आठौं राष्ट्रिय खेलकुद भव्य रुपमा आयोजना गरेको जस पाउने सम्भावना बोकेको प्रदेश ५ का लागि अबको चुनौति भनेको तीन संरचनाको प्रयोग र संरक्षण नै हो । भौतिक पूर्वाधार निर्माणलाई विकेन्द्रित गर्दै जाने उद्देश्य बोकेको राष्ट्रिय खेलकुद आयोजनाको मर्म त्यति बेला सार्थक हुन्छ जति बेला यी निर्माण भएका संरचनाका कारण यो प्रदेशमा खेल संस्कारको विकास र खेलाडी उत्पादनमा टेवा पुग्नेछ ।
प्रकाश तिमल्सिना
दुई दशकका बीचमा नेपालगन्जले दोस्रो पटक राष्ट्रिय खेलकुद आयोजनाको अवसर पायो । २०५४ मा चौथो राष्ट्रिय खेलकुद आयोजना गर्दा नेपालगन्जले भएकै संरचनामा प्रतियोगिता आयोजना गरेको थियो ।
२१ वर्षपछि आठौं आयोजना गर्दा भने बृहत खेलकुद नेपालगन्जमा मात्र सिमित रहेन । देश संघीय संरचनामा प्रवेश गरेसँगै पहिलो पटक राष्ट्रिय खेलकुद आयोजनाको मौका प्रदेश ५ ले पाएको छ । यसपटक नेपालगन्जले मात्र होइन प्रदेश ५ ले एक अरब रुपैयाँ भन्दा बढीको लागतमा भौतिक पूर्वाधार पाएको छ । यद्दपी ती सबै पूर्वाधार पूर्ण रुपमा सम्पन्न भइनसकेका कारण हतारमा आठौं आयोजना गरेको भन्दै आलोचना पनि भइरहेको छ । तर, सबै आशंका र आंकलनलाई गलत सावित गर्दै आठौं राष्ट्रिय खेलकद बैशाख ११ (आज) समापन गरिंदैछ ।
वास्तवमा प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्यका साथ २०३८ सालमा राष्ट्रिय खेलकुदको आयोजना भएको थियो । सुरुका तीन संस्करण (२०३८, २०४० र २०४२) मा नियमित रुपमा आयोजना भएपनि त्यसपछि भने राष्ट्रिय खेलकुद आयोजनाका लागि खेलाडीले बर्षौ तडपिन बाध्य भए । तेस्रो आयोजना भएको १२ वर्षपछि नेपालगन्जले चौथोको आयोजनको अवसर पायो ।
नेपालगन्जमा त्यो समयमा चौथो आयोजना गर्ने सबैभन्दा ठूलो जस स्थानीयवासी समेत रहेका तत्कालिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य रतनकुमार टण्डनलाई जान्छ । उनले नै सबै आवास भोजन लगायत व्यवस्थापन र आयोजनाको जिम्मेवारी लिएपछि चौथो सम्भव भएको हो । नेपाल भारोत्तोलन संघका अध्यक्ष र नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष समेत रहेका टन्डनले चौथोमा सहभागी सबैलाई आवास र भोजनको व्यवस्था गरेका थिए ।
आज २१ वर्षपछि राष्ट्रिय खेलकुद आयोजना हुँदा राज्यको ठूलो लगानी यस प्रदेशमा भएको छ । यो खेलकुदको दीर्घकालिन विकास र खेलाडी उत्पादनका हिसाबले महत्वपूर्ण मान्न सकिन्छ । यद्दपी अहिले बनेका संरचनाले यो प्रदेशले कति फाइदा उठाउन सक्छ र खेल संस्कारको विकास गर्छ त्यसका लागि भने केहि वर्ष प्रतिक्षा गर्नुपर्ने हुन्छ । साँच्चै राज्यको लगानीको सदुपयोग भएको छ छैन केही वर्षमा मुल्याङकन गर्न सकिने हन्छ । अहिलेको ठूलो चुनौति भनेको नयाँ र पूनर्निर्मित संरचनाको संरक्षण कसले र कसरी हुन्छ भन्ने मुख्य चुनौति रहेको छ ।
तत्कालिन पूर्वाञ्चल (हालको प्रदेश १) मा दुई वर्ष अघि सातौं राष्ट्रिय खेलकुद आयोजना हुँदा भौतिक पूर्वाधार निर्माण पूर्ण रुपमा सम्पन्न नभई सकेकोले निकै आलोचना भएको थियो । अधुरा संरचना र कतिपय खेल त्रिपालमुनी सम्पन्न गरियो भन्दै राखेपको चर्को आलोचना भएको थियो ।
त्यसबाट थोरै पाठ सिकेको राखेपले प्रदेश ५ आठौं राष्ट्रिय खेलकुदका लागि तुलानात्मक रुपमा भौतिक पूर्वाधार निर्माण समयमै सुरु गरेको थियो । सातौं भन्दा आठौंमा भौतिक पूर्वाधार निर्माण तीब्रगतिमा अघि बढ्यो । तर, आठौंका लागि निर्माण गर्ने योजना गरिएको पूर्वाधार पूर्ण रुपमा अझै सम्पन्न भने भएका छैनन् ।

आठौंका लागि सबैभन्दा केन्द्रमा रहेको उद्घाटन र समापनका लागि तय गरिएको नेपालगन्ज रंगशालाको भिआइपी प्यारापिटको काम अहिले पनि पूर्ण रुपमा सम्पन्न भएको छैन । यद्दपी यसपटकको उद्घाटन भने तत्कालिन विकास क्षेत्रमा भएको भन्दा स्तरीय रहेको धेरैले महसुस गरे । उद्घाटनको त्यो भव्यता स्मरणीय रहनेछ ।
आयोजनाको अन्तिम समयमा आइपुग्दा पनि नेपालगन्ज रंगशालामा निर्माण गरिने भिआइपी प्यारापिटको जडान सम्पन्न हुन सक्दैन भन्ने र नेपालगन्जको चर्को गर्मीका कारण आठौं हुन नसक्ने नेतृत्वतहका कतिपयबाट पटक पटक सार्वजनिक भएको थियो । तर, अन्ततः सबै आलोचनालाई चिर्दै आठौं भव्यतापूर्वक सम्पन्न हुने क्रममा आइपुगेको छ ।
अवस्था चाहिं के हो भने, नत रंगशालाको निर्माण पूर्ण रुपमा सम्पन्न भइसकेको छ । न त दशक यता सुरु भएको पौडी पोखरीको निर्माण सम्पन्न भएको छ । पौडी पोखरी निर्माण सम्पन्न नभएर स्थानीय होटलको पौडी पोखरीमा प्रतियोगिता गर्न बाध्य हुनु पर्यो । त्यसले गर्दा राखेपले खप्की खानु परेको अवस्थालाई नेतृत्वले मनन् गरेको हुनुपर्छ ।
राखेपले फुटबलको दुवै सेमिफाइनल मंगलबार आयोजना गर्यो भने आज फाइनल नेपालगन्ज रंगशालामा गर्दै आठौं सम्पन्न गर्ने लक्ष्य राखेको छ । पौडी पोखरीमा एउटा मात्र भएपनि प्रतियोगिता गरेर पौडी पोखरी सम्पन्न भएको सन्देश दिन प्रयास पनि भइरहेको छ । त्यसका लागि तीब्रगतिमा काम अघि बढेको पनि छ । यद्दपी आलोचनाका लागि थुपै ठाउँ छन् । आठौंकै लागि सरकारले एक अरब रुपैयाँ भन्दा बढीको भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा रहेको छ ।
कतिपय आलोचना आफ्ना ठाउँमा जायज पनि छन् । तर, आठौंका लागि भौतिक पूवार्धार निर्माण सुरु हुनु सानो विषय होइन भन्छन् प्रदेश ५ खेलकुद परिषद्का संयोजक भीम ओलीको भनाइ छ । ‘हामीले सबै निर्माण सम्पन्न गर्ने योजनाका साथ काम गरेका हौं,’ उनले भने, ‘तर सबै काम साेंचे जसरी बढेन । यद्दपी हामीले रात दिन नभनी काम गरायौं । दुई वर्षअघि देखि हामी लगातार काममा खटिएका छौं । यदि त्यसरी नलागेको भए यत्ति पनि हुने थिएन ।’ ‘आठौं हुनेमै धेरैलाई शंका थियो । हामी त्यो चिर्नका लगातार प्रयासमा रह्यौे,’ ओलीले भने, ‘यो बीचमा सकारात्मक वा नकारात्मक सबै खाले टिप्पणीको हामीले अनुभव गरेका छौैं । तर, ती सबै टिप्पणीले हामीलाई उर्जा दियो । हामी निराश भएनौं ।’ चौथो राष्ट्रिय खेलकुद (२०५४) भएको २२ वर्ष प्रदेश नं ५ ले आठौं आयोजनाको अवसर पाउनुले यो क्षेत्रको खेलकुदलाई पुर्नजीवन दिन महत्वपूर्ण घटनाक्रम हुन सक्ने संयोजक ओलीको विश्वास छ । पूर्ण रुपमा काम सम्पन्न भएर अहिले सम्म राष्ट्रिय खेलकुद हुन नसकेको स्मरण ओलीको छ । यसपटक विगतमा भन्दा फरक र तुलानात्मक रुपमा अरुभन्दा भव्य भएको धेरैको टिप्पणी छ ।

आठौंका लागि नेपालगन्ज रंगशाला पूनर्निर्माण देखि शुटिङ रेन्ज, पौडी पोखरी निर्माण, भारोत्तोलन एकेडेमी, कभर्ड हल मर्मतका लागि करोडौं खर्च भएको छ । त्यस्तैै कारकादोमा जुडो हल, कोहलपुरमा क्रिकेट रंगशाला, बेलझुन्डी रंगशालाको स्तर उन्नतीका साथै सेन्थेटिक ट्रयाक ओछ्याउने काम भएको छ । त्यस्तै दाङको घोराहीमा बास्केबल कोर्ट, तुल्सीपुरमा कभर्ड हल, लमहीमा क्रिकेट मैदानको स्तर उन्नती, बर्दियाका कभर्ड हल, भरी गाँउमा खोखो, गुलरिया सेपाताक्रो हल निर्माण भएको छ । बर्दियाकैे गुलरियामा एथलेटिक्स क्ले कोर्ट रुपन्देहीमा लनटेनिस कोर्ट र कपिलबस्तुमा कुस्ती मैदान तयार पारिएको थियो ।
