नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरुसँग नेपालगन्ज–दिल्ली उडानको गम्भीर चासो व्यक्त गरेका छन् ।
‘अर्बौ लगानीका ठूला कुरा पछि गरौंला नेपालगन्ज देखि दिल्ली उडान के कुराले रोकिरहेको छ ?’ नेपालगन्ज विमानस्थलको माष्टर प्लान सार्वजनिक गर्न आइपुगेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई मञ्चमै सम्बोधन गर्दै नगर प्रमख डा. राणाले भने, ‘नेपालगन्जको गेम चेन्जर प्रोजेक्टका लागि तपाईहरुले सहयोग गर्नु पर्यो ।’
नगर प्रमुख डा. राणाले नेपालगन्ज विमान स्थलको ४५ विगाह जग्गा माग गर्दै अन्तर्राष्ट्रिय गल्फ कोर्टका लागि आफुले गरेको प्रस्ताव उपर महानिर्देशक गौतमको ध्यानाकर्षण पनि गराए । त्यसबीच नेपालगन्ज दिल्ली उडानलाई लिएर तमाम अन्तरक्रियात्मक बहस पनि गरिए । महानिर्देशक गौतमले नेपालगन्ज दिल्ली उडानका लागि रुटको समस्या समाधान भएको खुलासा गरे ।
‘कञ्चनपुरदेखि नेपालगन्जका लागि रुट दिने कुरामा भारत सैद्धान्तिक रुपमा सहमत भैसकेको छ’, प्राधिकरणका महानिर्देशक गौतमले कम उचाईका उडान १६ हजारदेखि २४ हजार फिटसम्मका उडान नेपालगन्ज–दिल्लीका लागि बाटो खुलेको खुलासा गर्दै भने, ‘रुटको विषय अब गाह्रो रहेन ।’ दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा साना जहाजहरुका लागि उडान र अवतरणको समय, स्लट नमिल्दा स्वीकृतिमा समस्या भएको जानकारी आफुले पाएको गौतमले बताए ।
‘स्लटको अभावले नेपालगन्ज–दिल्ली उडानको हाम्रो योजना रोकिएको हो’, कार्यक्रममा रहेका बुद्ध एयरका क्षेत्रीय प्रमुख विनित शाहले भने । नगर प्रमुख डा. राणाले श्रीएयर लाइन्सले दिल्ली उडानका लागि चासो देखाएको जानकारी दिंदै सरकारले स्वीकृति दिएमा छिट्टै नेपालगन्जबाट दिल्लीका लागि उडान सुरु हुने सम्भावना औंल्याउँदै भने, ‘आवश्यक पूर्वाधारहरु तपाईहरु बनाइ दिनुस् ।’