मध्यपश्चिमले २०७३ साल पुस १५ गते आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना जिम्मेवारी पाएको छ । करिब शुन्य भौतिक पूर्वाधार रहेको अवस्थामा मध्यपश्चिमले दुईबर्ष भित्र प्रतियोगिताका लागि भौतिक पूर्वाधार बनाएर प्रतियोगिताको आयोजना गर्ने अभिभारा बोकेको थियो ।
धरानमा सातौंको समापन गर्दा मध्यपश्चिम आठौं राष्ट्रिय खेलकुद नेपालगन्जमा गर्ने घोषणा सहित राखेपका सदस्य सचिव केशव विष्टले मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली, बर्दिया अध्यक्ष खगेन्द्र खनाल लगायतका खेल पदाधिकारीहरुलाई झण्डा हस्तान्तरण गरेका थिए ।
दुई दशकपछि मध्यपश्चिमले पुनः राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो । मुलुक संघीयता गएपछि प्रतियोगिताको आयोजक प्रदेश ५ रहेको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको पहलमा राष्ट्रिय खेलकुद परिषदले बृहत राष्ट्रिय खेलकुदको आठौं संस्करण मध्यपश्चिममा गर्ने निर्णय गर्दै तयारी सुरु समापनदेखि नै आठौंका लागि योजना सुरु गरेको थियो ।
‘यो मध्यपश्चिमको लागि निकै खुशीको कुरा हो’, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले दैनिक नेपालगन्ज स“ग तत्कालीन समयमा प्रतियोगिताको आयोजना जिम्मेवारी पाएपछि भनेका थिए । सातौं राष्ट्रिय खेलकुद समापन समारोहमा तत्कालीन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली र राखेप सदस्य सचिव केशव विष्टले संयुक्त रुपमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीलाई यो जिम्मेवारी सुम्पिदै धरानमा झण्डा हस्तान्तरण गरेका थिए । उपराष्ट्रपति नन्दबहादुर पुन र सम्पुर्ण खेलाडी बीच २०७५मा आठौं राष्ट्रिय खेलकुद संस्करण गर्ने प्रतिबद्धताका साथ झण्डा हस्तान्तरण गरिएको थियो ।
प्रतियोगिताको मुख्य आयोजना नेपालगन्जमा हुने भएकाले नेपालगन्जले त्यसलाई उपलब्धीका रुपमा लिएको छ । छोटो अवधीमा प्रदेश ५ मा अर्बौको खेल पूर्वाधार तयार गर्नुपर्ने भएकाले राखेप, खेलकुद विकास समिति दुई बर्षदेखि निरन्तर खटिरहेको छ । यद्यपि, बजेटको उपलब्धता, मौसमी प्रतिकुलताका कारण मंसिरमा आयोजना हुने भनिएको प्रतियोगिता सार्नु परेको थियो ।
प्रतियोगिता यसै महिनाको अन्त्यसम्म आयोजना गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि भौतिक पूर्वाधार निर्माण करिब सकिइसकेको छ ।
सातौं राष्ट्रिय खेलकुद २०७३
सातौं राष्ट्रिय खेलकुद २०७३ (Seventh National Games(NEPAL) 2073) नेपाल राष्ट्रिय खेलकुदको सातौं संस्करण हो ।जुन ३५ वर्ष पछि पूर्वाञ्चल विकास क्षेत्रले आयोजना गरेको थियो ।नेपाली खेल जगतको महाकुम्भ मेलाका रूपमा परिचित यस बृहत खेलकुदमा जम्मा ३५ खेलहरू समावेश गरिएको थियो । यस्तै यस राष्ट्रिय खेलकुदको मुख्य नारा “पूर्वाञ्चलमा खेलकुद सातौं, विविधतामा रमाएर बाचौं´´ थियो।
उद्घाटन समारोह
राष्ट्रपति विद्यादेवी भणडरीले विराटनगरको सहिद रंगशालामा भव्य समारोहबीच सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन गरेकी थिइन् ।उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले राज्यको सीमित साधन स्रोतले मात्र खेलकुद क्षेत्रको समग्र विकास सम्भव नहुने भएकोले सार्वजनिक निजी साझेदारी लगाउनी बढाउनु पर्ने बताइन् । भण्डारीले भनिन्, “राज्यको प्रयास खेलकुदमा आफ्नै लगानी अभिवृद्धि गर्ने भए पनि त्यसले मात्र समग्र खेल क्षेत्रको विकासमा अपुग हुने भएकोले साझेदारी बढाइनु पर्छ ।´´
खेलकुदका माध्यमबाट नेपाली खेलाडीको निष्ठा र समर्पणले अन्तर्राष्ट्रियस्तरमा इज्जत तथा प्रतिष्ठा बढेको बताउदै राष्ट्रपतिले गत वर्षको भूकम्पको नाकारात्मक प्रभावका बाबजुत पूर्वाञ्चलमा राष्ट्रिय खेलकुद हुनु सुखद पक्ष भएको बताइन् । भण्डारीले क्रिकेट र फुटबलमा नेपाली खेलाडीले गरेको प्रगति प्रशंसायोग्य भएको चर्चा गरिन् ।
उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले सातौं खेलकुद खेलको विकासमा कोसेढुंगा सावित हुने बताए । खेलकुद सचिव महेशप्रसाद पौडेलले काठमाडौं, विराटनगर र पोखरामा राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने लक्ष्यलाई यो प्रतियोगिताले थप बल मिल्ने बताए । उनले जाकर्तामा हुने एसियाली खेलकुद, नेपालमा सन् २०१९ मा हुने सागको तयारीका लागि पनि सातौं राष्ट्रिय खेलकुद सहयोगी हुने बताए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिताले पूर्वाञ्चलमा खेलकुदको विकास उत्साहजनक रुपमा बढ्ने बताए । प्रतियोगितामा ओलम्पीयन बैकुण्ड मानन्धर, दिपक विष्ट, संगीना वैध, चन्द्रकला थापा, डम्बर कुवँर, अर्जुन पण्डित, टिकाराम श्रेष्ठ, मेनुका रावत, पुष्पराज ओझालगायतले विराटनगरको सहिद रंगशालामा सातौं खेलकुदको ज्योति परिक्रमा गराएका थिए।
खेलाडी नगेन्द्र पोमुले सातौंको खेलकुद ज्योति प्रज्वलन गराए । यसअघि पाँच विकास क्षेत्रका पाँच टिम र तीनवटा विभागीय टिम नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टिमले मैदानमा मार्चपास गरेका थिए ।
राष्ट्रिय तथा सांस्कृति पक्ष झल्कने नृत्यका साथै सातौंको मस्कट अर्नाको मास्क लगाएका खेलाडीले खेल मैदानको माहौल निकै रोमाञ्चक बनाएका थिए। कार्यक्रममा गायक सुमित खड्का र प्रश्ना शाक्यले खेलाडीकै लागि बनाइएको गीत गाए । तुलब्यानरका साथ बेहुली झैं सिँघारिएको सहिद मैदानको उद्घाटन कार्यक्रम हेर्ने सर्वसाधारणको बाक्लो उपस्थिति थियो । दुई घण्टा ३० मिनेटसम्म चलेको उद्घाटन कार्यक्रममा विद्यार्थीको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रमाइलो थियो। उद्घाटनमा जातीय पहिचान झल्कने झाँकीका साथै खेलाडीले मार्चपाससमेत गरेका थिए ।
पदक तालिका[सम्पादन गर्ने]
नेपाली सेना शीर्ष स्थानमा रहेको थियो भने प्रतियोगितामा विभागीय टोलीको अत्यान्तै वर्चस्व रहेको थियो । अन्तिम खेल तालिकानुसार कुल दुई सय ९४ स्वर्ण दुई सय ९४ रजत र ४७१ कास्य गरी एक हजार ३५ पदकमध्ये सम्पन्न खेलमा बर्चस्व कायम राख्दै नेपाली सेनाले एक सय आठ स्वर्ण, ६१ रजत र ४३ कास्य गरी २१२ पदकमाथि कब्जा जमाई खेलको पदक तालिकामा शीर्ष स्थानमा राखेको थियो ।
यसैगरी सशस्त्र प्रहरीले ४७ स्वर्ण, ४३ रजत र ५६ कास्यसहित १४६ पदक प्राप्त गर्दै खेलको पदक तालिकामा दोस्रो तथा नेपाल प्रहरीले ४० स्वर्ण, ३७ रजत र ४० कास्य पदक सहित एक १७ पदक प्राप्त गर्दै खेल पदकमा तेस्रो स्थान प्राप्त गरेका थिए।
त्यसैगरी खेलको पदक तालिकामा मध्यमाञ्चल टोलीले ३१ स्वर्ण, ४९ रजत र ५७ कास्यसहित एक सय ३७ पदक जितेको थियो । मध्यपश्चिमाञ्चलले आठ स्वर्ण, ४२ रजत र १४ कास्यसहित ६४ पदक तथा पश्चिमाञ्चलले सात स्वर्ण, २१ रजत र ३४ कास्यसहित ६४ पदक हात पारेका थिए । पूर्वाञ्चलले छ स्वर्ण, १६ कास्य र ४७ रजतसहित ६९ पदक र सुदूरपश्चिमाञ्चलले चार स्वर्ण, ११ रजत र ५९ कास्यसहित ७४ पदक प्राप्त गरेका थिए ।जुन तलको पदक तालिकाले समेत प्रस्त पार्दछ।
- सातौं राष्ट्रिय खेलकुद
- – २०७३ को अन्तिम पदक तालिका
स्थान | टिम | स्वर्ण | रजत | कांस्य | कुल |
---|---|---|---|---|---|
१. | नेपाली सेना | १०८ | ६१ | ४३ | २१२ |
२. | नेपाल सशस्त्र प्रहरी बल | ४७ | ४३ | ५६ | १४६ |
३. | नेपाल प्रहरी | ४० | ३७ | ४० | ११७ |
४. | मध्यमाञ्चल | ३१ | ४९ | ५७ | १३७ |
५. | मध्यपश्चिमाञ्चल | ८ | ४२ | १४ | ६४ |
६. | पश्चिमाञ्चलल | ७ | २१ | ३४ | ६४ |
७. | पूर्वाञ्चल | ६ | १६ | ४७ | ६९ |
८. | सुदूरपश्चिमाञ्चल | ४ | ११ | ५९ | ७४ |
जम्मा | २९४ | २९४ | ४७१ | १०३५ |