आठौं राष्ट्रिय खेलकुद : यस कारण जित्छ प्रदेश ५ ले हक्कीको उपाधी

‘तपाई लेखेर राख्नुस् यसपाली आठौंको उपाधी प्रदेश ५ ले हात पार्छ’, उत्साहित हुँदै हक्कीका प्रदेश ५ टिम म्यानेजर अशोक कुमार श्रेष्ठले मंगल मावि खेल मैदानमा आफ्ना खेलाडीहरुलाई जुरुक्क पार्दै थिए ।

 
२०४० सालका राष्ट्रिय हक्की खेलाडी श्रेष्ठ प्रदेश ५ का टिम प्रशिक्षक निजामुद्दिन सिद्दिकी, सहायक प्रशिक्षक ओमकार शाही सँग होस्टेमा हैसे गर्दै १ महिनादेखि निरन्तर खेल मैदानमा खटिइरहेका छन् । उनीहरुलाई हौसला दिन आफैपनि हक्की प्लेयर रहेका नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल समशेर राणाले बेला बेलामा मैदान पुगिरहेका छन् । ‘स्वस्थ प्रतिस्पर्धा भयो भने प्रदेश ५ को जीत सुनिश्चित छ’, टिम म्यानेजर श्रेष्ठले दैनिक नेपालगन्ज प्रतिनिधितर्फ फर्किंदै भने, ‘कम्ती परिश्रम गरिएको छैन ।’

 
हुनपनि अहोरात्र खटिएका हक्कीका पूर्व राष्ट्रिय खेलाडीहरु जिल्ला हक्की संघका अध्यक्ष निजामुद्दिन सिद्दिकीको नेतृत्वमा गोलबद्ध भएर देशकै नमूना खेल मैदान तयार गरेका छन् । मंगल माविको फुटबल मैदानलाई हक्की मैदानका रुपमा तयार गर्न पनि निकै मिहेनत गर्नु परेको जानकारी दिंदै सिद्दिकीले भने, ‘पछिल्ला १५ दिनमा कयौं शो म्याच गरिंदा सबै खेलाडीहरुले मैदान मन पराएका छन् ।’ अन्तर्राष्ट्रिय हक्की खेलाडी समेत रहेको सिद्दिकीले आफ्नै खर्चमा युवा, विद्यार्थीहरुलाई निरन्तर हक्कीको प्रशिक्षण समेत त्यही मैदानमा दिइरहेका छन् ।

 
टिम म्यानेजर श्रेष्ठ त्यसै हौसिएका होइनन् । २०४० सालदेखि निरन्तर राष्ट्रिय खेलकुद प्रतियोगितामा हक्कीका ‘हक्की’ खेलाडी जन्माएको बाँके सधैं लुम्बिनीसँग प्रतिस्पर्धा गर्दै आयो । प्रदेश ५ भित्रै लुम्बिनी पनि समेटिएपछि देशका जुझारु हक्की प्लेयरहरु एउटै टिममा परेकाले पनि टिम म्यानेजर श्रेष्ठ उपाधी जित्नेमा ढुक्क भएका हुन् ।

 
‘मैले भनिहालें नि ! स्वस्थ प्रतिस्पर्धा भयो भने घरेलु मैदानमै उपाधी रोकिन्छ’, श्रेष्ठले दैनिक नेपालगन्जसँग विभिन्न तर्क गर्दै भने, ‘यसअघिका आठ वटा राष्ट्रिय प्रतिस्पर्धामा ४ वटा बाँके र ४ वटा लुम्बिनीले जीत हासिल गर्दै आएको छ ।’

 

 

यस्तो छ खेल तालिका
हक्की प्रतियोगिताका लागि खेल तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको तालिका अनुसार, समूह ए मा नेपाल आर्मी, गण्डकी प्रदेश, प्रदेश नं. २, ३ र नेपाल पुलिसको टोली रहेको छ । समूह वी मा प्रदेश नं. ५, १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश टोली रहेका छन् ।

 
प्रतियोगिताको पहिलो दिन तीन खेल हुने भएको छ । मुख्य प्रशिक्षक विजयन्त शर्माका अनुसार बुधवार विहान ७ बजे पहिलो खेल नेपाल आर्मी र नेपाल पुलिस विच हुने भएको छ । भने, दोस्रो खेल प्रदेश नं. २ र प्रदेश नं. ३ बीच तथा तेस्रो खेल प्रदेश नं. ५ र प्रदेश नं. १ वीच हुने छ ।

 
२८ चैतमा हुने पहिलो खेल गण्डकी प्रदेश र नेपाल पुलिस, दोस्रो खेल नेपाल आर्मी र प्रदेश नं. २ तथा तेस्रो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश वीच हुने शर्माले जानकारी दिए । उनले २९ चैतमा गण्डकी प्रदेश र २ नं. प्रदेश वीच हुने भएको छ भने दोस्रो खेल नेपाल पुलिस र ३ नं. प्रदेश वीच प्रतिष्पर्धा हुने छ । त्यसैगरि, तेस्रो खेल ५ नं. प्रदेश र कर्णाली प्रदेश वीच खेल हुने भएको छ ।

 
४ बैशाखसम्म संचालन हुने प्रतियोगितामा ३० चैतमा प्रदेश नं. ५ र सुदूरपश्चिम प्रदेश, प्रदेश नं. १ र कर्णाली प्रदेश वीच दोस्रो र नेपाल आर्मी र प्रदेश नं. ३ वीच हुने भएको छ ।

 
त्यसैगरि, १ बैशाखमा पहिलो खेल नेपाल आर्मी र नेपाल पुलिस वीच हुने छ । भने, दोस्रो खेल गण्डकी प्रदेश र ३ नं. प्रदेश वीच तथा तेस्रो खेल १ नं. प्रदेश र सुदूरपश्चिम प्रदेश वीच हुने पनि शर्माले जानकारी दिए । २ बैशाखमा एउटा खेल मात्र हुने बताउँदै उनले उक्त दिन २ नं. प्रदेश र नेपाल पुलिस वीच हुने जानकारी दिए । ३ बैशाखदेखि सेमिफाइनलका खेल हुने भएको छ । भने ४ बैशाखमा फाइनल खेल हुने उनले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया