नेपालगन्जका उद्योगी, व्यवसायीहरुले नेपाली उत्पादनको यूनाइडेट अबर इरिमेन्टस (यूएइ)मा व्यवसायिक सम्भावनाबारे जिज्ञासा राखेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालका लागि यूएइएका राजदुत सइद हम्दन अल नकीब र नेपालगन्जका व्यवसायीहरु बीच आयोजना गरेको छलफल कार्यक्रममा नेपालगन्जका व्यवसायीहरुले नेपाली उत्पादनको यूएइमा बजारीकरणको सम्भावनाबारे राजदुतसँग जानकारी मागेका हुन् ।
नेपालका लागि यूएइका राजदुत नकीबसँग पहिलो पटक रुबरु हुने अवसर पाएपछि नेपालगन्जका व्यवसायीहरुले नेपाली उत्पादनलाई यूएइ पुर्याउनका लागि त्यहाँको सरकारले उपलब्ध गराउन सक्ने सहुलियतको बारेमा राजदुतलाई प्रश्न गरेका थिए ।
कार्यक्रममा बोल्दै नेकपाका नेता हारुन हलवाईले नेपाली व्यवसायीहरुका उत्पादन विदेश निर्यातका लागि आवश्यक पहल गर्न सरकार र पार्टी तयार रहेको बताएका थिए । कार्यक्रममा सहभागीहरुले नेपालबाट फ्रोजन मिट, कृषि र जडिबुटीजन्य उत्पादनमा यूएइ पुर्याउन त्यहाँको सरकारले कस्तो सुविधा दिनसक्छ भन्ने जिज्ञासा राखेका थिए ।
जडिबुटी व्यवसायी हाजी सकिलले नेपालमा प्रशस्त जडिबुटी उत्पादन हुने उल्लेख गर्दै यूएइ पुर्याउनका लागि प्रक्रियागत सहजीकरणका लागि राजदुतसँग आग्रह गरेका थिए । उनले यूएइ सरकारसँग कर लगायतका विषयमा सहुलियतका लागि सहजीकरण गरिदिन राजदुत समक्ष आग्रह समेत गरेका थिए ।
व्यवसायी बसन्त लामिछानेले यूएइसँग नेपालको व्यवसायिक सम्बन्ध मजबुत बनाउन व्यवसायिक हितका लागि संगठित दुवै देशका संगठन बीच आपसी सहकार्यमा जोड दिएका थिए । ‘यूएइ सरकारले नेपाल र यूएइका व्यवसायीहरु सम्बन्ध स्थापित गर्न भूमिका खेल्न आवश्यक छ’, लामिछानेले भने ।
प्रदेश सभा सदस्य मो. याकुव अन्सारीले यूएइमा नेपालबाट वस्तु निर्यात गर्न सकिने भएकाले त्यहाँको सरकारबाट पनि पहल हुन आवश्यक रहेको धारणा राखे । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य कृष्ण प्रसाद श्रेष्ठले नेपालमा लगानी सम्मेलन हुन लागेको उल्लेख गर्दै नेपालमा लगानी गर्न आग्रह गरेका थिए । उनले नेपाल र यूएइ बीच व्यवसायी सम्बन्ध स्थापनामा जोड समेत दिएका थिए ।
कार्यक्रममा नेपालका लागि यूएइका राजदुत नकीबले नेपाली व्यवसायीहरुलाई आफ्ना अपेक्षाहरु लिखित रुपमा प्रस्तुत गर्न आग्रह गरेका थिए । ‘लिखित रुपमा नेपाली उद्योगी, व्यवसायीका अपेक्षा हामीलाई दिनुस् हामी त्यसमा पहल गर्नेछौं’, राजदुत नकबीले भने । नेपालका लागि यूएइका राजदुत नकबीले नेपाल र यूएइ बीच सम्बन्ध स्थापित भएको ४५ बर्ष भैसकेको उल्लेख गरेका थिए । उनले २ लाख बढी नेपाली यूइएमा कार्यरत रहेको उल्लेख गर्दै भने, ‘हामीलाई अब नेपालबाट दक्ष जनशक्ति आवश्यक छ । नकबीले दक्ष जनशक्ति नेपालबाट यूइए काम गर्न गएमा प्रशस्त आम्दानी गर्ने सम्भावना रहेको समेत बताएका थिए । उनले ७० मिलियन डलरको कारोबार नेपाल र यूएइ बीच रहेको उल्लेख गर्दै त्यसलाई अझै बढाउनु पर्ने धारणा राखेका थिए ।
राजदुत नकबीले यूएइका व्यवसायीले नेपाली व्यवसायीसँगको साझेदारीमा छिट्टै फाष्टफुट सम्बन्धी उद्योग सञ्चालनमा ल्याउन लागेको जानकारी दिएका थिए । उनले नेपाली व्यवसायीलाई यूएइ आउन आग्रह गर्दै दुवै देशका व्यवसायीहरु बीच सम्बन्ध स्थापित गर्न भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए । उनले त्यसका लागि केही समय भने लाग्न सक्ने बताए । ‘यहाँबाट छिटो यूएइ पुग्न सक्ने सामान निर्यातमा नेपाली व्यवसायीको जोड हुनुपर्छ’, नकबीले भने, ‘क्वान्टिटी भन्दा क्वालिटीमा ध्यान दिए निर्यात व्यवसाय सफल हुनसक्छ ।’ उनले मासु र फाष्ट फुड नेपालबाट यूएइ निर्यातको सम्भावना रहेको समेत औंल्याएका थिए । कर लगायतमा सुविधा बारे भने नेपाल सरकार र यूएइ सरकारबीचको सम्झौतामा भर पर्ने राजदुत नकबीले बताए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव अजय टण्डनले गरेका थिए ।