विजय बर्मा,
राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा नेपालगन्जले अहिलेसम्म उत्कृष्ट स्थान हासिल गर्दै आएको छ । वास्तवमा यस्ता खेलकुद प्रतियोगिताहरुको आयोजनाले त्यस ठाउँको उचाई नै गर्व गर्न लायक बनाउने गर्छन । त्यसैले होला राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरको खेलकुदको आयोजना गर्नका निमित्त कैयौ विकसित मुलुक एवं शहरले बर्षांै देखि पुर्वाधार बनाउने र आफ्नो ठाउँमा गराउने प्रतिस्पर्धा नै गर्ने गर्छन् ।
फुटबल खेलको अन्तर्राष्ट्रिय प्रतियोगितामा एसियाली मुलुकका केही राष्ट्रहरुको मात्र सहभागिता छ तर पनि मध्यपूर्वको राष्ट्र कतारले फिफा वल्र्ड कप सन् २०२२ का लागि नयाँ फुटबल रंगशाला लगायत कैयौ पूर्वाधार खडा गर्न राष्ट्र नै लागेको छ । चीनले सन् २००८ को ओलम्पिक खेलको आयोजना गर्न राजधानी बेजिङ्गमा फलामै फलामको चराको गुडको आकार प्रकारको रंगशाला बनायो साथै अन्तर्राष्ट्रिय एयरपोर्टमा तेस्रो टर्मिनल त्यही प्रतियोगिताका लागी निर्माण गर्न लगायो । खेलकुद प्रतियोगिता होस् वा अन्य कुनै आयोजना त्यसले त्यस ठाउँ र क्षेत्रको पहिचान लाई माथी उठाएकै हुन्छ ।
नेपालगन्जको खेल र खेलकुदका लागि पुर्वाधारलाई नियाल्ने हो भने नेपालगन्जको रंगशाला र कवर्ड हल राष्ट्रिय स्तरको उत्कृष्ट संरचना नै हो । नेपालगन्जको कवर्ड हल निर्माण भएपछि वि.स. २०४०÷०४२ को आसपासमा यहि संरचना कै कारण केही खेलाडीलाई ओलम्पिक सम्म पु¥यायो भने केहीलाई राष्ट्रिय स्टार बनायो ।
त्यस बेला यहि नेपालगन्जको कभर्ड हलमा १०/१२ वटा मुलुकका ब्याटमिन्टन टीमको सहभागितामा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सफलतापुर्वक सम्पन्न भयो । त्यसबेला हामी जस्ता माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि अन्तर्राष्ट्रिय खेल दर्शकदीर्घामा बसेर हेर्न पाउनु भनेको सौभाग्य कै कुरा थियो । त्यस आयोजनाको प्रभाव त्यति मात्रै होइन हामी र हाम्रा उमेर समुह भन्दा माथिकालाई खेलकुदमा लाग्न र अन्तर्राष्ट्रिय स्तरमा सहभागी हुन अभिलासा र पे्ररणा जगायो । साथै नेपालगन्ज शहर लाई ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन आएका बिदेशी मुलुकका खेलाडी र उनको देशमा नेपालगन्ज परिचित बन्न पुग्यो ।
वास्तवमैं नेपालगन्ज शहरको आफ्नै मौलिकता र पहिचान छ, तर यहाँको पहिचानमा खेलकुद पनि कैयौ बर्ष देखि एउटा अभिन्न पाटोको रुपमा विकसित हँुदै आएको छ । राष्ट्रकै राष्ट्रिय स्तरको प्रतियोगिता कैयौ बर्ष देखि आयोजना हुन नसकेको अवस्थामा चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालगन्जले खुला र उदार हृदयबाट आयोजना गरि मुलुक भरिमा चर्चा बटुलेको थियो । त्यो बेला पनि पुर्वाधार, हावापानी, एवं परिषद्को किचलो देखिएको थिायो । कतिले त्यस्तो गर्मी हुने ठाँउमा कसरी खेलकुद गर्न सकिन्छ भन्ने प्रश्न गरेका थिए तर नेपालगन्जबासी, खेलप्रेमी र स्थानीय निकायहरुको पहलमा त्यो आयोजना पनि उत्कृष्ट रुपमा ब्यवस्थापन गरिएको थियो ।
चौथो राष्ट्रिय खेलकुदमा खास गरि खेलाडीको आवास र खाना राष्ट्रिय खेलकुद परिषदका लागि प्रमुख चुनौतीको रुपमा रहेको थियो । करिब २ हजार खेलाडी र अफिसियलको सहभागिता भएको उक्त आयोजनालाई नेपालगन्जले सहजै समपन्न गर्न सफल भएको अहिले पनि हाम्रा माझ ताजै छ । चौथो खेलकुदको आयोजनामा रतन कुमार टण्डनले आफ्नो क्षमता र शक्ति भरपुर लगाएर नेपालगन्जलाई खेलकद जगतमा नयाँ आयामको रुपमा स्थापित गरे । रतन भैयाले नै आफ्नै पहलमा अन्तर्राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता पनि गराएका थिए । चौथो खेलकुदको प्रमुख खेलहरु नेपालगन्ज रंगशालामा भएको थियो । त्यो प्रतियोगिताका खेलहरु कर्वडहल, नगरभवन एवं टन्डन राइस मिल परिसर भित्र स्थायी अस्थायी संरचनामा भएका थिए ।
धेरैले नेपालगन्जलाई अत्याधिक गर्मी हुने ठाउँका रुपमा परिभाषित गर्ने गर्छन । तर पनि राष्ट्रिय खेलकुद परिषदले चौथो राष्ट्रिय खेलकुदको आयोजना चैत्रको ८ देखि १४ गते गरेको थियो । खेलका प्रतियोगीहरुले गर्मीको आभास नै नगरी खेलमा सहभागी भएका थिए । प्रतियोगितामा तत्कालीन संरचना अनुसार पाँच विकास क्षेत्र र दुईवटा विभागिय टिमले १४० वटा स्वर्ण पदका लागि भिडेका थिए । सो प्रतियोगितामा सबैभन्दा बढि मध्यमाञ्चलले ४९ वटा पदक हात पारेको थियो भने मध्यपश्चिमले ७ वटा हात पारेको थियो । उक्त प्रतियोेगिताले नेपालगन्जलाई राष्ट्रिय स्तरका कार्यक्रम गर्न सक्छ भन्ने नयाँ सन्देश मुलुकलाई दिन सफल भयो । टन्डन राइस मिलको मैदानमा खाना पाक्ने र खुवाउने काम अहोरात्र भयो । खेलकुदको समाचार रिपोर्टिङ्गको लागी सुचनाहरु काठका बोर्डहरु ठाँउ ठाँउमा राखिन्थ्यो र त्यसैमा विजेताको नाम र आवश्यक सुचना सामाग्री लेखिएको हुन्थ्यो । त्यही सूचना एवं संघ समिति र परिषदको समन्वयमा लेखिएको समाचारमा नेपालगन्ज जोडिएर राष्ट्रिय र अन्तर्राष्«िटय जगतमा पे्रषित हुने गरेको थियो ।
पाँचौ राष्ट्रिय खेलकुद २०६५ चैत्रको २४ देखि ३० गते सम्म काठमाडौंमा भयो । त्यो बेलापनि पुर्वाधारको अभाव नै थियो । खेलप्रतियोगिताहरु राजधानीका बिभिन्न ठाउँ दशरथ रंगशाला, सातदोबाटो, पुलिस कल्ब, लाजिम्पाट, एवं एयरपोर्ट जहाँ जुन खेलका लागि उपयुक्त संरचना भेटियो त्यही आयोजना गरिएको थियो । पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा बर्दियामा हुर्केकी नेपाल प्रहरीमा खेल्ने गरेकी केशरी चौधरीले ट्रिपल जम्पमा ११.३० मिटर पार गरी राष्ट्रिय किर्तिमान कायम गरेकी थिइन् ।
पाँचौ प्रतियोगितामा दुईवटा नयाँ समूह सशस्त्र प्रहरी र जनमुक्ति सेनाको सहभागिता बढेर नौ वटा समूह कायम भएको थियो । छैटौं राष्ट्रिय प्रतियोगिता २०६८ चैत्रको १४ देखि २१ सम्म धनगढीमा आयोजना भयो । खेलकुदको राष्ट्रिय प्रतियोगिता २–२ बर्षमा आयोजना गर्ने परिषदको लक्ष्य अनुरुपनै छैटौ भएको थियो । उक्त प्रतियोगीताको उद्घाटन समारोह धनगढी रंगशालामा भयो भने समापन समारोह महेन्द्रनगरमा भएको थियो । खेलका कैयौ प्रतियोगिताहरु टिकापुर लगायतका ठाँउहरुमा आयोजित भएको थियो । छैटौ प्रतियोगितामा विश्वविद्यालयका दुईवटा टिम थपेर १० वटा टिमको सहभागीता रहेको थियो भने जनमुक्ति सेना समायोजन प्रक्रियामा गएकोले उसको सहभागिता घटेर गयो ।
