हाम्रो नेपालगन्ज : यसरी बन्यो चौक बजार त्रिभुवन चोक

सनत रेग्मी
आज हामी जुन स्थानलाई त्रिभुवन चोक भन्दै छौं त्यहाँ त्रिभुवनको शालिक ढालिनु भन्दा पहिलासम्म त्यसलाई चौक बजार मात्र भनिन्थ्यो । चौक बजार त यसको निर्माण सँगै गुलजार र नेपालगन्जको मुटु नै रहेको छ ।

 
सन् १८६० मा जंग बहादुरले ब्रिटिश इन्डियाबाट बाँके, बर्दिया, कैलाली, कञ्चनपुर फिर्ता पाएपछि बाँकेमा बाँकी किल्लाको प्रशासन अन्तरगत आवादी योग्य जमिनहरु पहिल्यै देखि तुलसीपुर स्टेटका रैयतहरुले रस्ती बस्ती कायम गरी जिमिदारी समेत जोडेकाले बर्दिया र पश्चिम जिल्लाका भु–भाग आफ्ना आठभाई छोरा र १७ भाई, भाइहरुका नाममा वितरण गरेका थिए । र, जग्गा आवाद गर्ने अधिकार समेत दिएका थिए । त्यति बेला तराईका यी भु भाग पुरै जंगल थियो । बाँकेमा पनि थोरै मात्र जग्गा आवाद थियो र बाँकी भु भाग जंगलै थियो ।

 
जंग बहादुरले पहिल्यैदेखि बसिआएमा जमिन्दारहरुलाई आ–आफ्नो जग्गा कमाई खाने गरी बाँकी सबै जंगलहरुबाट आयस्ता उठाई सरकारलाई तिनै गरी यो बाँके जिल्ला, सल्यान गैडाका बडाहाकिम क–लो बहादुर थापालाई ठेक्कामा दिएका थिए भने यस जग्गामा एउटा सहर बसाउने बारेमा प्रतिवेदन दिन सुब्बा सिद्दिमान राज भण्डारीलाई त्यतातिर पठाएका थिए । सिद्दिमान राजभण्डारीको जाहेरी पछि जंग बहादुर आफुले फिर्ता गरेको जमिनमा नयाँ सहर निर्माण गर्न र त्यसको व्यवस्था मिलाउन पद्यनाभ जोशीलाई खटाइ पठाएका थिए ।

 
पद्यनाभ जोशीले नेपालगन्ज बजार बसाउन तयारी गरे भने उता लोक बहादुर थापाले भारतीय रेल्वे बिस्तारका लागि आवश्यक काठ र काठ निकासीका लागि काठमहलको निर्माण गराए । यता पद्यनाभ जोशीले बाँकी किल्लालाई भूल आधार मानी त्यसकै दक्षिण पट्टि हालको त्रिवेणीचोक देखि दक्षिण तर्फ माझमा १०८ फिटको सडकको दायाँबायाँ गरी एक लाइन घरहरु निर्माण गर्न थाले । यो सदरलाइनका घरहरु दक्षिणमा हाल ओमकार मल खेतानको घरसम्म मात्र थियो ।
अहिले त्रिभुवन चोक भएका ठाउँमा प्रशस्त चौडायी भएको चोकलाई चार बाटो बनाइ चोक पूर्व लाइन भनेर पूर्वतर्फ हाल पत्रकार पन्नलाल गुप्ताज्यूको घरसम्म र चोक पश्चिम लाइन, इदगाहरोड (नगरपालिका जाने बाटो)को माझमा पर्ने निमको बोटसम्म, झिंगटीवाल पसल कबल सहितका घरहरु निर्माण गराएर नेपालगन्ज बजार बनाए । त्यसै समयदेखि चोक बजार यस सहर मुटु भएको थियो ।

 
यस चोकको माझ भागमा एउटा चारपाटे, दुई तले घर ठड्याइयो । ठिक अहिलेको शालिक भएको ठाउँमा । नेपालगन्जमा व्यापार गर्न आउने ठूला महाजनहरुलाई त्रिभुवन चोक र त्रिभुवन चोककै ओरीपरिका घरहरु दिए । जसले गर्दा चोक बजार गुलजार रहन्थ्यो ।

 
चोक बजारको पूर्वपट्टी डिभाइडर जस्तै गरेर माझमा तरकारी पसलहरु बनाइयो । दुवै पट्टिको सडकबाट तरकारी किन्न सकिने गरी काठका खाँवा र खरले छाएका तरकारी मण्डी थियो । बिस्तारै व्यापारीहरु बस्दै बस्दै बढ्दै गयो । व्यापार निकासीको व्यवस्थापन हुँदै गयो । अनि चोक बजारको माझमा बनेको चारपाटे घर माथिको तल्लामा भन्सार अड्डा खोलियो । सो भन्सार अड्डाको भन्सार पनि ठेक्कैमा थियो ।

 
चोक बजारको उत्तर र पश्चिम तर्फ स–साना पसलेहरुको बिसाती दैनिक पसल सडकमै थाप्दथे । जहाँ खाजा, सातु, चना, भुजा (मुढी) र दही बेचिन्थ्यो । चोक पश्चिम पट्टि ठूल्ठूला कडाही (लोहाको) हरुमा दुई चार मन घिउ पगाल्ने र घिउलाई प्रशोधन गरी टिनमा प्याक गरेर राख्ने काम पनि सडकमै सम्पन्न हुन्थे । कुनै वाहनहरु थिएनन् । घोडा र तांगाहरु पनि थोरै मात्रामा थिए ।

 
नेपालगन्जको बस्ती विकाससँगै नयाँ, नयाँ टोलहरु बस्दै गए । बन्द व्यापारहरु बढ्दै गए । स्कुल, पाठशाला खुल्दै गए । नयाँ नयाँ अफिसहरु बन्दै गए । बनाउने अड्डा, गोश्वारा, माल, अमिनि अड्डा आदी खुल्दै गए । अनि चोक बजारको रौनक झन् बढ्दै गयो ।

 
त्यतिबेला मनोरञ्जनको कुनै साधन नभएको बेलामा यहाँका नागरिकहरु चोक बजारका कुना, कुनामा मेला हुन्थ्यो । घिउ, सुठो प्रशोधनको तरिका हेर्दै खाजा पसलमा खाना खाने गर्दथे । नेपालगन्जलाई बजार पूर्ण विकास नहुञ्जेल कहिले दैलेख गौंडा त कहिले सल्यान गौंडाले हेर्ने गर्दथे । नेपालगन्ज बजार बस्ने बेलामा यो सल्यान गांैडाले हेर्ने गर्दथ्यो ।
यता नेपालगन्ज बजार व्यवस्थित हुँदै थियो भने बर्दिया कैलाली, कञ्चनपुर तिर नेपालगन्जको खसियारी बजार जस्तै सिजनल मन्डी बिस्तार हुँदै थियो । त्यतिबेला बर्दियाको राजापुर मन्डी र महेन्द्रनगरको ब्रह्मदेव मण्डी व्यापारीक केन्द्र बन्ने तरखरमा थिए । यी सबैलाई व्यवस्थित न गर्न दैलेख वा सल्यानले नसक्ने भएपछि व्यवस्थापनका लागि वा.व.गो (बाँके, बर्दिया गोश्वारा) खडा गरि बडा हाकिमले यही बस्ने व्यवस्था गरियो र श्री ३ सरकारका प्रतिनिधि भएर बडाहाकिम नेपालगन्ज बस्ने थाले ।

 
चोक बजारको रौनक बढ्न थालेको थियो । चोक बजारको दक्षिण तर्फ बीच सडकमै मन्दिरहरु निर्माण भए । र, नित्य पुजाआजाको क्रम बढे । विहान ४ बजे बागेश्वरीको डंका बज्न थालेपछि चोक बजारमा पनि चहलपहल बढ्न थालेको हुन्थ्यो । चोक बजारका मन्दिरहरुमा घण्टा, घडियाल बढ्न थाल्यो । भक्तजनहरु मन्दिरमा जम्मा हुने अनि रामायण पाठ ब्रम्हानन्दको भजन र किर्तनहरुले चोक बजारमा गुञ्जायमान हुन्थ्ये । बिहानको ७ बजेपछि चोक बजारको तरकारी बजार सक्रिय हुन्थे । सडक खाजा घरहरु खुल्न थाले । चोकको पूर्वी किनारमा भुजा, बतासा, खुरिया, चना र सालुहरु पाइन्थ्यो । त्यतिबेलाको खाजा त्यही थियो । १० बजे तिर अफिस जाने कर्मचारीहरु एकछिन भएपनि चोक बजारमा उभिएर अनिमात्र अफिस जान्थे ।

 
महाराजा जुद्ध समशेर एक पटक सिकार खेल्न नेपालगन्ज आउने कुरा चलेपछि तत्कालीन बडाहाकिमले हाल नगर भवन नजिक भन्सार कार्यालय सारे । अनि त्यहाँ महाराजा जुद्ध समशेरको शालिक राख्ने निर्णय गरे । भन्सार भएको चारपट्टि घर भत्काइयो । त्यहाँ गोलाकार गुम्बद भएको शालिक निर्माण स्थल तयार गरेर काठमाडौंबाट अष्ट धातुको शालिक निर्माण गराएर त्यहाँ स्थापित गराइयो ।

 
गोलाकार भित्र चार ओटा खम्बा माथि गुम्बद त्यही तल माझमा राजसी पोशाकमा श्रीपेच लगाएका जुद्ध समशेर जबराको भव्य शालिकले चोक बजार सुशोभित भएको थियो । नेपालगन्जका बुढापाका भन्थे, सुरु सुरुमा सदरलाइनबाट दक्षिण जाने चोकको चारैतिरबाट आउने जाने बटुवाहरु चोकबाट अघि बढ्नु पर्दा जुद्ध समशेरको शालिकलाई सलाम गरेर मात्र अघि बढ्नु पथ्र्यो रे ।

 
तत्कालीन समाज पूर्णतः सामन्तीय समाज भएकाले सामन्तीय व्यवहार प्रचलनमा थिए । खर्दार र त्यसमाथिका कर्मचारीहरुका घरमा कमारा कमारी राख्ने चलन थियो । जिमिदारहरु पनि कमाराकमारी राख्थे । मनोरञ्जनको साधन थिएन । चाडवाडको बेलामा नाचगान गर्न भारतबाट बाइजीहरु झिकाइन्थे । नाटक, नौटंकी देखाइन्थ्यो । अरु बेलामा अवध संस्कृतिको लोक नृत्य, भाड भेडैती, रुब बदल, सफेडा, नागहरुको नृत्य, सडक जादु, नरहरुको करतब हुने गर्दथ्यो । बढी मानिस जम्मा हुने हुँदा यी सबै चोक बजारको ओरीपरि नै हुन्थे । सामन्ती संस्कारको कुलतले नेपालगन्जलाई गाँजेको थियो । घरबारीटोल, गाइजात्रा आदीमा ठुला बडाको घरमा तास जुवाका नालहरु हुन्थे । तिहारको पाँच दिन पंचक भरी, मुनादी गराएर नै जुवा फुकुवा गरिन्थ्यो । त्यतिबेला चोक बजारको रौनक अर्को हुन्थ्यो ।

 
जुद्ध समशेरको शालिकको उत्तर तर्फ लहरै जुवाको खालहरु लाग्थे । गाउँतिरबाट ठूला जिमिदार, सरकारका उच्च पदस्थ कर्मचारी साहु महाजन चोक बजार पुग्थे । जहाँ ५ दिनसम्म दिन रात जुवा खेल्थे । सो जुवा हेर्ने बडा हाकिम समेत हात्तीमा चढेर जुवा हेर्न आउँथे । छिमेकी भारतबाट समेत नेपालमा जुवा खुल्यो भनेर मानिसहरु जुवा खेल्न चोक बजारमा आइ पुग्थे । बुढापाकाहरुले सुनाउँथे, चोक बजारमा जुवाका नालहरुको बजारै हुन्थ्यो रे । बडाहाकिम हात्तीमा चढेर आउँथे र प्रत्येक खालमा मखमलको थैलीमा थली भरी रुपैया भेरेर खालको कुनै एउटामा दाउमा थैली फाल्थे रे । थैलीमा फालेको दाउमा कौडा परेपनि न परेपनि कौडा हान्नेले बडाहाकिमको दाउमा नै कौडा छ भनेर सबको दाउमा राखेको रकम थैली सहित बडा हाकिमलाई टक्र्याउँथे । एवं क्रममा बडा हाकिम सबै नालमा जुवा खेल्ने र पाएको रकमबाट केही चाँदीका रुपैयाँहरु, लौ जितौरी बक्सिस् भनेर भुइँमा पैसा छर्दै हिड्थे रे ।

 
नेपालगन्ज बस्दै गयो । परिवर्तनका डोबहरु पनि बन्दै गए । २००७ सालको जनक्रान्तिको प्रभाव, चोक बजारमा पनि पर्यो । क्रान्तिकारी युवकहरुले जुद्ध समशेरको शालिक तोड्न खोजे तर शालिक ढाल्ने बाहेक अरु कुनै क्षति पुगेन शालिक । जुद्ध समशेर शालिक श्री पेचहीन अवस्थामा चोक बजारमा स्थापित नै थियो ।

 
२०१६ सालमा नेपालगन्ज पहिलो नगरपालिका गठन भयो । जसको मेयर मुलचन्द आजाद र उपमेयर पूर्णमान आजाद थिए । त्यस नगरपालिकाको बोर्डले सामन्ती अवशेष, जुद्ध समशेरको शालिक हटाएर त्यहाँ अन्तर्राष्ट्रिय मान्यताको ट्राफिक पोष्ट बनाउने निर्णय गर्यो र चोक बजारबाट जुद्ध समशेरको शालिक हटाइयो र त्यहाँ ट्राफिक पोष्ट बनाइयो ।

 
म आफ्नो वाल्यकालको चोक बजार सम्झँन्छु । त्यति बेला चो बजारको ओरीपोरी काठको खम्बामा माथि काँचको लेन्टर्नबक्स हुन्थ्यो । त्यसभित्र टुकी बालेर सडक बत्ति बालिन्थ्यो । सडकहरु धुलाम्मे थिए । पीच थिएन । मानिसहरु बिहान बेलुका पानी छर्केर सडकको धुलो सम्याउथे । म जन्मिएको बर्षमै सदरलाइनका घरहरुमा बरसाती बनाउन प्रारम्भ भएको थियो रे । चोक बजारको झिगटीको छाना बाहिरको टीन पाताका पसल हटाएका थिए । उनी त मन्दिरहरु पनि हटाएर बागेश्वरी ओरीपरि स्थापित गर्दै विचारमा थिए तर उनको सरुवा भएपछि त्यसले मूर्त रुप लिन सकेन ।

 
अहिले ठ्याक्कै तिथिमिति सम्झना भएन तर, २०२०, २१ सालतिर हुनुपर्छ । तत्कालीन नगर पंचायतले त्रिभुवनको शालिक चोक बजारमा स्थापित गरेपछि यो स्थान चोक बजारबाट त्रिभुवन चोक हुन पुग्यो । २०६२ को जनआन्दोनल, मधेस आन्दोलनले त्रिभुवनको शालिक पूर्ण ध्वस्त बनाइ यसको नाम कमल मधेसी चोक भनाउन खोजिए पनि जनजिब्रोमा बसिसकेको त्रिभुवन चोक हट्न सकेको छैन । आज पनि यसलाई त्रिभुवन चोक नै भनिन्छ ।
हाम्रो नेपालगन्ज–२
घरबारीटोल
सनत रेग्मी

