निःशुल्क हेर्न पाइन्छ आठौं राष्ट्रिय खेलकुद, उद्घाटन र समापनमा पास अनिवार्य

प्रदेश ५ का विभिन्न जिल्लासँगै गण्डकीको पोखरा र राजधानी काठमाडौंमा यतिबेला आठौं राष्ट्रिय खेलकुद अन्तर्गतका विभिन्न प्रतिस्पर्धा भैरहेका छन् । मुख्य आयोजना स्थल नेपालगन्जमा मात्रै आज आइतबार विभिन्न तीन वटा खेलका राष्ट्रिय प्रतिस्पर्धा हुँदैछन् । मंगल मावि खेल मैदानमा हक्कीको रोमाञ्चक प्रतिस्पर्धा भैरहेको छ । नेपालगन्ज रंगशालाको कबर्ड हलमा फेन्सिङ खेल चल्दैछ । राजधानी काठमाडौं बाहिर पहिलो पटक भैरहेको फेन्सिङ्ग खेल बाँके बासीका लागि नौलो मात्रै होइन अत्यन्तै रोमाञ्चक पनि लाग्न सक्छ ।
खजुराको शुक्र मावि के गाउँ स्थित खेल मैदानमा देशभरीका हक्कीका महिला खेलाडी आफ्ना कौशल प्रदर्शन गरिरहेका छन् । ज्ञानोदय मावि खजुरा परिसरमा पुरुष बक्सिङ्गको घम्साघम्सी छ । आजै आइतबारबाट जुडो एकेडेमी कारकाँदोमा प्रतिस्पर्धा सुरु हुँदैछ । झण्डै दुई सय खेलाडी, अफिसियलहरुको जमघट बीच हुने जुडो प्रतियोगिताकै लागि कारकाँदोमा नयाँ जुडो हल निर्माण पनि यसैपटक भएको हो ।
खेलको महाकुम्भ नेपालगन्जमा भैरहँदा प्रतिस्पर्धा स्थलमा दर्शकको सहभागिता किन कम ? आयोजक भन्छन्, ‘कतिपयले आयोजनाको महत्व र विशेषता बारे भ्रम सिर्जना गर्ने काम गरे ।’ आलोचकहरु भने प्रचारमा कमी देख्छन् । ‘प्रतियोगिता समुद्घाटन समारोह र समापन समारोह बाहेक कुनै पनि खेल दर्शकका लागि विशेष बारबन्देज छैन’, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली भन्छन्, ‘बरु २० बर्षपछि नेपालगन्जले पाएको यो ऐतिहासिक अवसरको जिल्लाबासीले जमेर फाइदा लिनुपर्छ ।’ उनले त्यसैका लागि प्रवेश शुल्कको दबाब रहेपनि आफुले निःशुल्क सहज प्रवेशको सुनिश्चितता गरेको दाबी गरे ।


आठौं प्रचारप्रसार समितिले पनि आम दर्शकलाई निर्बाध प्रतियोगिता हेर्न पाउने व्यवस्थाका लागि कुनै समस्या नभएको बताउँदै आएको छ । ‘तपाईकै घर आँगनमा खेलकुदको महाकुम्भ भैरहँदा थोरै पनि रुचि राख्नेले यसको आनन्द उठाउन चुक्नु हुँदैन’, प्रचार प्रमुख रोहित दाहालले दैनिक नेपालगन्जसँग भने, ‘बाँकेको नेपालगन्जमा मात्रै होइन खजुरा र कोहलपुरमा समेत प्रतियोगिताका भव्य प्रतिस्पर्धाहरु हुँदा दर्शकले त्यसको सकेसम्म फाइदा उठाउनु पर्छ ।’
खासगरी खेलप्रेमी, खेलाडीसँगै खेलमा रुचि राख्ने विद्यार्थीहरुले यसको बढी फाइदा उठाउनु पर्ने प्रचार समितिका सदस्य टिएस ठकुरीको भनाइ छ । ‘सीमित स्रोत, साधन र स्थानमा असीमित दर्शकको परिकल्पना व्यवस्थापकीय दृष्टिले कठिन कुरा हो’, ठकुरीले खेलकुदको महाकुम्भमा रुचि राख्नेहरु निर्बाध प्रतियोगिता स्थल पुगिरहेको जानकारी दिंदै भने, ‘हो, उद्घाटन र समापनमा पासको लिमिटेसन छ ।’

 

प्रतिक्रिया

प्रतिक्रिया