राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहबाटै खेलकुदको विकासका लागि पहल हुनुपर्ने बताएकी छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहीबार नेपालगन्जमा भव्य समारोह बीच समुद्घाटन गर्दै राष्ट्रपति भण्डारीले खेलकुदको विकास र खेलाडीहरुको आवश्यकता पूरा गर्न स्थानीय तहदेखि नै विशेष गर्नुपर्ने बताइन् ।
‘राज्यले आफ्नो सीमित स्रोतसाधनका बाबजुद खेलकूदको विकासमा गरेको लगानीका कारण नेपाली खेलाडीमा प्रेरणा प्राप्त हुँदै प्रतिस्पर्धात्मक क्षमता बढेको महसुस गरेको छु’, राष्ट्रपति भण्डारीले भनिन्, ‘खेलाडीको वृत्तिविकासमा यथोचित ध्यान पु¥याउँदै खेलाडीको साथमा सधैँ राज्य छ भन्ने भावना अझ जागृत गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।’
सधैँ राष्ट्रिय झण्डा फहराएर देशको गौरव उँचो पार्न सक्षम खेलाडीले शिक्षा आर्जनमा समेत ध्यान पु¥याउनुपर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले खेलकूदको जगका रुपमा रहेको विद्यालय तहदेखि नै खेलकूदमा विद्यार्थीको सहभागिता बढाएर देशलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन लाग्नुपर्नेमा जोड दिइन् । ‘खेल क्षेत्रका नीति निर्माता र व्यवस्थापक खेलकूदको विकासमा केन्द्रित बन्नुपर्दछ’, उनले भनिन् । ठूलो लगानीसहित नेपालगञ्जले राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्ने दोस्रो पटक अवसर पाएकाले यस क्षेत्रमा खेलकूदको पूर्वाधार विकास गर्न मद्दत पुगेको राष्ट्रपति भण्डारीले बताइन् ।
‘सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प साकार पार्न खेलकूद क्षेत्रले मद्दत पु¥याउँछ भन्ने महसुस गरेको छु’, राष्ट्रपति भण्डारीले भनिन्, ‘यसबाट नागरिकको स्वास्थ्य तथा खेल पर्यटन र आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको छु ।’ खेलकूद प्रतियोगिता निर्धारित मितिमै आयोजना भएकामा खुशी व्यक्त गर्दै उनले केही वर्षदेखि नेपाली खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा हासिल गरेका उपलब्धि उत्साहप्रद रहेको उल्लेख गरिन् ।