नेपालगन्जमा आयोजना हुने आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि माहोल बनाउँदै बाँके जिल्ला बुद्धिचाल संघ द्वारा शनिवार नेपालगन्जमा दोश्रो चरणको अभ्यासात्मक चेस प्रतियोगिताको आयोजना गरेको छ ।
गत साताबाट प्रत्येक शनिवार खेलप्रति उत्प्रेरणा जगाउने ध्येय सहित बाँके जिल्ला बुद्धिचाल संघले प्रतियोगिताको आयोजना गरेको हो । ‘हामी चाहन्छौं हरेक साता वर्षका ५२ वटै शनिवार यसखालका प्रतियोगिता आयोजना गर्न सकौं,’ संघका सदस्य समेत रहेका कार्यक्रम संयोजक पशुपति नाथ योगीले दैनिक नेपालगन्जसँग भने । बुद्धिचालका प्रशिक्षक समेत रहेका योगीले गत भाद्रमा बाँके जिल्ला बुद्धिचाल संघमा नयाँ नेतृत्व आएलगत्तैबाट जिल्लामा बुद्धिचाल खेलका गतिविधिले तिब्रता लिएको हो ।
बाँके जिल्ला बुद्धिचाल संघका अनुसार, शनिवार बाँके बर्दियाका विभिन्न २० जना सहभागीबीच भएको विभिन्न विधाका प्रतियोगितामा कमल पोखरी स्कुलका अनुपजंग शाह ४.५ अंकका साथ प्रथम भएका छन् । होलिल्याण्डका मंगल बुढा दोश्रो र संगम पोख्रेल तेश्रो हुन सफल भएको कार्यक्रम संयोजक योगीले जानकारी दिए । उनका अनुसार, बेस्ट बर्दियामा शंकर थारू र अन्डर १० वर्षमा होप इन्टरनेशनलका सम्यक गैरे पर्न सफल भए । गैरे गत साता पनि उक्त विधामा पुरस्कृत सबैभन्दा साना खेलाडी हुन् ।
छात्रा तर्फ ३.५ अंकका साथ नेपालगन्ज मोडेल एकेडेमीकी अस्मिता रावल प्रथम भएकी छन् । जि भि एन स्कुलकी श्रृजना रिजाल दोश्रो र युनाइटेड एजुकेशनल एकेडेमीकी अनुपमा थापा तेश्रो भएको कार्यक्रम संयोजक योगीले जानकारी दिए ।
खुल्ला तर्फ प्रेम बहादुर सोमई ४ अंकका साथ प्रथम, बर्दियाका ईश्वर श्रेष्ठ दोश्रो, मदन वली तेश्रो, बर्दियाकै जय बहादुर सुनार चौथो र सुरेश चौधरी पाँचौ भएका छन् । प्रतियोगितामा आसन्न आठौंका लागि प्रदेश ५ बाट छनोटमा परेका बाँके र कर्णाली प्रदेशबाट छनोटमा परेका खेलाडीसमेत भाग लिएका थिए ।
बाँके जिल्ला बुद्धिचाल संघका अध्यक्ष धनीराम ओलीको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटनपछि प्रमुख अतिथि नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य झलक गैरे, बाँके जिल्ला बुद्धिचाल संघका उपाध्यक्ष प्रेम बहादुर सोमई, बर्दिया जिल्ला बुद्धिचाल संघका अध्यक्ष किरण नापीतले विजेताहरुलाई नगद पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता समापनमा वक्ताहरुले आसन्न आठौंको माहोल बनाउन बाँके जिल्ला बुद्धिचाल संघको निरन्तरका प्रतियोगिताले महत्पूर्ण भूमिका खेलेको बताए ।