१६ बर्षदेखि सरकारले पिआरए नपठाउँदा भारत जडिबुटी निकासी ठप्प !

देबेन्द्र राज पौडेल

भारत सरकारले नयाँ नीति लागु गरेपछि नेपालगन्ज नाकाबाट भारत निकासी हुने जडिबुटी ठप्प भएको छ । भारत सरकारले क्वारेन्टाइन सम्बन्धी नयाँ नीति लागु गरी जारी गरेको सूचि नेपालगन्जबाट निकासी हुने २६ वटा जडिबुटी मात्र परेका छन् । त्यसमा उल्लेखित कतिपय जडिबुटीको वैज्ञानिक नाम फरक परेका कारण भारत निकासी हुन सकेको छैन ।


भारत सरकारको नीतिका कारण नेपालगन्ज नाकाबाट निकासी हुँदै आएका पषावेद, कुरिलो, आमला, पदमचाल, चिराइतो, मलवेद, अतिष, कालादाना र सिकाकाई लगायतका जडिबुटी गत मंसिरदेखि निकासी ठप्प छ ।


‘भारतीय क्वारेन्टाइन सम्बन्धी आदेश २००३ अनुसार अनुसूचि ७ मा सूचिकृत जडिबुटीहरु मात्र निर्यात गर्न पाइन्छ’, नेपाल जडिबुटी व्यवसायी संघले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जडिबुटी समस्या समाधान समितिका सदस्य टंक प्रसाद शर्माले भने, ‘नेपालबाट निकासी हुने अधिकांस जडिबुटी अनुसूचि ७ मा सूचिकृत छैनन्, भएका पनि वैज्ञानिक नाम फरक भएकाले निकासीमा समस्या भैरहेको छ ।’


भारतले सन् २००३ मा नै क्वारेन्टाइन सम्बन्धी कानुन ल्याएको थियो । तर, ड्राइ मेडिसिन हब्सको नाममा निर्यात भैरहेको थियो । ‘अहिले भारत सरकारले ड्राइ मेडिसिन हब्सलाई हटाइदियो’, जडिबुटी व्यवसायी रविन्द्र नाथ शुक्लले भने, ‘त्यसपछि निकासी बन्द हुन पुगेको हो ।’


जडिबुटी व्यवसायीको अनुरोधमा ६ महिना व्यवस्थापनका लागि समय दिएपनि नेपाल तर्फबाट ठोस पहल हुन सकेन । भारत सरकारले सन् २००३ मा जडिबुटीका सम्बन्धमा नयाँ ऐन ल्याएपछि नै नेपाल सरकारले जडिबुटी सूचिकृत गर्नका लागि प्रक्रिया पूरा गर्नु पथ्र्यो । ‘तर, १६ बर्ष सम्म सरकारले वेवास्ता गरेको परिणाम अहिले व्यवसायीहरुले भोग्नु परिरहेको छ’, शुक्लले भने ।


नेपालको प्लान्ट क्वारेन्टाइन जडिबुटीका सम्बन्धमा जिम्मेवार निकाय हो ।
‘नेपाली क्वारेन्टाइनले कुन कुन जडिबुटी कुन कुन रुपमा पठाउन खोजेको हो त्यसको डिटेल ( पेस्ट रिक्स एनलाइसिस–पिआरए) भारतीय क्वारेन्टाइनमा पठाउनु पर्ने हो’, पत्रकार सम्मेलनमा जडिबुटी समस्या समाधान समितिका सदस्य शर्माले भने, ‘निकासी बन्द भएपछि व्यवसायीहरुको अनुरोध सरकारले वेवास्ता गर्दै आएको छ ।’


भारतले सूचिकृत गरेका जडिबुटीमा पनि नामको समस्या रहेको छ । ‘नेपालबाट निकासी हुने टिमुर जन्थोजाइलम अरमेटम हो तर भारतले सूचिकृत गर्दा जन्थोजाइलम वन्जियानम उल्लेख गरेको छ’, व्यवसायी शुक्लले भने, ‘सूचिकृत भएका २६ जडिबुटी मध्ये धेरैको नाम फरक पर्दा निकासी गर्न सकिएको छैन ।’ उनले रिठा, तेजपत्ता, कुट्की जस्ता जडिबुटीको सूचिकृत नाम फरक पर्दा संकलन भएका जडिबुटी गोदाममै थन्क्याउन बाध्य भएको बताए ।


नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष मो. याकुव अन्सारी प्रदेश सभा सदस्य पनि हुन् । तर, जनप्रतिनिधि नै संघको अध्यक्ष हुँदा पनि व्यवसायीहरुको समस्याको गाँठो भने खुल्न सकेको छैन । ‘सम्बन्धित मन्त्रालयका मन्त्री, विभागीय प्रमुखलाई भेटेर समस्या राखेका छौं’, संघका अध्यक्ष अन्सारी भन्छन्, ‘आश्वासन आउँछ तर समाधान तर्फ काम भने अगाडि बढाइँदैन ।’ जडिबुटी व्यवसायीले ठूलो नोक्सान व्यहोर्नु परिरहेकाले संघ आन्दोलनमै उत्रनु पर्ने अवस्था आइपरेको अन्सारी बताउँछन् ।


संघले प्रधानमन्त्री केपी शर्मा ओली नेपालगन्ज आएका बेला मंगलबार यसबारे अवगत गराएको जानकारी दिएको छ । ‘जडिबुटी निर्यातको समस्याबारे हामीले प्रधानमन्त्रीज्यूलाई अवगत गराएका छौं’, अध्यक्ष अन्सारीले भने, ‘उहाँबाट सकारात्मक प्रतिक्रिया पाएका छौं, हेरौं के हुन्छ ।’


जडिबुटी समस्या समाधान समितिका संयोजक मो. युनुस हलवाईको आतिथ्यतामा भएको कार्यक्रममा जडिबुटी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

यस्तो छ निकासीको अवस्था
चालु आ.व.मा २७ लाख केजी मात्रै जडिबुटी निकासी


नेपालगन्ज नाकाबाट मात्रै भारत तर्फ बार्षिक लाखौं किलो जडिबुटी निकासी हुने गरेको छ । तर, भारत सरकारले क्यारेन्टाइन सम्बन्धी आदेशमा कडाई गरेपछि निकासी ठप्प प्राय भएको छ ।


आ.व. २०७०÷०७१ देखिको तथ्यांक हेर्ने हो भने नेपालबाट बार्षिक ४० लाख बढी जडिबुटी निकासी हुने गरेको देखिन्छ । तर, चालु आ.व.मा भारतको अवरोध पछि २७ लाख ५४ हजार २ सय किलो मात्रै जडिबुटी भारत तर्फ निकासी भएको छ ।


चालु आ.व. मंसिर पछि भने निकासी ठप्प नै रहेको जडिबुटी समस्या समाधान समितिका सदस्य शर्माले जानकारी दिए । ‘नेपालबाट ८६ किसिमका जडिबुटी भारत निकासी हुने गरेको थियो’, शर्माले भने, ‘तर भारतले गरेको सूचिकृतमा २६ वटा मात्रै जडिबुटी परेका छन् ।’
नेपालले जडिबुटी निकासीका लागि भारतमा पठाउनु पर्ने पिआरए रिपोर्ट नपठाउँदा निकासी रोकिएको हो ।


नेपालगन्ज नाकाबाट आ.व. २०७३÷०७४ मा ४० लाख ५० हजार ६ सय ४७ केजी जडिबुटी भारत तर्फ निकासी भएको छ । तर, आ.व. २०७४÷०७५ मा त्यो परिणाम घटेर २७ लाख ५४ हजार २ सयमा झरेको छ ।


त्यसअघि आ.व. २०७२/०७३ मा ४६ लाख ३८ हजार २ सय १५, आ.व. ०७१÷०७२ मा ४६ लाख ९ हजार २ सय ८७, आ.व. २०७०/७१ मा ४७ लाख ३५ हजार ६४ केजी जडिबुटी नेपालगन्ज नाकाबाट मात्रै निकासी भएको छ ।


जडिबुटीमा निकासीमा अवरोध आएपछि देशभर १० हजार मेट्रिक टन जडिबुटी थन्किएको जडिबुटी व्यवसायीहरु बताउँछन् । ‘नेपालगन्जमा मात्रै निर्यात गर्न ठिक्क पारिएको १ हजार ५ सय मेट्रिक टन जडिबुटी रोकिएको छ’, जडिबुटी समस्या समाधान समितिका सदस्य शर्माले भने, ‘यसले अर्बौ रुपैयाँ नोक्सानी ब्यहोर्नु परिरहेको छ ।’


सदस्य शर्माले जडिबुटी रोकिंदा व्यवसायी मात्रै नभई जडिबुटी व्यवसायसँग जोडिएकाहरुको रोजगारी खोसिने अवस्था आएको व्यवसायीहरुले बताएका छन् । ‘राज्यलाई राजश्व नोक्सानी भैरहेको, अर्बौ रुपैयाँ विदेश मुद्रा देश भित्र्याउने अवसर गुम्दैछ’, व्यवसायीहरु भन्छन्, ‘स्तरीय भण्डारण नरहेकाले संकलन गरिएका जडिबुटीको गुणस्तरमा समेत ह्रास आइरहेको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया