प्रदेश सरकारको अनुदानमा बाँकेमा करोडौं मूल्यका मिट मार्ट सञ्चालनमा आउने भएका छन् । प्रदेश ५ को कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका विभिन्न चार ठाउँमा मिट मार्ट सञ्चालनका लागि अनुदान सम्झौता गरेको हो ।
‘प्रत्येक सहकारीलाई ५० लाख अनुदान दिने गरी काम अगाडि बढाउन सम्झौता गरिएको छ’, कृषि तथा सहकारी मन्त्री आरती पौडेलका स्वकीय सचिव सुर्य रोकायले जानकारी दिए । उनका अनुसार, शुक्रबार पशुपंछी तथा मच्छ्य विकास निर्देशनालयका निर्देशक युगल किशोर तिवारीले प्रस्तावकहरुसँग परियोजना सञ्चालन गर्न अनुदान सम्झौता गरेका हुन् ।
प्रदेश ५ मा प्रदान गरिने चार वटा मिटमार्ट मध्ये तीन वटा बाँकेमा परेका छन् । मन्त्री पौडेलका स्वकीय सचिव रोकायका अनुसार, यम्मीफ्रोजन फुड्स नेपालगन्जका दिपेन्द्र राज श्रेष्ठ, एमके पिग फर्म कोहलपुरका माधव रेग्मी र जयपृथ्वी कृषि सहकारी संस्था नेपालगन्जका अध्यक्ष लोकेन्द्र बहादुर चन्दले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
केसी मिट एण्ड एग्रो फर्म तुल्सीपुरका बलिराम खत्रीले पनि ५० लाख अनुदान लिने गरी स्वस्थ, सफा मासु सेवन गराउने सुनिश्चितताका साथ प्रदेश सरकारसँग मिट मार्ट सञ्चालन सम्झौता गरेको रोकायले जानकारी दिए । ‘प्रत्येकले कम्तिमा ५० लाख आफ्नो लगानी सुनिश्चित गरेपछि त्यसका आधारमा प्रदेश सरकारले अनुदान रकम प्रदान गर्नेछ’, रोकायले दैनिक नेपालगन्जसँग भने, ‘यसले स्वस्थ र सफा मासु उपभोक्तालाई प्रदान गर्ने व्यवस्थाको सुनिश्चितता गर्नेछ ।’