संघीय सरकारसंग विकास माग्दै नरैनापुरको टोली काठमाडौमा
विकासमा पछि परेको बाँकेको नरैनापुर गाउँपालिकाको टोली आगामी बर्ष विकासका लागि पर्याप्त बजेट जुटाउने लक्ष्यले काठमाडौं पुगेको छ । नरैनापुर गाउँपालिकाको जनप्रतिनिधिको टोली संघीय मन्त्रालय पुगेर विभिन्न क्षेत्रका लागि बजेट उपलब्ध गराउन माग गरेको हो ।
‘आगामी आ.व.को बजेट तयार गर्ने समय हुँदैछ’, प्रतिनिधिसभा सदस्य महेश्वर गहतराजले भने, ‘त्यसैले विकासका लागि पर्याप्त बजेट उपलब्ध होस् भन्ने दबाबका लागि टोली काठमाडौं आएको हो ।’ उनले बजेट आउनु अघि नै काठमाडौं पुगेर गरिएको प्रयासले सकारात्मक परिणाम आउने विश्वास लिएको बताए । नरैनापुर गाउँपालिकाको टोलीसँग सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य गहतराज पनि बिहीबार विभिन्न मन्त्रालय पुगेका छन् । उनले कृषि, शिक्षा, खेलकुद, स्वास्थ्य क्षेत्रका समस्या मन्त्रालयमा राख्दै समाधानको लागि सम्बन्धित मन्त्रालयका मन्त्रीसँग अनुरोध गरेको जानकारी दिए । ‘विभिन्न मन्त्रालयमा नरैनापुरले आफ्ना मागहरु बुझाएको छ’, गहतराजले भने ।
हुलाकी र विद्युतीकरणको क्रममा रहेको नरैनापुरमा विकासका अन्य पूर्वाधार निर्माणका लागि मन्त्रालयहरुको ध्यानाकर्षण गराउन खोजिएको हो । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह नेतृत्वको टोलीले सभामुख कृष्ण बहादुर महरालाई भेटेर गाउँपालिकाको विकासमा पछि परेको भन्दै ध्यानाकर्षण गराएको थियो । प्रदेश सभा सदस्य कृष्णा केसी नमुना समेत सम्मिलित टोलीले सभामुख महरालाई गाउँपालिकाको समग्र विकासका लागि पहल गरिदिन आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले जानकारी दिएका छन् ।
नरैनापुरमा स्वास्थ्य चौकी रहेपनि दरबन्दी अनुसार चिकित्सक हुँदैनन् । नरैनापुरको टोलीले स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई नै भेटेर चिकित्सक उपलब्ध गराउन माग गरेको थियो । त्यसक्रममा गर्मी सुरु भएकाले मच्छरबाट बच्नका लागि नरैनापुर गाउँपालिकाका ६ वटा वडाका लागि १२ हजार सुपानेट झुल उपलब्ध गराउन माग गरिएको थियो ।
पूर्व उपसभामुख एवम् सांसद् पुर्णा कुमारी सुवेदी, बाँके क्षेत्र नम्बर १ का सांसद् महेश्वरजंग गहतराज अथक र प्रदेश सभा सदस्य नमुना सहित विभिन्न मन्त्रालय पुगेको डेलिगेशन टोलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई भेटेर गाउँपालिकको भवन र अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि सहयोग गरिदिन आग्रह गर्यो । त्यस्तै समायोजनपछि कर्मचारी अभावले काम गर्न समस्या भइरहेको अवगत गराउँदै यथाशिघ्र कर्मचारी पठाइदिन माग गरेको बस्नेतले जानकारी दिए ।
टोलीले विहीबार नै वन तथा वातावरण मन्त्री शक्ति बस्नेतलाई पनि भेटेर प्रस्तावित क्रिकेट रंगशाला निर्माणका लागि सामुदायिक वनको नाममा रहेको १५ विगाहा जग्गा प्रयोग गर्न अनुमति मागेको छ । त्यस्तै अनुमति लिएर जनावरको शिकार गर्न पाउने गरी नरैनापुर गाउँपालिकालाई ‘हन्टिङ भिलेज’को रुपमा स्थापित गर्न आग्रह गरिएको छ ।
कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाललाई डेलिगेशन टोलीले वडा नम्बर ४ को खोदामा गाउँमा ५० विगाहा ऐलानी जग्गामा माछापोखरी, कृषि हाट बजार निर्माण, दुग्ध संकलन केन्द्र र नमुना पशु फर्मसहित रहेको कृषि हब निर्माणका लागि सहयोग गरिदिन माग गरेको छ । ‘गाउँपालिकाको अवस्था निकै खराब छ, जनता समस्यामा छन्, न विजुली छ, न सिंचाई सुविधा छ, हामीले जनता समक्ष गरेका प्रतिबद्धता पुरा गर्न संघीय सरकारले सघाउन जरुरी छ’, शाहले भने ।
प्रतिनिधिसभा सदस्य गहतराजले आज शुक्रबार शिक्षा मन्त्रीसँग भेट्ने कार्यक्रम रहेको जानकारी दिए । उनले गाउँपालिकामा नियमित लेखापाल नहुँदा दैनिक कामकारवाही प्रभावित भएको भन्दै कर्मचारी उपलब्ध गराउन समेत महालेखापरीक्षकको कार्यालयलाई अवगत गराएको बताए । काठमाडौं जानु अघि नरैनापुर गाउँपालिकाको टोलीले प्रदेशको अस्थायी राजधानी बुटवल पुगेर मन्त्रालयसँग नरैनापुर गाउँपालिका विकासमा पछि परेको भन्दै विशेष रुपमा हेर्ने आग्रह गरेको थियो ।