नेपालगन्जमा ‘फुड फेष्टिबल’ गरिने

नेपालगन्जमा फुड फेष्टिबलको आयोजना गरिने भएको छ । होटल व्यवसायीहरुको छाता संगठन, होटल व्यवसायी संघ नेपालगन्ज बाँके, मदिरा व्यवसायी संघ बाँके र नेपालगन्ज वितरक संघले पहिलो पटक संयुक्त रुपमा फुड फेष्टिबल आयोजना गर्ने भएका हुन् ।


‘आगामी कार्तिकको पहिलो साता भव्य ढंगले फुड फेष्टिबल आयोजना गर्ने निर्णय गरेका छौं’, होटल व्यवसायी संघका अध्यक्ष भीम लाल कंडेलले शनिबार नै संयुक्त बैठक बसी तयारी समिति गठन गरिएको जानकारी भने, ‘नेपालगन्जका लागि यो एउटा ऐतिहासिक इभेन्ट हुनेछ ।’
नेपालगन्जलाई उत्सवको सहरका रुपमा विकसित गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई नियमित आमन्त्रणको वातावरण बनाउन सम्बद्ध व्यवसायीहरु एक ठाउँमा आएको होटल व्यवसायी संघको भनाइ छ । ‘दर्जन बढी तारे होटल र सयौं स्तरीय होटलहरु रहेको नेपालगन्जमा पाहुना भित्र्याउन नियमित इभेन्टहरु भै राख्नुपर्छ’, होटल व्यवसायी संघ नेपालगन्जको भवनमा शनिबार भएको बैठकबारे जानकारी दिंदै अध्यक्ष कंडेलले भने, ‘मदिरा व्यवसायी संघ र नेपालगन्ज वितरक संघ सँगको साझेदारीमा संयुक्त रुपमा अगाडि बढ्न खोजिएको छ ।’ नेपालगन्ज वितरक संघले गतबर्ष दशैंमा सस्तो बजार सञ्चालन गरी इभेन्टको सफल आयोजना गरिसकेको छ ।


फुड फेष्टिबललाई भव्यता दिन अहिलेदेखि तयारी थालिएको मूल आयोजक समितिका संयोजक समेत रहेका होटल व्यवसायी संघका अध्यक्ष कंडेलले जानकारी दिए । कंडेलको संयोजकत्वमा ७ सदस्यीय कार्यान्वयन समिति गठन गरिएको छ ।


समितिको सदस्यहरुमा अमित बस्नेत, राजेश श्रेष्ठ, राम बहादुर लिम्बु, रंग बहादुर खड्का, मिम बहादुर सिंह, हरिलाल न्यौपाने रहेका छन् । ‘कार्तिक १ देखि ३ गतेसम्मका लागि मिति प्रस्ताव गरेका छौं’, संयोजक कंडेलले होटल व्यवसायी महासंघ प्रदेश ५ का अध्यक्ष भाष्कर काफ्ले र नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व महासचिव विष्णु लामिछानेलाई आयोजक मूल समितिको सल्लाहकार चयन गरिएको जानकारी दिंदै भने ।

प्रतिक्रिया

प्रतिक्रिया