बाँके बनकटवाका जवाही लाल थारु झण्डै दुई साता देखि मालपोत कार्यालय बाँके धाइरहेका छन् । जग्गा पासका लागि मालपोत कार्यालय बाँके पुग्ने गरेका उनी काम नभएपछि निराश भएर फर्किने गरेका छन् । ‘भोलि÷पर्सी आउनुस् भनेर बोलाइन्छ तर काम हुँदैन’, सोमबार मालपोत कार्यालय बाँकेको कम्प्युटर फाँट बाहिरबाट कर्मचारी बस्ने खाली कुर्ची नियाल्दै गरेका उनले भने, ‘हैरानी व्यहोर्नु परिरहेको छ, सुनुवाई कसले गर्ने हो ।’
जवाही मात्रै होइन बाँके खजुरा गाउँपालिकाका नारद शर्मा पनि चैत्र २० गतेदेखि जग्गा नामसारीका लागि मातपोत धाउँदै आएका छन् । उनी सोमबार पनि मालपोत कार्यालय पुगे । तर, अबेरसम्म उनको काम भने हुन सकेको थिए । ‘घरको काम छोडेर आएका छौं, यहाँ कुर्दाकुर्दा हैरान भैसकेका छौं’, शर्माले भने, ‘काम भैहाल्छ भन्छन् तर भनेको दिन काम नसकी अर्को दिनको भाखा लिएर फर्कनु पर्छ ।’
महलाल ओली र शरद चौधरी पनि जग्गा पास गर्न मालपोत धाउन लागेको चार दिन भैसकेको छ । मालपोत कार्यालय परिसरमा दिक्क मान्दै बसिरहेका उनीहरुले भने, ‘अझै कतिदिन धाउनु पर्ने हो ।’ सुर्खेतका महलाल अन्य काम त परै जाओस् आउन जान र बस्न खानकै लागि बेकारमा थप पैसा खर्च गर्नुपरिरहेको बताउँछन् ।
उनीहरु त प्रतिनिधिमूलक पात्र मात्र हुन् । तत्काल वा केही दिनमा हुने कामका लागि हप्तौं मालपोत कार्यालय धाउने सेवाग्राहीको संख्या ठूलै छ । सेवाग्राही भन्छन्, ‘कहिले कर्मचारी छैन त कहिले सर्भर चलेको छैन भन्ने जवाफ आउँछ, कार्यालय प्रमुखसँग गुनासो गरे जनशक्ति अभाव भएको बताउँछन् ।’
सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा पास गरेको आरोपमा मालपोतका कर्मचारीहरुलाई गत चैत्र पहिलो साता प्रहरीले नियन्त्रणमा लिएपछि मालपोतमा जनशक्ति अभाव भएको हो । सेवाग्राहीको भीड लाग्ने मालपोतमा एक महिना बितिसक्दा पनि दरबन्दी अनुसारको जनशक्ति पूर्ति हुन सकेको छैन ।
मालपोत कार्यालयमा सेवा लिन पुग्नेहरु विजोग भएपछि कानुन व्यवसायी र मानवअधिकारकर्मीहरुको एउटा टोलीले सोमबार भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख प्रेम दौल्यालको ध्यानाकर्षण समेत गराएका छन् । उच्च अदालत बार इकाइ नेपालगन्जका अध्यक्ष विकास आचार्यले मालपोत कार्यालयका प्रमुखलाई तत्कालै आवश्यक जनशक्ति पूर्ति गरी सेवालाई सहज बनाउन आग्रह गरेका थिए । ‘सेवाग्राहीले धेरै दुःख व्यहोर्नु परिरहेको छ’, नेपाल बार एशोसिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष प्रल्हाद बहादुर कार्कीले आवश्यक कर्मचारी नभएको लामो समय हुँदा पनि जनशक्ति पूर्ति गर्न किन वेवास्ता गरिएको भन्ने प्रश्न गरेका थिए । अधिवक्ता लोक बहादुर शाहले सेवाग्राहीले सहज रुपमा सेवा लिन पाउने व्यवस्था गर्न आग्रह गरेका थिए ।
भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख प्रेम दौल्यालले पहिले नै दरबन्दी अनुसार जनशक्ति नभएको कार्यालयमा एकै पटक १० कर्मचारी प्रहरी नियन्त्रणमा पर्दा काममा असहजता भैरहेको बताए । ‘आवश्यकता अनुसारको जनशक्ति व्यवस्थापन गरिदिन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय बाँके सँग अनुरोध गरेका छौं’, उनले भने, ‘तर मालपोतमा काम गर्ने कर्मचारी अनुभवी हुनुपर्ने भएकाले दक्ष जनशक्ति पाउन सकेका छैनौं ।’
अहिले भूमि सुधार र मालपोत कार्यालय गाभिएका छन् । दुवै कार्यालयमा गरी ५१ जना कर्मचारीको दरबन्दी रहेको छ । तर, कर्मचारी समातिनु अघि नै दरबन्दी अनुसार कर्मचारी थिएनन् । प्रहरी कारवाही पनि थप १० कर्मचारी अनुपस्थित छन् । ‘२०/२१ जना कर्मचारीको भरमा सेवा दिनु परेको छ, एउटै कर्मचारीलाई मिलाएर विभिन्न फाँटको कामको जिम्मा लगाएका छौं’, कार्यालय प्रमुख दौल्यालले भने, ‘एकै जना कर्मचारीले धेरै जिम्मेवारी वहन गर्नुपर्दा काममा ढिलाई भैरहेको छ ।’ पाँच जना अधिकृतको दरबन्दी रहेपनि अहिले एक जना मात्र अधिकृतले भूमि सुधार तथा मालपोत कार्यालयमा काम गरिरहेका छन् ।
सेवाग्राहीले कर्मचारी छैनन् भनेर सरकारी कार्यालयले सेवामा ढिला सुस्ती गर्नु लापरवाही भएको बताए । ‘एक महिनासम्म कर्मचारीको व्यवस्थापन गर्न नसक्ने कार्यालयबाट कसरी चुस्त सेवा प्रवाह हुनसक्छ’, आक्रोशित सेवाग्राहीले भने, ‘आज लाइनमा शान्त उभिएका हामीलाई आन्दोलित हुन बाध्य बनाउने अवस्था सिर्जना मालपोतबाट भैरहेको छ ।’