निशु जोशी
तपाईं आठौं राष्ट्रिय खेलकूदका लागि नेपालगन्ज आइपुग्नु भएको छ भने एउटा ऐतिहासिक शहरमा पुग्नु भएको छ । यो शहर भित्रका अरु विशेषता त गौरवपूर्ण छन् ।
उसो त नेपालगन्ज नाम नै गौरवपूर्ण रहेको यहाँका स्थानीयहरु बताउँछन् । नेपालगन्जका स्थानीय कैलाश कुमार माधवदासका अनुसार, देशको नामबाट नेपालगन्ज शहरको नाम रहेकाले यसको छुट्टै महत्व छ । नेपाल नाम आफैमा एउटा ऐतिहासीक र संसारमै नमुना रहेको बताउँदै उनले भने ‘अमेरीकामा अमेरीका स्टेट, भारतमा भारत नगर छैन । त्यसैले नेपालगन्ज देशको नामसंग जोडिएको शहर भएकाले आफैंमा एउटा इतिहास र दुर्लभ छ ।’ उनको तर्क कतिलाई मन पर्ला कतिलाई नपर्ला तर यो शहर इतिहास बोकेको नेपालकै पुरानो शहर हो । यस शहरभित्र थुप्रै कथा छन् । ती कथाका मीठा नमीठा भोगाइ छन् । जसमध्ये केहि मिठा भोगाईका कथाभित्र छनोटमा परेका केहि चोकका रोचक कथाहरु छन् ।
त्रिभुवन चोक
नेपालगन्जमा आउनेबित्तिकै सबैले धेरै सुन्ने नाम हो त्रिभुवनचोक । नेपालगन्जको मुटुका रुपमा त्रिभुवनचोकलाई लिने गरिएको छ । यो यहाँको ऐतिहासिक शहर हो । स्थानीय विजय वर्माका अनुसार यो चोक २ सय वर्ष पुरानो चोक हो । पहिले नेपालगन्ज भन्नेवित्तिकै यो चोकलाई मात्र बुझ्ने गरिन्थ्यो । यो चोक यति लोकप्रिय हुनुको कारण यो चोक शिक्षाको सुरुवात भएको चोक हो । करीब ४ दशक अघि चोकको आसपासमा विद्यालय स्थापना गरीएका थिए ।
ती सबै विद्यालयका विद्यार्थीहरु जमघट हुने चाट, पानीपुरी खाने थलो बनेको थियो । साँझ अबेरसम्म युवायुवतीहरु त्यहाँका परीकार खाने, घुम्ने, भेटघाट गर्ने भएकाले सामाजिक सद्भाव कायम गरेकाले यो चोकको अर्को महत्व छ । अझ पहिले पहिले ठुला ठुला कराइहरुमा घिउ तताउने गरिएकाले यसको अर्को ऐतिहासिक महत्व छ । पहाडी जिल्लाहरुबाट संकलन गरी ल्याएको घिउ तताउनका लागी दिनभर कालिगडहरु खटिन्थे । चोक घिउको वास्नाले छपक्क ढाक्ने गरेको थियो । दिनभर तताएर तयार पारिएको अगार्नीक बास्नादार घिउ नेपालगन्जबाट भारततर्फ निर्यात गर्ने गरिएको थियो । त्यसैले नेपालगन्जलाई भारतीय नागरिकहरुले घिउको शहरका रुपमा अर्को नाम दिएका छन् । तर आजभोली भारतबाटे घिउ नेपालगन्ज भित्राउने गरिएको छ । ती पुराना कराई लगायतका भाडामा होलीको समयमा रंग पन्याएर पौडी खेल्दै रमाइलो गर्ने गरिएको अर्को कहानी बुढापाकाहरु बताउँछन् । ती भाडाहरु त्यति ठुला थिए जबकी मानिसहरुले होलीको समयमा रंग खेल्नका लागी समेत प्रयोग गरेका थिए ।
एक्लैनी बजार
एक्लैनी बजार पनि यहाँको ऐतिहासिक बजार हो । साविकको मध्य र सुदुरपश्चिमबाट आएकाहरु यो वजारमा करीब ३ महिनासम्म बास बस्ने गरेका थिए । उनिहरुले पालेका भेडाबाख्राको उन, सीमी, दाल तरकारी लिएर नेपालगन्ज आउने र यहाँबाट लत्ताकपडा नुन लैजाने गरेका थिए । त्यतिबेला नेपालगन्जमा एक्लैनी मात्र बजार थियो । सवै सामान त्यहाँ मात्र पाउथ्यो । त्यसैले पहाडबाट आएकाहरु यहाँ बसुन्जेल आफैे खाना बनाएर खाने गर्थे । उनीहरुले सल्यानी बंगला र दैलेखी बंगलामा बस्ने गरेकाले उनीहरुका नामबाट नै त्यो ठाँउको नाम रहन गएको केहि व्यक्तिहरु बताउँछन् ।
धम्वोझी चोक
विरेन्द्र चोकका नामबाट पनि परिचित नेपालगन्जको मुख्य केन्द्रविन्दुमा भएको धम्बोझी चोकको परिचय अहिले बदलिएको छ । डेढ दशकअधि पनि धम्बोझी खाल्टैेखाल्डा भएको चोकका रुपमा परिचित थियो । भनिन्छ त्यहाँ यति ठुला खाल्डाहरु थिए कि यो रोडमा चलने टांगाका गधाहरु खसेपछि बाहिर निस्कन सक्थेनन् । पहिले गाडीहरुको व्यवस्था नहुदा यातायातका साधनका रुपमा अत्याधिक टांगा चल्ने गरेका थिए । कोहलपुरदेखि सीमानाका जमुनाहसम्म टांगाहरुमा नै ओहोरदोहोर गरिन्थ्यो । अहिले गाडीहरुको व्यवस्था भएसंगैे टांगाहरु कम मात्रामा देखिन थालेका छन् । अर्को रोचक कुरा धम्वोझी पहिले धानमण्डीका रुपमा रहेको थियो । बाँके र वर्दियाका विभिन्न ठाँउमा उतपादन गरिएको धान यहि चोकमा किनबेच गर्ने गरिएको थियो । टांगाहरुमा गधा र घोडाले नै धान बोक्ने गरेकाले धम्वोझीचोक टांगाहरुले भरीभराउ हुन्थ्यो । त्यतिवेला टांगा, गधा र धानको तामझामले धम्बोझी चोकको रौनक नै बेग्लै थियो । तर अहिले धम्बोझीको त्यो परीचय बदलिइसकेको छ । त्यतिबेला त्यहाँ धेरै पसलहरु थिएनन् । (कुराकानीमा आधारित)