टोलको नाम घरबारीटोल । नेपालगन्जका संभ्रान्त व्यक्तिहरुको बासस्थान । घरबारीटोल बाँके किल्लाबाट उत्तर निस्कने मुख्य मार्ग थियो । दक्षिण तर्फ निस्कने मार्ग भने भट्टी टोल जानेबाटो र बागेश्वरी नजिक फिद्दन मिस्त्रीको घर निर थियो । किल्ला बाहिर दुवै तर्फ एक दुई घरहरु थिए । उत्तर तर्फ खाईको पारि तुलसीपुर स्टेटबाट काजियाना र नौनियानाको सनद रुक्का पाएका मुस्लिम परिवार थियो । उनीहरुले किल्ला भित्रका सैनिक र अन्य सेवामा रहेको कर्मचारी परिवारको जायजन्म र विवाह आदी कार्य गर्ने गर्दथे । दक्षिण पट्टीको खाई पारीका जग्गामा किल्ला भित्रको सरसफाई र मृत्युदण्ड पाएकाहरुलाई फाँसी दिने कार्यका लागि खटिएका त्यस बेलाका दलित, जनजाति, भंगीहरु (वाल्मिकी)को दुई चार घरहरु थिए रे । शेषभाग स–साना वैर र सितहनाका झाडी झुडिया थिए र त्यसैबाट गोरेटो र बैलगाडा, घोडा, गधा हिड्ने बाटो थियो । जो दक्षिण हुँदै भारत तुलसीपुर तिर जान्थ्यो ।
उत्तर तर्फ किल्लाको छेउ पार गरेपछि त्यस्तै स्थिति थियो । अनि अहिले राष्ट्र बैंक रहेको ठाउँ नेर धम्बोझी बगैंचा र अलि पर धम्बोझी गाउँ थियो रे । धम्बोझी बगैचा तर्फ बिस्तारित हुँदै जुन बस्तीको विकास भयो त्यो थियो अहिलेको घरबारीटोल । यो घरबारीटोलको विकास कसरी भयो त ? यसको नाम घरबारीटोल नै किन रह्यो ? उत्सुकता हुन्छ नै ।
सुब्बा पद्भनाम जोशीले आफ्नो काममा मद्दत पुग्ने गरी काम गर्न आफ्ना सहयोगीहरु लिएर आएका थिए । रुपाखेती थरका तिनै सहयोगी पण्डितहरुले आफ्नो घरबारी समेत हुने गरी, वैर सितहानाका झाडीहरु फाडेर आवाद गरे । उनै पद्भनाम जोशीकै पनि आफ्नै घरबारी समेत त्यहीँ थियो । नेपालगन्जको बस्ती विकाससँगै सरकारी कार्यालयहरु खुले र ती कार्यालयमा काम गर्ने अधिकांस मानिस र बाँकेका गाउँहरुका ठूला जिमिदारहरुले समेत घर र बारीका लागि त्यहीँ ठाउँलाई घरजम गरे । घरबारीटोलमा रुपाखेतीहरुको परिवार ठूलै छ । चुडामणि, रुपाखेती पं. मेघराज देवकोटा, पं. मुक्तिनाथ अर्याल, रामराजाका सोनार स्थित जग्गा जमिनको व्यवस्था गर्न आएका सुब्बा डिल्लीमान श्रेष्ठको परिबारबाट फैलिंदै घरबारीटोल नेपालगन्जको प्रमुख टोल हुन पुग्यो ।
घरबारीटोल संभ्रान्त वर्गको टोल भएको हुनाले नेपालगन्जको विकासमा यस्को महत्वपूर्ण स्थान रहेको छ । नेपालगन्जको सामाजिक, सांस्कृतिक नेतृत्व लिने क्षमता घरबारीटोलसँग थियो । घरबारीटोलका ब्राम्ह्णहरुले ब्राम्ह्ण गुठीको व्यवस्था गरी विवाह, ब्रतवन्ध आदि कार्यलाई चाहिने आवश्यक भाँडाकुंडाको प्रबन्ध गर्दथ्यो । सामूहिक श्रावणी कर्म र कर्मकाण्डीय व्रत पर्व, जुठो सुतक आदिको निर्णय पं. मेघराज शर्माले पण्डितहरुलाई छलफल गराई निर्णय दिने गर्दथे ।
पंण्डित कालिप्रसाद रुपाखेती, सु. पद्भनाम जोशी सँग आएका थिए । उनकै सन्तानहरुले घरबारीटोल ढाकेका थिए । नेपालगन्जको बिस्तार सँगै घरबारीटोलको बिस्तार पनि हुँदै गयो ।
नेपालगन्जमा सरकारी कार्यालयहरु खुल्दै जाने क्रममा त्यहाँ आएका कर्मचारीहरुले पनि घरबारीटोलमै बसोबास गर्न मन पराए । त्यही अनुसार घरबारीटोलमा श्रेष्ठ परिवार, कर्माचार्य परिवारहरु थपिंदै गए ।
पहिला आएका हुनाले कालीप्रसाद रुपाखेतीले बाँके किल्लाको उत्तर निकासीको पुलदेखि अहिले न्यायाधीश दुर्गा प्रसादको घर भएसम्मको जग्गा ओगटेका थिए । त्यसपछि पं. मेघराज देवकोटाले घरबारी थियो । पछिपछि जनघनत्व बढ्दै गएपछि अहिले धम्बोझी जाने घरबारीटोल पश्चिम लाइन बस्दै गयो र अहिलेको घरबारीटोलको बिस्तार भयो ।
नेपालगन्जको रैथानेहरुको पहिलो बस्ती भएको हुनाले त्यहाँको सामाजिक, सांस्कृतिक, राजनीतिक, प्रशासनिक सबै क्षेत्रमा वर्चश्व रहेको थियो । यहाँका युवाहरु, जमिन्दार, पटवारी, सुब्बा, खरदारको मानव पदवी पाएर रजगज र सम्मानका साथ बसेका थिए । घरबारीटोलको अर्को विशेषता भनेको यहाँ ब्राम्ह्ण र नेवार परिवारको सहअस्तित्वका साथ घनिष्टता र एकता थियो ।
बिस्तारित नेपालगन्जमा घरबारीटोलसँगको प्रतिस्पर्धा गर्न खोज्ने अर्को बस्ती गगनगन्ज थियो । तर, घरबारीटोलको युवाहरुको तुलनामा कमजोर नै ठानिन्थ्यो ।
पण्डित मुक्तिनाथ अर्यालको घरभन्दा अगाडी मैदान नै थियो । जहाँ राणाकाल, प्रजातन्त्रकालमा समेत फुलपाती समारोह हुन्थ्यो । बिस्तारै त्यो मैदान पनि भरिंदै भरिंदै गयो । अब फुलपाती समारोह बागेश्वरीको प्रांगणमा एउटा औपचारिकताको निर्वाह मात्र हुने गरेको छ । पुरानो समयको त्यो मेला भीडभाड सहितको फुलपाती समारोह अब कहाँ देख्न पाउनु ।
नेपालको जनक्रान्ति र राजनीतिक जागरणको नेतृत्व पनि त घरबारीटोलले नै गरेको थियो । यहाँका युवाहरु गोपाल बहादुर श्रेष्ठ, श्री कृष्ण श्रेष्ठ, गोपाल बहादुर कर्माचार्य, गणेश बहादुर कर्माचार्य, जनक बहादुर कर्माचार्य, शेखर शर्मा आदिले क्रान्तिको कमाण्डर भै सुदूरपश्चिमसम्म राणा विरुद्ध जिल्ला कब्जा गर्न गएको इतिहास रहेको छ ।
नेपालगन्जमा जनचेतना र प्रजातान्त्रिक विचारको बिउ यहीं रोपिएको थियो । बासुदेव शर्माका जुवाई वा भिनाजु तौलिहवाका वामदेव गौतमले घरबारीटोलका युवाहरुलाई प्रजातान्त्रिक चेतनाको मन्त्रदान दिएको कुरा प्रचलित रहेको छ । पूर्णराज उपाध्याय, ज्ञानराज शर्मा, बासुदेव शर्माहरु नेपालगन्ज र बर्दियामा प्रजातान्त्रिक आन्दोलनका लागि संगठन बिस्तारमा प्रमुख भूमिका निर्वाह गरेका थिए ।
नेपालगन्जको प्रजातान्त्रिक आन्दोलनमा घरबारीटोलका युवाहरुले सक्रिय सहभागिता जनाएको पाइएको छ । सांस्कृतिक चेनामा पनि घरबारीटोलको महत्वपूर्ण भूमिका रहेको छ । घरबारीटोलका युवाहरु मदन कुमार श्रेष्ठ, नारायण प्रसाद श्रेष्ठ, देवु बहादुर श्रेष्ठ, मोहनलाल श्रेष्ठ, शेखर शर्माहरु भएर नवयुवक सांस्कृतिक मण्डल निर्माण गरेका थिए । यस मण्डलमा गगनगन्जका वि.विकास र पूर्णमान आजादको पनि सहभागिता थियो । यस सांस्कृतिक मण्डलले घरबारीटोल, एमपी स्कुल र गगनगन्जमा नाटकहरु प्रदर्शन गरेका थिए । संगीतकार बब्रुवाहन सिंह, तीर्थमान पटवारी, गायक महेन्द्र बहादुर हमाल आदी यसै मण्डलको उपज हुन् । नेपालगन्जमा रंगमंचको थालनी त भयो तर विकास हुन सकेन । किनभने नेपालगन्ज अवध संस्कृतिको क्षेत्र थियो । यहाँ नौटंकीको प्रभाव थियो । नाटक प्रदर्शन गर्न पनि रामलीला वा विवाह पंचमीको लघु रामलीलामा समावेश हुनुपर्ने बाध्यता थियो ।
साहित्यको क्षेत्रमा गगनगन्जको इन्द्रमणि ‘मानव’ र वि.विकासको क्षेत्रमा नेतृत्व लिए पनि त्यसको विकासमा घरबारीटोल नै अग्रणी थियो । ‘स्वराष्ट्र’ को प्रकाशनमा इन्द्रमणि मानव सँगै घरबारीटोलका जगत बहादुर सिंह सहयोगी हुनुहुन्थ्यो भने ‘अनुराधा’ को प्रकाशन पाटन प्रिन्टिङ्ग प्रेसले गरेपनि हिन्दी, नेपालीमा लेख्ने अधिकांश युवाहरु घरबारीटोल मै थिए । मोहनलाल श्रेष्ठ, देवु बहादुर श्रेष्ठ भगवत् जङ्ग राणा, कृष्णजङ्ग राणा, तीर्थमान पटवारी, शान्ति श्रेष्ठ (शान्तनु) श्रवण कुमार श्रेष्ठहरु घरवारीटोल कै थिए ।
नेपालगन्जमा कहिलेकाहीँ हिन्दु मुस्लिम तनाव भएको बखत, हिन्दु युवाहरु र मुस्लिम युवाहरु दुवैथरी संरक्षण खोज्न घरबारीटोल पुग्दथे । त्यसको मूल कारण थियो घरबारीटोलको सहअस्तित्व स्वीकार्ने परम्परा र हिन्दु मुस्लिम दुवै वर्गसँग समान व्यवहार गर्ने बानी । त्यसैले यहाँका हिन्दु, मधेसी, समुदाय र मुस्लिम, मधेसी समुदाय घरबारीटोलका युवाहरु आफ्नो संरक्षक मान्दथ्यो । घरबारीटोलको प्रयासले यहाँ धेरै पटक हिन्दु, मुस्लिम दंगा हुने सम्भावना टरेर गएको छ ।
जगतबहादुर सिंह, गोपाल बहादुर सिंह, कर्माचार्य बन्धुहरु, खेमराज श्रेष्ठ, मदन कुमार श्रेष्ठ, रणेन्द्र बहादुर हमाल, युवराज शर्माहरुले राजनीतिक रुपमा जिल्लाको नेतृत्व दिएका थिए । साहित्यिक सांस्कृतिक क्षेत्रमा मदन कुमार श्रेष्ठ, शेखर शर्मा, मोहनलाल श्रेष्ठहरु घरबारीटोलका हस्ती मानिन्थ्ये ।
घरबारीटोलको एकताको एउटा उदाहरण भएका छन्, शेखर शर्मा, क्रान्ति पूर्व उनको नाम थियो विष्णु प्रसाद अधिकारी । सुदूरपश्चिम क्रान्तिका बखत सरकारी खजानाको रकम लुटपाट गरी क्रान्तिपछि सरकारलाई नफर्काएको भनि उनीमाथि मुद्दा कायम गरी पक्राउ पूर्जी जारी गरियो । त्यतिबेला पुरा घरबारीटोलले विष्णु प्रसाद अधिकारीको नयाँ न्वारन गरेर शेखर शर्मा बनाइ दिए र विष्णु प्रसाद अधिकारी भन्ने व्यक्ति घरबारीटोलमा हुँदै नभएको भनेर शेखर शर्माको बचाउ गरेका थिए ।
घरबारीटोलका प्रतिभाहरु मध्ये खेमराज श्रेष्ठ (राजनीति र समाजसेवा), पूर्णराज उपाध्याय (राजनीति र समाजसेवा), बासुदेव शर्मा (राजनीति र समाजसेवा), शेखर शर्मा (राजनीति), गोपाल बहादुर श्रेष्ठ (राजनीति), कर्माचार्य बन्धुहरु (राजनीति), महेन्द्र बहादुर हमाल (संस्कृति), कृष्णजंग राणा (साहित्य), मदन कुमार श्रेष्ठ (राजनीति), रणेन्द्र हमाल (समाजसेवा र राजनीति)मा राष्ट्रिय स्तरमै चर्चित व्यक्तित्व हुन् ।
घरबारीटोलमा जन्मेर, आफ्नो व्यवहारले नेपालगन्जमै अत्यन्त लोकप्रिय व्यक्तित्वका रुपमा चर्चित रणेन्द्र बहादुर हमाल घरबारीटोलका शान थिए । अल्पाययुमै निधन नभएको भए नेपालगन्जले एउटा लोकप्रिय अभिभावक पाउन सक्ने थियो । हमाल परिवार घरबारीटोलका विशिष्ट परिवार भएको छ । हमाल बन्धुहरु, रणेन्द्र हमाल, महेन्द्र हमाल, वृजेन्द्र हमाल, गजेन्द्र हमाल, सुरेन्द्र हमाल आ–आफ्ना क्षेत्रमा सफल व्यक्तित्व मानिन्छन् । रणेन्द्र हमालको लोकप्रियता, महेन्द्र हमालको गीत, संगीत, सुरेन्द्र हमालको खेल प्रेम, वृजेन्द्र हमालको खेल प्रेमले उनीहरुलाई चर्चित बनाएको हो । महेन्द्र हमालका जेठा छोरा विरेन्द्र हमाल पनि नाटक र रंगमंचका राष्ट्रिय कलाकारका रुपमा ख्याति प्राप्त छन् । घरबारीटोललाई नेपालगन्जमा महत्वपूर्ण स्थान दिलाउनमा हमाल परिवारको पनि महत्वपूर्ण योगदान रहेको छ । ओलम्पियन सुरेन्द्र हमालमा त आफ्ना दाजु रणेन्द्र हमालको गुण छन् । उस्तै मिलनसारिता, अग्रजहरुको सम्मान साथीभाईको सुखदुःखमा साथ दिनेबानी उनमा पनि छ ।
घरबारीटोल भन्नासाथ गोपाल बहादुर श्रेष्ठ, कर्माचार्य बन्धुहरुको पुरै परिवारको राजनीतिक संघर्ष, हमाल परिवारको नाटक, गीत, संगीत, खेलकुद आदिका साथ त्यस परिवारको लोकप्रियता, घरबारीटोलको बिस्तारमा रुपाखेती परिवारको योगदान एकै पटक झल्कन्छ । पण्डित क्रान्तिपूर्ण उपाध्याय, मुक्तिनाथ अर्याल, गीतराज रेग्मी, पण्डित मेघराज उपाध्यायहरु ब्राम्ह्ण परिवारका प्रतिष्ठित व्यक्तित्व थिए घरबारी टोलका । घरबारी टोलले शम्भु पटवारीलाई पनि बिर्सन सक्दैन । निकै लामो समयसम्म उनले यस टोलको नेतृत्व गरेका थिए । कृष्णलाल गुभाजु (भुरे मास्टर) को घरबारीटोलमा शिक्षाको क्षेत्रमा गरेको योगदान पनि स्मरणीय छ ।
प्रारम्भमा, सबैको घरबारीका लागि बसाइएको घरबारीटोल आज आएर घरबारीटोल बजारको रुपमा फैलिंदै छ । सुब्बा डिल्लीमान, भगवतजंग राणा र पण्डित क्रान्तिपूर्ण, मुक्तिनाथहरुका ठूला घरहरु जहाँ चन्द्र समशेरको पाला भन्दा पहिला करियाहरुले भरिपूर्ण हुन्थे अब देखिदैन । बजारले तिनीहरुलाई ओझेल पारिसकेको छ ।
घरबारीटोलका संभ्रान्त वर्गका शान, शौकत अब इतिहासका कुरा भै सके । नयाँ व्यापारी वर्गले तिनीहरुलाई अल्पसंख्यक रैनाथेमा परिणत गरिसकेको छ । झण्डै १ सय ६० बर्ष पुरानो यो टोल अब घर र बारीको टोल रहेन अब त यो घरबारीटोल बजार भैसकेको छ ।
रंगीन पत्रिका, मेरा ती रंगीन सपना

