आज आठौंको उद्घाटन, यस्तो छ तयारी

आज बिहीबार आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक शुभारम्भ गरिंदैछ । राष्ट्रपति विद्यादेवि भण्डारीले आज साँझ नेपालगन्ज रंगशालामा भव्य समारोह बीच आठौंको समुद्घाटन गर्ने आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले जानकारी दिए ।
बुधबार साँझ पत्रकार सम्मेलन गरी आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिंदै सदस्य सचिव विष्टले उद्घाटन समारोहलाई इतिहासकै सबैभन्दा भव्य र ऐतिहासिक बनाउने उद्घोष गरे । गत चैत २७ गतेदेखि नै कतिपय खेलहरु सञ्चालनमा छन् । सदस्य सचिव विष्टका अनुसार, बुधबार साँझसम्म ११ खेल सम्पन्न भैसकेका छन् भने १६ खेल प्रदेश ५ का विभिन्न स्थलहरु भैरहेका छन् ।


नेपालगन्ज रङ्गशालाका लागि रु २४ करोड बजेट उपलब्ध गराएको छ । रु ६ करोडको लागतमा फुटबल मैदान तथा रु १८ करोडमा भिआइपी प्याराफिट निर्माण गरिएको छ । सदस्यसचिव विष्टका अनुसार नेपालगन्ज रङ्गशालामा खेल्नयोग्य मैदानका लागि रु ३६ लाखको दुबो रोपिएको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगन्जलाई आकर्षक तरिकाले सिङ्गारिएको छ ।


‘प्रत्येक दुई बर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुदको निरन्तरता गर्ने हाम्रो दृढ संकल्प पूरा भएको छ’, सदस्य सचिव विष्टले पत्रकारहरुका तमाम प्रश्नको सामना गर्दै भने, ‘अहिलेसम्मकै बढी पूर्वाधारमा लगानी गरेर सबै भन्दा धेरै खेलाडी, अफिसियलको सहभागितामा राष्ट्रिय खेलकुद प्रतियोगिता भैरहेको छ ।’ उनले अझै पनि ११ करोड बजेट अपुग रहेको औंल्याउँदै भने, ‘राष्ट्रहित र खेलाडीको भविष्यका लागि गरिएको दृढ संकल्प पूरा गर्न बाँकी बक्यौताबाटै पनि आयोजनालाई भव्यता दिन लागि परेका छौं ।’ सदस्यसचिव विष्टका अनुसार, आठौंका लागि करीब रु एक अर्ब लगानीमा भौतिक पूर्वाधार निर्माण गरिएको छ । उनले प्रतियोगितामा पुरुषतर्फ दुई हजार ८२५ तथा महिलातर्फ दुई हजार ३८६ खेलाडी सहभागी हुँदैछन् ।

प्रतियोगितामा पहिलो पटक गैरनेपाली आवासीय सङ्घ (एनआरएन)को समेत सहभागिता छ ।
प्रतियोगितामा व्यक्तिगत स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई जनही रु १५ हजार पुरस्कार र विगतको रेकर्ड तोड्ने खेलाडीलाई जनही रु २५ हजार पुरस्कार प्रदान गर्ने घोषणा राखेपले गरेको छ । यसअघि प्रतियोगिताका क्रममा मात्रै दुर्घटना बीमा गरिंदै आएकोमा परिषद्ले आगामी बजेटमा राष्ट्रिय खेलकुदमा सहभागी सबै खेलाडीको सधैंका लागि स्वास्थ्य र दुर्घटना बीमा गर्नका लागि सरकारसँग माग गरिएको बताए ।


नेपालगन्ज उपमहानगरपालिका, नेपालगन्ज उद्योग वाणिज्य सङ्घ र लायन्स क्लबले आठौँ राष्ट्रिय खेलकुदलाई गौरवको महोत्सवका रुपमा लिएर सहरलाई झकिझकाउ बनाएका खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम ओलीले जानकारी दिए । अध्यक्ष ओलीका अनुसार, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्ष्य गरी नेपालगन्ज उपमहानगरपालिकाले नगर क्षेत्रका जीर्ण सडक मर्मत गरेको छ । नेपालगन्ज रङ्गशाला प्रवेश गर्ने मूल तथा सहायक सडक मर्मत तथा कालोपत्र गरिएको छ । प्रतियोगिता नेपालगन्जसहित बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, काठमाडाँै, ललितपुर र पोखरामा हुनेछन् ।


यसैबीच, नेपालगन्ज उद्योग वाणिज्य संघले बुधबार सार्वजनिक सूचना जारी गरी उद्योगी, व्यवसायीहरुलाई आठौंका लागि नेपालगन्ज आउने सबैको आतिथ्यताका लागि आव्हान गरेको छ । ‘स्वागत ब्यानरदेखि आतिथ्यपूर्ण व्यवहार गर्न माइकिङ्ग गरेका छौं’, संघका अध्यक्ष नन्दलाल वैश्यले दैनिक नेपालगन्जसँग भने, ‘सहुलियत दरमा सेवा उपलब्ध गराउन पनि आग्रह गरेको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया