बाँके सहकारीले रोके भारत जाने पूँजी

कुनै बेला सीमावर्ती भारतीय बजारमा सञ्चालित बैंक तथा सहकारीमा करोडौं रुपैयाँ नेपालगन्ज बजारबाट बचतका रुपमा बाहिरिने गर्दथ्यो । भारतीय बैंक तथा सहकारीका एजेन्डले नेपालगन्जबाट स–सानो बचत रकम दैनिक जसो सीमापारी पुर्याउँथे । तर, बाँकेमा सहकारीहरुको संख्या बढ्दै गएपछि भारतमा बचत गर्ने क्रम न्यून भएको छ ।

 
‘दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’ भने मुल नाराका साथ नेपालगन्जमा बुधबार आयोजना गरिएको ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले भारतमा बचत गर्ने क्रम न्यून भएको बताएका हुन् । उनले नेपालगन्जमा बचतका लागि सहकारीहरुको स्थापना पछि नेपाली पूँजी बाहिरिन कम भएको धारणा राखेका थिए ।

अध्यक्ष सुवेदीले एक सहकारी एक उत्पादनको नीति लिएको उल्लेख गर्दै स्थानीय सहकारीका उत्पादनको बजारीकरणका लागि सहकारी बजार स्थापना गर्न लागेको जानकारी दिए । ‘एक बर्षभित्र जिल्लामा सहकारी बजार स्थापना गर्ने लक्ष्य राखेका छौं’, अध्यक्ष सुवेदीले भने । हाल एक सहकारी एक उत्पादन अन्तर्गत हाल ५ वटा सहकारी उत्पादनसँग जोडिएका छन् । सहकारी बजार स्थापना पछि आगामी बर्षसम्म उत्पादनमा जोडिने सहकारीहरुको संख्या २० पुग्ने विश्वास समेत उनले व्यक्त गरे ।

 
संघीय सरकारका सहरी विकास मन्त्री मो. इस्तियाक राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले बाँकेमा सहकारीहरुको संख्या ४ सय ९ पुगेको जानकारी दिएका छन् । ‘बाँकेमा रहेका सहकारीमा १ १ लाख ६५ हजार सदस्य आबद्ध हुनुहुन्छ’, अध्यक्ष सुवेदीले भने, ‘१ हजार ६ सयलाई सहकारीलाई रोजगारी दिएको छ ।’ उनले २७ सय भन्दा बढी सहकारीको सञ्चालक समितिमा आबद्ध रहेको बताए ।

 
बाँकेमा बचत तथा ऋण सँगै कृषि क्षेत्रमा पनि सहकारी संस्था सक्रिय छन् । बाँकेमा सहकारीले दैनिक ८ हजार लिटर दुधको कारोबार गर्ने गरेको अध्यक्ष सुवेदीले जानकारी दिएका छन् । ‘बार्षिक १ हजार ५ सय मेट्रिक टन बढी धान र १ हजार मेट्रिक टन गहुँको बिउ सहकारीहरुले तयार गर्छन्’, अध्यक्ष सुवेदीले भने ।

 
नेपालमा हाल ३४ हजार ५ सय १२ सहकारी संस्था रहेका छन् । जसमा ६२ लाख भन्दा बढी सेयर सदस्य आबद्ध छन् । सहकारीको बार्षिक कारोबार चार खर्ब बढी रहेको अनुमान छ । ‘नेपालमा कूल गार्हस्थ्य उत्पादनमा सहकारी क्षेत्रको योगदान चार प्रतिशत रहेको अनुमान छ,’ अध्यक्ष सुवेदीले भने ।

 
एकता शाहले स्वागत गरेको कार्यक्रम बोल्दै राष्ट्रिय सहकारी बैंक प्रदेश ५ का सञ्चालक विजया धितालले सहकारी मार्फत सुखी नेपाली समृद्ध नेपालको लक्ष्य हासिल गर्न सकिने बताइन् । ‘गरिबी, असमानता, भोकमरीको अन्त्य गरी समुन्नत नेपाल बनाउन सहकारीको भूमिका महत्वपूर्ण छ’, धितालले भनिन् । उनले सहकारी मार्फत रोजगारीको सिर्जना र पूँजी निर्माण गर्न सकिने बताइन् ।

 
कार्यक्रममा प्रमुख अतिथि मो. इस्तियाक राईले जिल्ला सहकारी संघले प्रयोग गर्दै आईरहेको ३ कठ्ठा १६ धुर जग्गा सहकारीलाई भोगाधिकार उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा नेकपाका गोपाल गिरी, अक्कल बहादुर बम, नेपाली काँग्रेसका कपिलदेव शर्मा, संघीय समाजवादी फोरमका कमरुद्दिन राई लगायतले बोलेका थिए । सहकारी दिवसको अवसरमा गृहिणी बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक दिपिका थापा, साना किसान तथा कृषि सहकारी संस्थाका यदुनाथ शर्मा र माता बागेश्वरी सहकारी संस्थाका व्यवस्थापक अम्बिका काफ्लेलाई उत्कृष्ट सहकारीकर्मी रुपमा सम्मान गरिएको थियो ।


महिला समाजसेवा बचत तथा ऋण सहकारी संस्था कोहलपुर, चुलिमालिका कृषि सहकारी संस्था बैजनाथ, सहकारी संस्था लि. कोहलपुर उत्कृष्ट सहकारीका रुपमा सम्मान गरिएको थियो । नेपालमा पहिलो सहकारी स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । नेपालको पहिलो सहकारी संस्था बखान सहकारी संस्था हो । सो संस्था २०१३ साल चैत २० मा चितवनमा स्थापना भएको थियो ।

 


हाल सञ्चालित सहकारी संस्थामध्ये बचत तथा ऋण परिचालन गर्ने सहकारी संस्थाको संख्या ४० प्रतिशत छ । उक्त संस्था सहर केन्द्रीकृत छन् । नेपालमा बचत तथा ऋण लगानी गर्ने संस्थाको संख्या १३ हजार ५७८ छ ।

प्रतिक्रिया

प्रतिक्रिया