करुणा थापा
ओ हो ! ! १३ वर्ष ७ महिना भएछ, कलम अर्थात पत्रकारिता देखि टाढा भएको । पत्रकारिता मेरो नशा, मेरो विश्वास, मेरो आस्था ! हो, यस्तै लाग्छ मलाई ।
पत्रकारिता मेरो आस्था हो । मेरो नशा हो । नशा हुदाँहुदै पनि टाढा छु, आस्था हुदाँहुदै पनि अलग छु । या भनौं लामो समयदेखि प्रत्यक्ष जोडिन सकेको छैन … बहाना धेरै भयो या भनौ वाध्यताले भन्दा पनि बहानाहरुले टाढा बनायो ।
फेरि अचानक बारम्बार झक्झक्याउने शब्द गुञ्जियो, ‘करुणा यो हराउने नाउँ हैन । आऊ फिर्ता… लेख, कलम समात्, लामो समय पछि लेख्न केही गाह्रे होला तर लेख । तिमी फर्किनु पर्छ, हराउने मान्छे होइनौं तिमी ।’
झलक दा (गैरे) को बारम्बार आउने यी शब्दहरुले मनमा तरंग ल्याउने गर्छ । उर्जा थप्छ । ‘हो नि, म त हराउने मान्छे होइन । त्यो समयमा त गरियो, अब त समय आफ्नै पक्षमा छ । किन हराउनु ? म लेख्छु … ।’ धेरै पटक यहि सोचें । जति पटक झलक दा’संग कुरा गरे, त्यति नै पटक यहि सोचें । तर लेख्ने आँट आएन । लेख्न सकिन । शब्दहरु मनमा आए तर कापीमा उतार्न सकिन ।
यहि पौषको मध्य तिर फेरि आवाज आयो, ‘अब त लेख । शुरु गर…मेरो लागि होइन, आफ्नै लागि लेख ।’ नाई भन्नै सकिन अनि वाचा गरे ‘दा, माघ महिनाको अन्त्यबाट प्रकाशन गर्ने गरि लेख्न शुरु गर्छु ।’
थाहा छैन, लामो समय पछिको लेखाई कस्तो हुन्छ ? तर सोचेको छु, भोगाईहरुमा र व्यक्तिको नितान्त व्यवहारमा देखिने क्रियाकलापहरुमा आधारित भएर लेख्ने कोशिश गर्छु । अनि कोशिश गर्छु निरन्तरताको । यहि विश्वासमा केन्द्रित हुदै, आजको लेखाई आफै सपनाबाट शुरु गर्छु । मोफसलमा रंगीन अनि ठूलो पत्रिको मेरो सपना … ।
मेरो पत्रकारिताको यात्रा टाइपिस्टबाट शुरु भयो । जागिर खाने शिलशिलामा ०५६ सालमा पत्रिकामा समाचार टाइप गर्न पुगे । अरुको समाचार टाइप गर्दागर्दै आफै समाचार लेख्ने रहर लाग्यो । परिणाम स्वरुप, मेरी सखा श्रृजना आचार्य र म भएर ०५७ तिर साप्ताहिक शुरु गर्यौं । महिलाद्वारा शुरु गरिएको मध्यपश्चिमाञ्चलकै पहिलो साप्ताहिक पत्रिका थियो । पत्रकार पुरुषहरुको माझमा हामी एक्लो थियौं । समाचार खोज्नु, लेख्नु, प्रकाशन गर्नु र वितरण गर्नु सबै हाम्रै पोल्टामा थियो । आफै कर्मचारी, आफंै हाकिम । मिडिया सेन्टरबाट प्रदान गरिने तीन महिने पत्रकारिता तालिमको पहिलो चरणको छनोटमा अयोग्य ठहर गरिएको ‘म’ (किनकि म पत्रकार थिइन, टाइपिस्ट थिएँ), तालिम विना नै मैदानमा होमिएको थिएँ ।
मलाई सम्झना छ, पहिलो पटक समाचार संकलन गर्न भेरी हस्पिटलको इमरजेन्सी पुग्दाको । उकालो चढ्दै गरेको माओवादी द्वन्द्व । म पनि रोल्पाको घटनाबाट घाइते भएकाहरुलाई हेर्न र घटना टिपोट गर्न इमरजेन्सी पुगेको थिएँ । सबै पत्रकार पुरुष हुुनुहन्थ्यो, म एक्लै थिएँ । जसो तसो भीडमा पसेर समाचार टिप्न लागें । एकजना तत्कालिन प्रहरी हवल्दार म नजिकै आएर ‘गोली यहाँ लागेको छ’ भन्दै मेरो कुममा इंगित गर्दा असहज महसुस गरि म त्यो ठाउँ छोडी भागेको थिएँ । तर, पत्रकारिताबाट भाग्न सकिन ।
समाचार लेखनको शुरुवातीमा सिराज खान गुरु बन्नुभयो । त्यो समयमा गोपिन्द्रजी लगायत धेरै व्यक्तिबाट धेरै कुरा सिकें । सबैजना मेरा लागि आत्मिय र सहयात्री भए । शिव डोटेल, तत्कालिन हाकिम भएर होला, हेर्दै डर लाग्दथ्यो । झलक दा, शब्दमा मिठास भर्न मद्दती हुनुभयो । उहाँकै लहलहैमा लागि गजल लेखियो, वाचन गरियो । कुनै पनि लेख लेख्दा वा समाचार लेख्दा एउटै भनाइले मलाई सधै प्रेरित गर्यो ‘कुनै पनि लेख पढ्दा श्रोत रोकिनु÷अड्किनु हँुदैन । पढ्दा पढ्दै श्रोता अड्किन्छ भने त्यो लेखक लेखक हुन सक्दैन ।’ मैले सधैं यहि कुरालाई आफ्नो लेखाईमा उतार्ने प्रयास गरें, थाहा छैन कतिसम्म न्याय गर्न सकें ।
साप्ताहिकको यात्रा ०५८ सालमा गएर दैनिकमा परिणत भयो । संयोग भनौं, त्यो पनि मध्यपश्चिमकै पहिलो दैनिक पत्रिका बन्न पुग्यो, जुन महिलाद्वारा सम्पादन र प्रकाशन गरिएको थियो । पत्रिका पूर्ण रंगीन थिएन तर रातो÷कालो दुई रंगको प्रयोग पत्रिकामा गरिएको थियो । दुई रंगको प्रयोग गर्नु पनि त्यो समयमा ठूलै कुरा थियो। मेरो पत्रकारिताको यात्रामा मलाई पे्ररणा दिने धेरै हुनुहुन्थ्यो । टाइपिस्टबाट साप्ताहिक हँुदै दैनिकसम्म आइपुग्दा मैले क्षमता विकासका लागि धेरै तालिमहरु प्राप्त गरिसकेको थिएँ । साथै विहान ४ बजे देखि रातिको १ बजेसम्मको ‘व्यस्त व्यक्ति’ बनिसकेको थिएँ । काम पनि छैन फुर्सद पनि छैन भने जस्तै थियो दैनिकी । अरुको मध्यरात हुदाँ आफ्नो बिहानी हुन्थ्यो, आफ्नो मध्यरात हुदाँ अरुको बिहानी हुन्थ्यो । यो मेरो मात्र होइन, ती सबै पत्रकारहरुको दैनिकी हो जो साँच्चै नै पत्रकारितालाई नमन् गर्दछन् ।
यो समय नै मेरो जीवनको महत्वपूर्ण समय बन्न पुग्यो । धेरैलाई चिनें, धेरैसंग भेटे, धेरैसंग कुरा गरें । सबै पुरुष पत्रकारहरुको बीच एक्लो महिला हँुदा कागहरुको बीचमा बकुल्लो झैं भएर पनि हतोत्साहित भइन । किनकि मैले राम्रा साथीहरु पाएको थिएँ, राम्रो सहयात्री पाएको थिए । उत्साह दिने व्यक्तिहरु भेटेको थिएँ । ‘राम्रो गरेकी छौं, राम्रो गर’ भन्ने धेरै आवाजहरु सुनेको थिएँ । पुरस्कृत भएको थिएँ । यहि नै मेरो प्रेरणाको श्रोत थियो । दैनिक पत्रिका चलाउनु साँच्चै नै गाह््रो कुरा थियो । खर्च धान्न सकिंदैन थियो । तर पनि टिम यस्तो ऐक्यबद्ध थयो, पैसाको मूल्य नै थिएन । ठाकुर, दामु, शितल, इश्वर, गंगाजस्ता व्यक्तिहरु पाएको थिएँ जो मनका सफा थिए तर ती सबै अहिले यो क्षेत्रबाट धेरै टाढा छन् (दामु र ठाकुर बाहेक)।
दिनहरु बित्दै गयो, चर्चाको शिखरमा पुगिंदै थियो । आप्mनै छाप, आफ्नै पहिचान ‘नयाँ संरचना’ । साँच्चिकै एउटा संरचना थियो । मोफसलमा एउटा बेग्लै पहिचान थियो । ०६२ तिर अचानक एउटा प्रस्ताव आयो, ‘पत्रिकालाई कम्पनीमा लैजाउँ । पूर्व देखि पश्चिमसम्मको बजारलाई ओगटौं । काठमाडौंबाट मात्र कान्तिपुर किन ? मोफसलको कान्तिपुर बनाऊँ, पुस्तकहरु प्रकाशन गरौं, सहकार्य गरौं ।’ मेरो पनि त्यहि सपना थियो । ठूलो पत्रिका रंगीन पत्रिका… मोफसलको कान्तिपुर, एउटा अदृश्य रहर थियो म भित्र… । ‘कानोलाई के चाहियो आँखो’ भने झंै स्थानीय गन्यमान्य र अनुभवले कपाल फुलेका ‘शुभेच्छुक मानिएकाहरु’ बाट प्रस्ताव आएपछि म पनि सपनामा डुब्न लागें मोफसलबाट ठूलो रंगिन पत्रिका निकाल्ने । गोपिन्द्र जी सहमत नहुँदा नहँुद पनि मैले साेंच्न थालें – ओ हो, रंगीन पत्रिका, रंगीन सपना …!
नशा न हो, जति खायो उति लाग्ने, झन् लाग्यो झन् खान मन लाग्ने । पत्रकारिताको नशा नै त्यस्तै थियो म भित्र । कम्पनी बनाउने थप नशाले छोयो । ठूलो पत्रिकाको ठूलो सपनाले छोप्यो । ‘हुन्छ’ भनि अगाडी बढे । देखिएको सबै छायाँ पानी (मृगतृष्णा)हँुदैन । फुलेका सबै कपाल इमान्दारिताबाट नै फुलेका हँुदैनन् । यो कुरालाई बुझ्न सकिन, सोचें जस्तो भएन । ठूलो रंगीन पत्रिका प्रकाशन गर्ने सपनाले गर्दा पत्रिका नै गुम्यो ।
कानूनी लडाई लडियो, तर कमजोर प्रमाणका कारण सबै कुरा हातबाट फुस्क्यो । पत्रिकालाई कम्पनीमा लैजानको लागि सबैकुरा लिखित गर्नबाट ती गन्यमान्य व्यक्तिहरुले बोलेको एउटै शब्दले रोकेको थियो मलाई ‘मेरो ठाउँमा पवन भए, के तिमी पवनसंग लिखित कागज गराँउछौं, विश्वास गर तिम्रो दाइँ हुँ, पवन जस्तै हुँ ।’ यहि शब्दमा विश्वास गरें । आफ्नै दाजुसंग के कागज गर्नु, कुनै लिखित कागज गरिएन । तर ऊ पवन थिएन, मेरो गर्भे दाजु थिएन, जसले मेरो एउटा खुशीको निम्ति आफ्ना हजारौं खुशी लुटाउन सकोस् ।
अन्ततः एउटा सपनाको अन्त्य भयो । यहि अन्त्यसंगै मेरो कलम भाँचियो । मेरो विश्वास उड्यो । पुनः अर्को पत्रिका दर्ता गरें, हाम्रो संरचना । तर प्रेम र विश्वास त नयाँ संरचनामा नै अड्कियो । आत्मा त्यहिं अल्झियो… शरीरले मात्र फेरि लेख्न सकिन । फेरि फर्किन सकिन …। सन्तान गुमाउँदा त्यति के रोइन्थ्यो होला र ? जति पत्रिका गुम्दा रोएँ… शायद त्यहि आँशुमा मेरो कलम नि ःशब्द भयो ।
मोफसलबाट रंगीन पत्रिका, ठूलो पत्रिका निकाल्ने मेरो सपना आज आज १३ वर्ष पछि झलक दा’बाट पुरा भयो… । नेपालगन्जले स्थानीय तहमै स्तरीय पत्रिका प्राप्त गर्यो । खुशी छु, आभारी छु… हार्दिक नमन् यो टीमलाई, सफलताले शिखर चुमोस् ।
कृपया प्रतिक्रियाको लागि ः कबचबकबलगद्दण्२नmबष्।िअयm

प्रतिक्रिया

प्रतिक्रिया