चौथो आयोजना भएको झन्डै २२ वर्ष पछि आठौं राष्ट्रिय खेलकुद आयोजना हुनुले अब नेपालगन्जलाई खेलकुद विकासमा लाग्न प्रेरित गरेको महसुस गरेको छु । नेपालगन्ज उपमहानगरपालिका नगरमा जिल्ला प्रदेशमा खेलाडी उत्पादनका लागि हातेमालो गर्न तयार भएको छ । खेलकुद विकास र खेलाडी उत्पादनका लागि भौतिक पूर्र्वाधार सबैभन्दा महत्वपूर्ण पाटो हो ।
यो बृहत खेलकुद आयोजनाका कारण यस उपमहानगरपालिका साथै प्रदेश ५ का विभिन्न जिल्लामा नयाँ भौतिक पूर्वाधार निर्माण र कतिपय संरचनाको पुनर्निर्माण हुने अवसर जुराएको छ । यो पक्कै पनि हामी नगरवासी समग्र प्रदेशवासीकै लागि खुसीको खबर हो ।
नेपालगन्ज त्यस्तो सहरमा पर्दछ जहाँबाट ओलम्पियन खेलाडीहरु उत्पादन भएका छन् । नेपालगन्जको खेलकुद इतिहास समृद्ध छ । यद्दपी केहि वर्ष हामी खेलकुदमा सुस्ताएका थियो । तर, अब फेरि नेपालगन्ज खेलकुदका कारण जुरमुराउने प्रयासमा छ । हामी नेपालगन्जलाई खेलाडीको सहरका रुपमा स्थापित गर्न प्रयासमा जुट्ने छौं । यसका लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा राखेका छौं ।
देशका विभिन्न शहरहरु खेलकुदकै कारण चिनिएका उदाहरणहरु छन् । अहिलेको समयमा खेलकुदबाट कुनै पनि समाज अलग रहन सक्दैन । त्यसमा हाम्रो उप महानगर पनि त्यस कुरामा सचेत छ । खेलाडी उत्पादन, खेलको विकास र स्वस्थ नागरिक खेलकुदमार्फत तयार हुन्छ भन्ने भनाइमा उप महानगरपालिका पनि सहमत रहेको छ ।
आठौंका लागि जति पनि संरचना तयार भएका छन्, अब आउने दिनमा तीनको भरपुर उपयोग गर्दै खेलाडी उत्पादन गर्नुपर्ने जिम्मेवार एकातिर छ भने अर्कोतर्फ ती संरचनाको संरक्षण हुनु पनि त्यतिकै जरुरी छ । त्यसका लागि स्थानीय जनताको सहयोग अति आवश्यक पर्छ । स्थानीय निकायको जनप्रतिनिधिका हैसियतले ती भौतिक पूर्वाधार संरक्षणका लागि उप महनरपालिका प्रदेश ५ राष्ट्रिय खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समितिलगायत सम्बन्धित सबै निकायसँग सहकार्यका लागि तयार छ ।
त्यसका अलवा उप महागरपालिका आफ्नो क्षेत्रमा खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि पनि तयार छ । नगर भित्र खेलकुद मैत्री वातावरण तयार पार्नका लागि उप महानगर हरदम प्रयासरत रहनेपनि यहाँ उल्लेख गर्न चाहन्छौं ।
केही वर्ष सुस्ताए जस्तो देखिएको नेपालगन्जको खेलकुदलाई पुनर्जीवन दिन केहि वर्षयता प्रधामन्त्री कप भलिबल, नेपालगन्ज गोल्ड कप र नेपालगन्ज म्याराथन निरन्तर रुपमा आयोजना हुँदै आएको छ । त्यसमा उपमहानगरले आफ्नो तर्फबाट सहयोग गर्दै आएको र भविष्यमा पनि गर्दै जानेछ । यी तीन महत्वपूर्ण प्रतियोगिताले नेपालगन्ज खेलकुदका लागि सहि गन्तव्यस्थलका रुपमा विकसित हुने क्रममा रहेको छ । अर्कोतर्फ नगर भित्रका खेलाडीको प्रोत्साहनका लागि पनि केही योजना अघि सार्ने योजनामा रहेको छ । खेलाडीको प्रोत्साहनका लागि हरेक क्षेत्रबाट सहयोग हुन आवश्यक छ ।
आउने दिनमा नेपालगन्जमा विभिन्न राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि आयोजकहरुलाई पनि हामी आव्हान गर्न चाहन्छौं । त्यसरी आउने कुनै पनि प्रतियोगिता आयोजनाका लागि उप महानगर सहयोग गर्न तयार रहेको पनि जानकारी गराउन चाहन्छौं । आठौंका सन्दर्भमा नेपालगन्ज आउने सबै खेल पत्रकार र अन्य सन्चारकर्मीलाई नेपालगन्ज उप महानगरपालिकाको तर्फबाट फेरिपनि हार्दिक स्वागत । (नगर प्रमुख डा. राणाले मंगलवार पत्रकार सम्मेलनमा उपलब्ध गराएको प्रेस विज्ञप्तिमा आधारित )