयार छ भन्ने महसुस गरे । धेरै खेल खेलेपछि उनी बल्ल पहलमानीतर्फ मोडिएका थिए । त्यतिवेला उनका वुवाले एउटा हलवाई पसलेलाई भनेको रोचक कुरा उनी सम्झन्छन्, ‘कुस्ती खेल्न पठाउने वेला वाले शरीरमा माटो देखेपछि मात्रै दहि दुध, जलेवि समोसा खान दिनु भन्ने आदेश दिएका थिए ।’ वुवाले पनि पहमान वनाउन जोड दिइरहेका वेला हमालको मनमा पनि यो काम गर्न सकिन्छ भन्ने लागेर उनले यसैलाई निरन्तरता दिने सोच वनाए । उनले कुस्तीखेल्दा खेल्दै भारोत्तोलन खेलको सुरुवात भयो । उनले त्यसमा पहिलो वर्ष नै स्वर्ण पदक जिते र पहमानको परिचय वनाए ।


नेपालगन्जमा पहिले कुस्ती खेल्ने परम्परा थियो । त्यतिवेला उमर पहलमान, छोड्कुवड्कु लगायतका नाम चलेका पहलमान भएको उनी बताउँछन् । उनीहरु नाम चलेका पहलमान थिए । कुस्ती लड्ने परम्परा धेरै समयपछि मात्रै आधुनीकतातर्फ वदलिएको हो । कुस्ती बदलिएर भारोत्तालन वन्यो । कुस्तीमा लडाई हुन्थ्यो भने भारोत्तोलनमा भार उठाउने काम । टाउको भन्दा माथि भार उठाउनुपर्ने खेल । यो खेल २ प्रकारको छ । एउटा भारलाई छातीमा होल्ड गरेर टाउको माथि लैजाने र अर्को सिधै टाउको माथि लैजाने । उनले यी दुवैखेलमा १ सय २२ र १ सय ५५ गरी करीव २ सय ७५ केजी उचालेको रेकर्ड रहेको उनले बताए ।


सुरुवातमा राजेन्द्र प्रधान गुरुको सीकाईले ओलम्पियन हमालले धेरै सिक्न पाए । नेपालबाट प्रतिनिधित्व गरेर सन् १९८४ मा सीरीयाको राजधानी मस्कोसमा कास्य जितेर नेपाललाई पहिलो पटक अन्तर्राष्ट्रियस्तरमा चिनाए । एशिएन च्याम्पियनशीपमा २ वटा साउथ एशियनमा एक दर्जन बढी पटक खेलेर दर्जन बढी नै पदक जिते । यहि क्रममा उनी इरान, टर्की, सीरीया लगायत १२ भन्दा बढी देशमा पुग्न पाए । उनी त्यो खुसीको क्षण सम्झदै भन्छन् ‘प्रत्येक खेलाडीको सपना हुन्छ । अन्र्तराष्ट्रिय खेलाडीले मात्रै ट्याकसुटमा लेख्न पाउछ । मेरो पनि त्यहि सपना थियो । छातिमा नेपाल लेखेको ट्रयाक सुट लगाउने सपना पुरा भयो ।’ एक दर्जनको समुहमा हमाल पहिलो नेपालबाट तास्कान्दोका राजधानी फुरुन्जे भन्ने ठाँउमा टे«निङका लागि पुगेका थिए ।
‘परम्परागत तरिकाले खेलेर समयको खेर मात्रै जान्छ । त्यसैले खेल खेल्न टेक्निक जान्नुपर्छ’, हमाल भन्छन् । उनले ०३२ सालदेखि ६ वर्षसम्म आफ्नो समय वालुवामा पानी खन्याए जस्तै भएको बताए । त्यसैले टेक्निक सिकेर मात्र खेल खेल्न उनको सुझाव छ । तर यस्तो टेक्निक सिकाउने प्रशिक्षकको कमी रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘सानो वालकले कस्तो खेल्छ उसलाई थाहा हुँदैन । उसको प्रतिभा चिन्ने कि त अभिभावकले हो या त प्रशिक्षकले । तर यस्तो प्रशिक्षक नेपालमा अझै पनि छैनन् ।’ उनलाई सुरुवातमै भारोत्तोन नखेलेकोमा करीव ६ वर्ष व्यर्थै खेर गएकोमा पछुतो छ । सुरुवात नै भारोत्तोलन गरेको भए अन्तर्राष्ट्रियस्तरमा अझ धेरै पदक जित्न सक्ने उनी बताउँछन् । त्यसैले यस्तो प्रतिभा छनौट गर्ने खालका प्रशिक्षक अनिवार्य हुनुपर्ने र राज्यले व्यवस्था गरिदिनुपर्ने उनको माग छ ।


विदेशमा पारिवारिक वंशाणुदेखि टेष्ट लिने र त्यहि अनुसारले सिकाउने गरिएकाले नेपालमा पनि त्यसको सिको गर्न हमालको सुझाव छ । अझैपनि भलिबल खेल्ने गाँउमा सवैले भलिवल खेल्ने, क्रिकेट खेल्ने ठाँउमा सवैले क्रिकेट नै खेल्ने परम्परा रहेकाले यसतर्फ सरकारले ध्यान केन्द्रित गर्नुपर्नेमा उनको जोड छ । उनले पनि सुरुमा अन्य खेल खेल्ने गरेपनि घरमै भारोत्तोलनको तयारी गरिरहने गरेको र जिल्लाबाहिरबाट आएका प्रशिक्षकले खेल्न वोलाएपछि सक्छु जस्तो लागेर आफैले भारोत्तोलनमा सहभागी हुन सुरु गरेको बताए । त्यतिवेला काठमाडौबाट राजेन्द्र प्रधान गुरुले राष्ट्रिय प्रतियोगिताका लागि १५ दिनको तालिममा सहभागी वनाएको र त्यही १५ दिनमै उनले स्वर्णपदक जितेको सम्झिए । त्यसपछि यसमै राम्रो गर्न सक्छु भनेर यसैमा लागेको उनले वताए । उनले खेल जीवनमा दर्जन वढी स्वर्णपदक जितेका छन् ।

खेलमा मान र दाम पनि
हमालले खेल खेल्दा नाम, इज्जत, प्रतिष्ठा र सम्मान अधिक थियो । तर पैसा कमाइ हुन्थेन । खान लाउन पुग्ने परीवार भएका कारण उनले खेललाई निरन्तरता दिए सके । एशियन गेम जितेपछि नेपाल सरकारबाट उनले सुरुमा ५ हजार रुपैयाँ पुरस्कार पाएका थिए । त्यतिवेलाको ५ हजार अहिलेको २÷३ लाख लाख रुपैयाँ मुल्य रहेको उनले बताए ।
राखेपले वर्षमा वर्षमा ३ वटा प्रतियोगिता गराउन सके खेलाडीहरुको स्तर मापनमा सघाउ पुग्ने उनको भनाई छ । अहिले पछिल्लो समय खेल व्यवसायीक वन्दै गएको उनको भनाई छ । पहिले नाम मात्रै भए पनि अहिले खेलमा नाम र दाम दुवै भएको उनी वताउछन् । तर त्यसका लागि मिहेनेत गर्नु अनीवार्य रहेको उनको सुझाव छ । अहिले पनि खेलाडी भनेपछि मान्छेहरुले गर्ने सम्मान अत्याधिक रहेको र खेलमा राम्रो गर्न सकेका कारण जनताले आफुलई प्रदेशसभा सदस्यमा समेत जिताएको अनुभव उनले सुनाए ।
सरकारले स्वर्णपदक जित्नेलाई १ लाख रुपैयाँ पुरस्कार दिने गरेकोमा उनले त्यतिवेला २ पटक यो पुरस्कार पाए । अहिले त्यो रकमको मुल्य करीब २ करोड रहेको उनको भनाइ छ । सोही रकम जम्मा गरेर घरवारीटोलमै घर वनाउन सकेको समेत उनले वताए । यति मात्रै होइन उनले खेलकै कारण २ पटक क्यान्सरलाई समेत जितेका छन् ।

ओलम्पियन पार्वती थापा
ओलम्पियन पार्वती थापा अहिले सुटिङ खेलको प्रशिक्षकका रुपमा काम गरिरहेकी छिन् । यो खेल खेल्न पाएका कारण नै अहिले प्रशिक्षकको काम पाएको उनको अनुभव छ । उनले सुरुवातमा खेल खेल्दा परिवारमा धेरै संर्घष गर्नुपरेको थियो । छोरीलाईलाई घरवाहिर पठाउनुहुदैन भन्ने मन्यता रहेको समाजले अनेक थरी कुरा गर्ने गरेका कारण सुरुवातमा आमाको सहयोगमा वुवासंग झुटो वोलेर उनले खेल खेल्न सुरुवात गरिन् । तर, विस्तारै स्वर्णपदक जित्न थालेपछि उनको वुवाको सोचाई वदलिन थाल्यो । जब उनले स्वर्णपदक जितेका समाचारहरु टिभि, रेडियो र पत्रपत्रिमा आउन थाले त्यसपछि पनि छिमेकीहरुले पत्याएनन् ।
स्वर्णपदक जितेको भएपनि एकपटक उनका वुवाले अन्तर्राष्ट्रिय रुपमा खेल खेल्न जान दिन तयार भएनन् त्यसपछि थापाले पनि खेल नखेल्ने निर्णय गरिन् । तर पछि दिदिको सहयोगमा वुवालाई सम्झाउन सफल भएपछि उनले खेल्न जान पाइन् । त्यसपटक उनी ओलम्पियन बनिन् ।
पार्वतीको चौतर्फी प्रसंसा हुन थालेपछि वुवाको साेंच वदलियो र उनले यसैलाई निरन्तरता दिइन् । तर उनी कम वोल्ने भएकाले समस्या थियो । उनीसंग धेरैले अन्तरवार्ता लिदा उनी वोल्न नसकेर रुने गरेको अर्को रोचक कहनी उनी आफै वताउँछिन् । एकपटक अन्तर्राष्ट्रियस्तरको खेलमा सहभागी भएको वेलाको उनको रोचक कहानी छ । खेल खेल्न गएको वेलामा आफुले समातेको राइफल अर्कैले लिएपछि उनले नलेउ भन्न सकिनन् र रोइदिइन् । त्यसपछि प्रशिक्षकहरुले रुनुको कारण सोधे र उनलाई राइफल, ज्याकेट लगायत उनलाई आवश्यक सवे सामान किनेर दिएका थिए । उनी अझैपनि एकदमै कम वोल्ने गर्छिन् । तर उनी सुटिङ खेलमा नेपालको पहिलो महिला ओलम्पियन भनेर चिनिन्छन् । त्यतिवेलामा न्यून महिलाले मात्रै ओलम्पियन खेल्न पाएका थिए । उनले दर्जन बढी स्वर्णपदकहरु जितेकी छन् ।
उनी निरन्तर करिब ३ दशकदेखि सुटिङ खेलमा सक्रिय छिन् । सुरुवातमा खेलमा दाम नभएको भएपनि अहिले प्रशस्त मान, सम्माान र दाम भएको उनी वताउँछिन् । उनले त्यतिवेला पहिलो पटक ३३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको बताइन् । सुरुमा खेल मात्र रोजेकी थापालाई पछ्याउदै अहिले पैसा उनको पछि लागिरहेको छ । यस खेलको सम्भावना राम्रो भएपनि खेल सामाग्री महंगो भएका कारण यसप्रति खेलाडीको आर्कषण हुन नसकेको उनको भनाई छ ।
खेल खेल्दा लगाइने ज्याकेटलाई मात्रै भारतमा ४० हजार भन्दा माथि पर्ने भएकाले समस्या रहेको उनको भनाइ छ । अन्य सामाग्री पनि महंगो छ । अहिले जारी प्रतियोगितामा पनि बाँकेबाट आधादर्जन खेलाडी मात्र सहभागी रहेको उनले जानकारी दिइन् । यसमा सरकारले लगानी गर्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया

प्रतिक्रिया