नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन साढे १२ अर्बको लगानी प्रस्ताव

नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरका जेट विमान उडान भर्ने गरी स्तर वृद्धि गर्न गुरुयोजना (माष्टरप्लान) तयार भएको छ । नागरिक उड्डयन प्राधिकरणले साढे १२ अर्ब लगानी प्रस्ताव सहितको माष्टरप्लान सोमबार नेपालगन्जमा सार्वजनिक गरिएको हो ।


५८ बर्षअघि सञ्चालनमा आएको नेपालगन्ज विमानस्थलको कायापलट हुनेगरी पहिलो पटक यति ठूलो लगानीको प्रस्ताव सहित गुरुयोजना तयार गरिएको हो । आगामी २० बर्षमा नेपालगन्ज विमानस्थलको स्वरुप कस्तो हुन्छ भन्ने कुराको बिस्तृत योजना सहित तयार गरिएको गुरुयोजनामा अनुसार काम अगाडि बढाउन सके विश्वका स्तरीय अन्तर्राष्ट्रिय विमानस्थलको दाँजोमा नेपालगन्ज विमानस्थल पुग्नेछ ।


प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम, उपमहानिर्देशक राजन पोखरेल, निर्देशक प्रदिप अधिकारी सहितका उच्च अधिकारीहरु बीच परामर्शदाता कम्पनी रियल पाथ इन्जिनियरिङ्ग कन्सल्टेन्सीका गुरुदत्त अधिकारीले माष्टरप्लान प्रस्तुत गरेका हुन् ।


माष्टरप्लानले चार चरणको लगानी प्रस्ताव गरेको छ । ‘पहिलो चरणको काम सुरु भैसकेको छ’, प्रस्तुतिका क्रममा प्राधिकरणका महानिर्देशक गौतमले भने, ‘डिपिआर स्वीकृत भैसकेपछि यसका आधारमा अब बन्ने सबै संरचनाहरु एकीकृत ढंगबाट अगाडि बढ्नेछ ।’ पहिलो चरणमा दुई बर्षभित्र काम सक्ने गरी एक अर्ब २० करोड लगानीको पूर्वाधार निर्माण गरिनेछ ।
डिपिआरले दोस्रो चरणका लागि सन् २०२५ भित्र थप दुई अर्ब ८ करोड लगानीमा विमानस्थल बिस्तारदेखि पूर्वाधार निर्माणसम्मका योजना समेटेको छ । ‘अन्तर्राष्ट्रिय स्तरको विमानस्थलका लागि डिपिआर अनुसार नै काम अगाडि बढाउँदा लामो समय सम्पूर्ण उडानहरु बन्द गरेर काम गर्नुपर्ने हुनसक्छ’, महानिर्देशक गौतमले डिपिआर स्वीकृतिपछि सरकारसँग लगानी माग गरिने जानकारी दिंदै भने ।


तेस्रो र चौथो चरणको काम भने झण्डै २० बर्षको लक्ष्यलाई प्रक्षेपण गरिएको छ । ‘सन् २०४० सम्म सक्ने गरी काम हुनेछन्’, परामर्शदाता इन्जिनियर अधिकारीले सरोकारवाला उच्च अधिकारीहरु बीच आफ्नो प्रस्तुति दिंदै भने, ‘थर्ड फेजको कामले नेपालगन्ज विमानस्थल अन्तर्राष्ट्रिय स्तरको बनेको देखिनेछ ।’ अधिकारीहरुका अनुसार, थर्ड फेजमा मात्रै सात अर्ब ४० करोड खर्च हुने अनुमान छ ।


नयाँ योजना अनुसार, नेपालगन्ज विमानस्थलको रनवे ३सी क्याटोगरी अर्थात् १ हजार ५ सय २४ मिटरबाट वृद्धि गरी फोर सी क्याटेगरीमा २ हजार ४ सय ४५ मिटर लामो रनवे बनाइनेछ । त्यसो गर्दा एयर बस ३२० एनइओ मोडेलका ठूलो जेट विमानहरु सहजै उडान भर्न सक्ने विमानस्थल तयार हुनेछ ।


दैनिक ४० वटा सरदर उडान हुँदै आएको नेपालगन्ज विमानस्थलमा झण्डै १ हजार १ सय यात्रुले दैनिक सुविधा लिंदै आएका छन् । राजधानी काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको सबैभन्दा व्यस्त नेपालगन्ज विमानस्थल नयाँ माष्टर प्लान अनुसार, अगाडि बढाउँदा १ सय विगाह जग्गा थप आवश्यक पर्नेछ । हाल १ सय ६६ विगाह क्षेत्रफलमा अवस्थित नेपालगन्ज विमानस्थल १ सय विगाह जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तर्राष्ट्रिय विमान स्थलका लागि जग्गा पर्याप्त हुने सम्बद्ध अधिकारीले बताए ।

‘जग्गा अधिग्रहणका लागि यसैबर्षदेखि काम सुरु गर्न सरकारसँग अनुरोध गर्नेछौं’, प्राधिकरणका निर्देशक प्रदिप अधिकारीले कार्यक्रममा भने । उनले छलफलमा सहभागी नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणासँग विमान स्थलको निश्चित दायरामा अग्ला भवन निर्माण कार्य तत्काल रोक्न पनि ध्यानाकर्षण गराए ।

बिस्तार कार्य सुरु
विमानस्थलको गुरुयोजना अनुसार, काम अगाडि बढाउन ठूलो आर्थिक भार रहेपनि प्राधिकरणले आफ्नै लगानीमा पहिलो चरणको बिस्तार कार्य भने अगाडि बढाइसकेको छ । ‘रनवे २ सय मिटर बिस्तार कार्य आगामी आर्थिक बर्षबाट काम अगाडि बढ्छ’, विमान स्थल परिसरमा विभिन्न निर्माण कार्य अडाडि बढिसकेको जानकारी दिंदै नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले भने, ‘प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका लागि अत्यन्तै महत्वको एयरपोर्ट हो ।’ उनले गुरुयोजना अनुसार निर्माण कार्य अगाडि बढे बिस्तारै विमानस्थलले काँचुली फेर्ने जानकारी दिंदै भने, ‘यो बर्षदेखि नै नेपालगन्ज विमानस्थल एक कदम अगाडि बढिसक्यो ।’

प्रतिक्रिया

प्रतिक्रिया