सातौं राष्ट्रिय खेलकुद २०७३ पहिलो पटक जाडो याममा विराटनगरमा गरियो । पौष महिनाको ८ देखि १५ गतेसम्म प्रतियोगिता आयोजना गरिएको थियो । प्रत्येक २/२ बर्षमा हुने खेलकुद प्रतियोगिता संरचनाको अभावका कारण समयमा हुन सकेन । खेलकुद परिषदले प्रतियोगिता आयोजनाको सुनिश्चितता दिन नसेको अवस्थामा सातौं खेलकुदको तिथिमिति तोकिएको थियो । त्यो बेला पनी पुर्वाधारको अभाव थियो । विराटनगरको रंगशालामा अस्थायी संरचना बनाई उद्घाटन भयो भने समापन धरानको फुटबल रंगशालामा भएको थियो । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनमा नेपालगन्जले आठौं खेलकुदको आयोजना गर्ने जिम्मेवारी लिएको थियो ।
सातौ प्रतियोगिताका खेलहरु पुर्वाञ्चल भरि झापा, धनकुटा, सिराहाका साथै केहि प्रतियोगिता पोखरामा पनि भएको थियो । यतिबेला आठौ प्रतियोगितामा पनि पुर्वाधारको अभाव र नेपालगन्जको गर्मीलाई लिएर पछि धकेल्ने प्रयास पनि नभएको होइन, तर विगतका आयोजनालाई हेर्ने हो भने राष्ट्रिय खेलकुद परिषद अन्यौलताकै अवस्थामा आयोजना गरेको देखिन्छ । नेपालगन्जको लागि यो प्रतियोगिता अवसरै अवसरको उपहार हो । अहिलेसम्म मुलुकभरिमा काठमाडौ बाहेक नेपालगन्ज नै त्यो ठाउँ हो जसले दोस्रो पटक यो राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दैछ । यस अघि दोस्रो र तेस्रो खेल बिरगंज र पोखराले एक÷एक पटक आयोजना गरिसकेका छन् । खेलकुद पुर्वाधारको रुपमा अन्तर्राष्ट्रिय स्तरकै हुन सक्ने सुटिङ्ग, पौडी, एथलेटिक्स र भारोत्तोलन जस्ता खेलका लागि नेपालगन्जमा संरचनाहरु तयार भएका छन् भने १० हजार दर्शक अट्न सक्ने आधुनिक रंगशालाको निर्माण भएको छ । पूर्वाधारसहित प्रतियोगिताका लागि अहिलेसम्मकै सर्वाधिक झण्डै डेढ अर्ब बजेट नेपालगन्ज लगायत प्रदेश ५ को केही जिल्लामा खर्च गरिंदैछ ।
नेपालगन्जमंै भएको चौथो खेलकुद प्रतियोगितामा जम्मा दुई हजार खेलाडी सहभागी भएका थिए भने अहिले आठौंमा करिव ५ हजार खेलाडी सहभागी हुनेछन् । यसका साथै अफिसियल र खेलप्रेमीहरुको सहभागीता बढ्ने देखिन्छ । प्रतियोगिताको राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडिया कभरेजले केहि क्षणकै लागि भएपनि नेपालगन्ज शहरलाई विश्वस्तरमंै पहिचान दिलाउने छ । आठांै राष्ट्रिय खेलकुद प्रतियोगितामा हाम्रो पुस्ता जसले चौथोमा पनि सहभागिता जनायो अहिले पनि थप जोस् र जाँगरका साथ सक्रियता देखाउन तत्पर छ । राष्ट्रिय खेलको इतिहासमा आठौंको आयोजनाले नेपालगन्जलाई नयाँ उचाईमा पु¥याउने आशा गरिएको छ । त्यसका लागि बाँकेवासी सहित सिंगो प्रदेश ५ वासी एकजुट भएर आठौं राष्ट्रिय खेलकुदको भव्य सभ्य सफलताका लागि एकजुट भएर लाग्नुपर्छ । (वरिष्ठ पत्रकार बर्मा नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्र प्रमुख हुन् । )