आइतबार जिल्ला अदालत बाँकेबाट साधा तारेखमा छुटेका दान बहादुर फडेरलाई प्रहरीले मंगलबार जिल्ला प्रशासन बाँकेको हाता भित्रैबाट पुनः पक्राउ गरेको छ ।
आइतबार पुनः पक्राउको आशंकामा राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय नेपालगन्ज पुगेका फडेरा माथि प्रहरीले निगरानी गरिरहेको थियो । फडेरा आइतबार र सोमबार आयोगको कार्यालयबाट बाहिर निस्केनन् । त्यसक्रममा साधा तथा पोशाकका प्रहरीले आयोग कार्यालयमा निगरानी मात्रै गरेनन् इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रमुख, रमेश बहादुर सिंहले आयोग कर्मचारीलाई अनावश्यक दबाब समेत सिर्जना गरे ।
घटनालाई लिएर राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय कार्यालयले डिएसपी सिंहलाई कारवाहीको सिफारिस समेत गरिसकेको छ भने नेपालगन्ज स्थित मानवअधिकारकर्मीहरुको भेलाले प्रहरी व्यवहारको आलोचना गर्यो ।
दुई दिन आयोगमै बसेका फडेरालाई मंगलबार दिउँसो आयोग शाखा कार्यालय नेपालगन्जले मानवअधिकारकर्मी, पत्रकारको रोहवरमा जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझायो । प्रशासनले फडेरालाई उनको परिवारलाई जिम्मा लगायो ।
मानवअधिकारकर्मीसँग फडेरा जिल्ला प्रशासन पुग्दा प्रशासनको हाता भित्रै इलाका प्रहरी कार्यालयको गाडी फडेरालाई पक्राउ गर्न तम्तयार अवस्थामा थियो । फडेरा प्रशासनको सिढी झर्दै गर्दा इप्रका कोहलपुरले फडेरालाई पुनः पक्राउ गरेको छ । सम्बद्ध स्रोतका अनुसार, कैलाली जिल्ला अदालतबाट फडेरा पक्राउका लागि पूर्जी जारी भएको भनिएको छ । तर, दर्जन बढी मानवअधिकारकर्मीका अगाडि फडेरालाई पुनः पक्राउ गर्दा प्रहरीले कसैलाई पूर्जी भने देखाएन । फडेरा विप्लव नेतृत्वको नेकपाका नेता हुन् ।