२०७५ चैत २७ गते देखि विभिन्न खेल सुरु भएको आठौंको औपचारिक उद्घाटन भने २०७६ को वैशाख ५ गते भएको थियो । आज वैशाख ११ गते समापन हुँदासम्म राष्ट्रिय खेलकुद इतिहासमंै पहिलो पटक झन्डै २ साता लागेर वृहत राष्ट्रिय खेलकुद हुँदैछ । प्रदेशका विभिन्न जिल्लामा भौतिक पूर्वाधार निर्माण हुने भएकोले सबै खेलाडीलाई उद्घाटनमा सामेल गराउन सम्भव नभएको ओलीले बताए । ‘हामी चाहन्थ्यौं सबै खेलाडीको उपस्थिति रहोस् । तर हामीले चाहेर मात्र त्यो सम्भव थिएन’, उनले थप्छन्, ‘विगतमा पनि त्यस्तो भएको छ । तर आउने दिनमा एउटै शहरमा सबै खेलका भौतिक पूर्वाधार निर्माण आयोजना गर्न सकेको खण्डमा उद्घाटन समापनमा सबैलाई सहभागि गराउन सकिएला । तर अहिले त्यो सम्भव छैन ।’
बृहत खेलकुद आयोजनाका लागि नीति र नियतले अप्ठेरो महसुस गरेको ओलीको भनाइ छ । ‘कतिपय नीतिगत समस्या पनि रहेछन् । र कति पय नियतको समस्या पनि देखियो,’ उनले भने, ‘तर हामीले मैदानमा बसेर काम छाडेनौं । राखेप सदस्य सचिव केशव कुमार विष्टको निरन्तरको कमाण्ड र समन्वयको महत्वपूर्ण भूमिका निर्वाह गरेकाले अहिले आठौं सम्भव भएको हो ।’
चौथो वर्षे कार्यकाल सकिने क्रममा रहेका ओलीले आउने दिनमा अहिले बनेका भौतिक पूर्वाधार संरक्षण मुख्य चुनौतीको रुपमा रहेको स्वीकार गरेका छन् । उनले नयाँ संरचनाले दीर्घकालीन प्रभाव खेलकुद गतिविधिमा बृद्धि र नयाँ खेलाडी उत्पादन गर्न सकेमा आठौं आयोजनाको विस्तविक रुपमा सार्थकता हुने बताएका छन् ।
तुलनात्मक रुपमा सातौं भन्दा आठौं राष्ट्रिय खेलकुद भव्य रुपमा आयोजना गरेको जस पाउने सम्भावना बोकेको प्रदेश ५ का लागि अबको चुनौति भनेको तीन संरचनाको प्रयोग र संरक्षण नै हो । भौतिक पूर्वाधार निर्माणलाई विकेन्द्रित गर्दै जाने उद्देश्य बोकेको राष्ट्रिय खेलकुद आयोजनाको मर्म त्यति बेला सार्थक हुन्छ जति बेला यी निर्माण भएका संरचनाका कारण यो प्रदेशमा खेल संस्कारको विकास र खेलाडी उत्पादनमा टेवा पुग्नेछ । नेपालगन्जको हकमा एउटा सुखद पक्ष भनेको स्थानीय सरकार नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो क्षेत्र भित्र बनेका संरचनाको संरक्षणका लागि सहकार्य गर्न तयार रहेको सन्देश दिएको छ ।
उपमहानगरका मेयर धवलशम्सेर राणाले नेपालगन्जलाई खेलाडीको सहरका रुपमा परिचित गराउनेका लागि आफुहरु काम गर्न उत्साहित रहेको आठौंकै क्रममा बताएका छन् । उनले खेल मैत्री वातावरण तयार गर्न, खेलाडीलाई प्रोत्साहन, खेलाडी उत्पादन र प्रतियोगिता आयोजनाका लागि आफुहरु सक्रिय रुपमा लाग्ने वचन दिएका छन् । उनको भनाइलाई आधार मान्ने र सहकार्य सम्भव भएमा आउने केही वर्षमा नेपालगन्ज र प्रदेश ५ को खेलकुदमा सकारात्मक परिवर्तनको आशा गर्न सकिन्छ । यद्दपी, प्रतिबद्धता अनुसारको काम हुन नसक्ने हाम्रो जस्तो परिपाटी रहेको समाजमा सबै भनाइलाई विश्वास गरि हाल्ने अवस्था भने छैन, त्यसका लागि केही वर्ष भने कुर्नुपर्ने हुन्छ । (हाम्रो खेलकुद अनलाइनका सम्पादक तिमल्सिना नेपाल खेलकुद पत्रकार मञ्चका निवर्तमान महासचिव हुन्)

