पबजी प्रतिबन्ध सम्भव छ ? टिक–टक नियमन गर्ने कि !

रामु ओली

नेपालमा मोबाइल तथा पिसिमा खेलिने अनलाइन गेम ‘प्लेयर अननोन्स ब्याटल ग्राउण्ड्स’ पबजी माथि सरकारले प्रतिबन्धको निर्देशन दिए लगत्तै सामाजिक सञ्जाल केही बेरमै तातियो । पबजी खेलकै कारण भएका र हुन सक्ने हानी तथा त्यसबाट पर्न सक्ने असरका बारेमा अन्तर्राष्ट्रिय मिडिया संगै नेपालका मिडियाले लगातार समाचार प्रेषित गरेपछि अन्ततः प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पबजी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो ।
सरकारले प्रतिबन्ध लगाएको गेम पबजीको नकारात्मक असर के के थिए त ठ्याक्कै कसै संग एकिन डाटा र उत्तर छैन । तर विश्वभरी चर्चित गेम पबजीको कारण विभिन्न दुर्घटना र त्यसले असर भने पारेको समाचार बाहिरिएपछिनै सरकार गम्भीर भएको भने हो । पबजी गेम बिशेषत अनलाइन गेम हो । गेम भित्र प्रवेश गरे पछि तपाई बिचमा गेमबाट निस्किन पाउनुहुदैन । गेममा प्रत्यक सेकेन्ड महत्वपूर्ण हुन जान्छ । र, गेमले मन र मस्तिष्कमा पुर्णतया आधिपत्य कायम गर्छ । यहि बिशेषता नै यो गेमको मुख्यतः नकारात्मक असर हो ।
विश्व परिवेशमा रहेर कुरा गर्ने हो भने पबजी एक घातक साबित भैसकेको छ । पबजी कै कारण केही ब्यक्तिले ज्यान गुमाउनु परेको छ । आपसी कलह निम्तिरहेको छ । परिवारिक माहोललाई पबजीले सबैभन्दा असर गरेको छ । पबजी खेल्नैका लागि अफिस, स्कुल, कलेज छोड्ने गरेको उदाहरण साधारण भैसकेको छ । कयौं दुर्घटनाको कारण समेत पबजी बनेको छ भने पबजीले आर्थिक पाटोलाई पनि छोडेको छैन । गेमभित्र विभिन्न कीटहरु खरिद गरेर खेल्ने हँुदा विभिन्न गेटवे मार्फत पेमेन्ट गरेर त्यस्ता कीट खरिद गर्ने हुदा नेपाली रुपैयाँ धेरथोर मात्रामा बिदेशीने गरेको छ भने भारी मात्रामा मोबाइल डाटाको प्रयोग समेत बढेको छ । जसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक रुपमा हानी भएको छ ।
त्यस्तै पबजीले मानिसको मन र मस्तिष्कलाई एकत्रित गरेर प्रत्यक गेममा कम्तिमा पनि ३० मिनेट मोबाइल मै टिकाइरहने हँुदा मानसिक तथा शारीरिक समस्याहरु बिस्तारै देखा पर्दै छन् ।
सरकारले यहि नकारात्मक असरहरुलाई मध्यनजर गर्दै पबजी गेमलाई नेपालमा प्रतिबन्ध लगायो । जसको मिश्रित प्रतिक्रिया आएको छ । सामाजिक सञ्जाल त पलभरमंै प्रतिक्रियाले भरियो र संगै सुरुभयो भिपिएनको चर्चा । पबजी प्रतिबन्धसंगै सुरुभएको भिपिएनको चर्चा पहिलो पटक नेपालमा पोर्न साइटमा प्रतिबन्ध लगाउदा यसको चर्चा चुलिएको थियो ।
भिपिएन (भर्चुअल प्राइभेट नेटवर्क ) ले मोबाइल तथा डेक्सटपको यथार्थ आइपी एड्रेस लुकाएर मोबाइल तथा डेक्सटपको लोकेसन बिश्वको विभिन्न देशमा देखाउने हुँदा नेपालमा प्रतिबन्ध लागेका कुनै पनि एप तथा वेबसाइट सजिलै खुल्ने गर्दछन ।
भिपिएन विशेषगरी मोबाइल तथा डेक्सटपमा भएका डाटालाई सुरक्षित गर्न र अनलाइन रहँदा ह्याकरहरुबाट आफ्नो डाटा सुरक्षित गर्न प्रयोग गरिन्छ । मोबाइलको हकमा गुगल प्ले स्टोरमा र एप्पल स्टोरमा फ्री भिपिएन एप प्राप्त गर्न सकिने र डेक्सटपको हकमा सफ्टवेयरकै रुपमा भिपिएन प्राप्त गर्न सकिने हुँदा विभिन्न देशमा कुनै साइट तथा एपमा प्रतिबन्ध लाग्दा थोरै आइटी र इन्टरनेटको जानकारी रहेका ब्यक्तिले भिपिएनको माध्यम द्वारा ती साइट तथा एपमा सजिलै एक्सेस प्राप्त गर्ने गर्छन् । तसर्थ नेपाल सरकारले पबजी माथिको प्रतिबन्ध राम्रो कदम भएपनि पर्याप्त भने छैन ।
सरकारले प्रतिबन्ध लगाइएको अवस्थामा पनि पबजी प्रयोगकर्ताहरु पबजी खेलिरहेको देख्न सकिन्छ । सरकारले पबजीको प्रतिबन्ध संगै पबजीको असरका बारेमा सचेतनामा ध्यान दिनुपर्ने फेसबुक प्रयोगकर्ताहरु बताउँछन् । पबजी प्रतिबन्धकै विषयलाई लिएर पबजी प्रयोगकर्ता समेत रहेका यातेन्द्र पाण्डे भन्छन्, ‘पबजी आफैमा खराब होइन तर मान्छेहरु आफ्नो दैनिकी नै भुलेर गेममा केन्द्रित हुनु चाहिँ राम्रो होइन तसर्थ प्रतिबन्ध भन्दा पनि यसका नराम्रा कुराका बारेमा चेतना फैलाउनु पर्छ । ताकी यो फुर्सदमा खेलिने मात्र एउटा मनोरञ्जन गेमको रुपमा रहोस् ।’
त्यस्तै अमेरिकामा बस्ने आइटी इन्जिनियर आशिष भन्छन्, ‘पबजी साँच्चिकै घातक छ, यसले प्रयोगकर्तालाई आफ्नो दुनियाबाट अर्कै दुनियामा प्रवेश गराउछ । किनकी खेलको अबधि भर उसले अरु केही देख्दैन र सोच्नै सक्दैन ।’ तसर्थ नेपाल सरकारले लगाएको प्रतिबन्ध ठिक छ तर त्यसको कार्यन्वयनको निम्ति सरकारको आइटी सेलले के कस्ता काम गर्छन त्यसमा भर पर्छ । किनकी प्रतिबन्ध गर्नुमात्रै समाधान होइन, कारण त्यस्ता प्रतिबन्धित एप या साइटमा एक्सेस पाउने कयौं तरिकाहरु छन् ।
सामाजिक सञ्जालमा पबजी माथिको प्रतिबन्धको कुनै औचित्य नरहेको समेत टिकाटिप्पणी सुरु भएको छ । भिपिएन जस्ता सम्पूर्ण एपलाई सरकारले प्रतिबन्ध गर्न नसक्ने र गरे पनि हरेक मोबाइलमा भिपिएनको सुबिधा भएकाले थोरै आइटीको ज्ञान हुनेले पबजीमा पहुँच पु¥याउने पवन बर्णवाल र बदम बरालले जिकिर गरेका छन् । सरकारको यो कदमको प्रसंशा गर्दै धिरेन्द्र शाक्य फेसबुकमा लेख्छन्, ‘सरकारले अहिले सम्म गरेको सबै भन्दा उत्कृष्ट कार्य ।’ त्यस्तै सामाजिक सञ्जालमा अजय खड्काले सरकारको यो कार्यको चुनौती दिंदै लेख्छन्, ‘विभिन्न तरिकाहरु छन् पबजी खेल्ने !’
वास्तवमै पबजीलाई कानुनी रुपमा प्रतिबन्ध लगाए पनि ब्यवहारिक रुपमा पुर्णतया प्रतिबन्ध लगाउन त्यति सजिलो छैन । बिज्ञान र प्रबिधिको क्षेत्रमा बिश्वब्यापी चमत्कार गरिरहेको चिनले समेत पुर्णरुपमा कुनै वेबसाइट वा एपलाई रोक्न नसकिरहेको अवस्थामा नेपालले त्यस्ता एप तथा वेबसाइटलाई प्रतिबन्ध गर्न खोज्नु सरकारको प्रयास मात्र भएको जानकारहरु बताउँछन् । जानकारहरुको अनुसार, कुनै एप तथा वेबसाइट आफैमा खराब हँुदैनन्, त्यसैले प्रयोगकर्ता माझ त्यसको राम्रा र नराम्रा पक्षको जानकारी दिनुपर्ने पक्ष महत्वपूर्ण हो । जसले प्रयोगकर्तालाई सहि र गलतको जानकारी प्राप्त हुन्छ र अश्लीलता फैलाउने, हानी नोक्सानी हुने र त्यसको अत्याधिक प्रयोगबाट हाम्रो दैनिक जीवन देखि लिएर सामाजिक जीवनमा पर्न सक्ने असरको बारेमा सचेत रहन मद्धत मिल्ने जानकारहरुको जिकिर छ ।
टिक–टक नियमन गर्ने कि !

सरकारले पबजी माथी प्रतिबन्ध संगै हाल भिडियो सोशल मिडिया प्लेटफर्म ‘टिक–टक’ माथी पनि प्रतिबन्ध लाउनु पर्छ भन्ने मत बढ्दै गएको छ । भारतमा मद्रास हाइकोर्टले सरकारलाई टिक–टिक प्रतिबन्ध गर्न आदेश दिएको थियो । कोर्टको अनुसार टिक–टकले अश्लीलता बढाएको र विशेषगरी कम उमेरका बच्चाहरुमा यसले नराम्रो असर पारेको बताएको थियो ।
टिक–टकमा युवापुस्ताले समय बर्बाद पारेको भन्दै यसलाई पनि प्रतिबन्ध गर्नुपर्ने धारणा राख्ने जमात नेपालमा बढ्दै गएको छ । फेसबुक प्रयोगकर्ता सोनी सोमी पबजी प्रतिबन्धको खबर संगै उनले लेखेकी छिन्, ‘टिक–टक कहिले ब्यान्ड हुन्छ सरकार ?’
सोनी जस्तै पदम बराल पनि टिक–टकलाई बन्द गर्नु पर्ने धारणा राख्छन् । त्यस्तै ट्वीटरमा जोनाम एमपी लेख्छन्, ‘पबजीका आर्मीहरुको त पेन्सन पाक्यो रे ,अब टिक–टकका हिरोइनहरुको पनि पेन्सन पाके आनन्द हुन्थ्यो ।’
भिडियो सोशल मिडिया प्लेटफर्म ’टिकटक’ को निर्माता हो चिनियाँ कम्पनी बाइट डान्स । यो एप सुरुमा म्युजिकल्ली नामबाट लन्च भएको थियो । दुनियाँ भरमा टिक–टक सय करोड भन्दा धेरै पटक डाउनलोड गरिएको छ । १५ सेकेन्ड सम्मको भिडियो बनाएर सामाजिक सञ्जालको विभिन्न प्लेटफर्ममा शेयर गर्न सकिने टिक–टकको प्रमुख बिशेषता हो । साथै टिक–टकमा अत्याधिक मुजिक ग्यालरी र विभिन्न रमाइला डान्स, कमेडी जस्ता अनेक क्रियाकलापमा लिप्सिङ्ग गरेर भिडियो बनाउन सकिने हुँदा टिक–टक लोकप्रिय बनिरहेको छ ।
टिक–टकले प्राइभेसी र सेक्युरिटीको मामिलामा विभिन्न समयमा आलोचना खेपिरहेको छ । र, यस एपलाई १३ बर्ष भन्दा माथिकाले मात्रै चलाउन पाउने भएपनि त्यो लागू हुन सकेको छैन । साथ साथै इन्टरनेटको माध्यम द्वारा गाली गर्ने, कसैलाई तल्लो स्तरमा राख्ने, ट्रोल गर्ने जस्ता काम संगै टिक–टकमा एडल्ट भिडियोले भरिएको छ । जसको प्रत्यक्ष असर कम उमेरका छात्रहरुमा पर्दै गएको सम्बद्ध बिशेषज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया