बाँकेमा प्रहरी निगरानीमा विप्लव समूह, तीन नेता नियन्त्रणमा

बाँके प्रहरीले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माथि निगरानी बढाएको छ । सरकारले विप्लव निकट नेकपा माथि प्रतिबन्ध लगाएपछि बाँके प्रहरीले पनि विप्लव नेतृत्वको नेकपाका नेता, कार्यकर्ता र उनीहरुको गतिविधि माथि निगरानी बढाएको हो ।

 
सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि देशभर प्रहरीले उक्त समूह निकट नेताहरुलाई नियन्त्रणमा लिइरहेको छ । प्रहरीले विप्लव निकट नेताहरु विरुद्ध रहेका मुद्दाहरु समेत खोज्ने नियन्त्रणमा लिन थालेको हो ।

 
जिल्ला प्रहरी कार्यालय बाँकेले पनि सोमबार र मंगलबार गरी तीन जना नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका तीन जना नेतालाई नियन्त्रणमा लिएको छ । उनीहरुमध्ये केहीलाई एनसेल टावरमा बम विष्फोट गरेको आरोप छ ।
प्रहरी स्रोतका अनुसार, प्रहरी नियन्त्रणमा पर्नेमा विप्लव समूहका जनसरकार प्रमुख, सैन्य प्रमुख, न्यायिक कमिटिका इन्चार्ज रहेका छन् ।

 
सरकारले प्रतिबन्ध लगाएपछि विप्लव समूहले भने आन्दोलनको घोषणा गरेको छ । विप्लव नेतृत्वका नेकपाका महासचिव नेत्र विक्रम चन्दले एक विज्ञप्ति जारी गरी आफुहरु विरुद्धको आमहड्ताल फिर्ता लिन आन्दोनल घोषणा गरेको छ । विप्लव समूहले आज बुधबार देशभर चोक जुलुस, बिहीबार कोणसभा, शुक्रबार मशाल जुलुस, शनिबार नेपाल बन्द लगायतका आन्दोलनका कार्यक्रम चैत्र २४ सम्मका लागि घोषणा गरेको छ ।

 
सरकारको प्रतिबन्ध र आन्दोलनको कार्यक्रम घोषणा भएपछि बाँके प्रहरीले पनि विप्लव समूहका नेताहरुको खोजी कार्य सुरु गरेको हो । ‘शान्ति, सुरक्षामा खलल पुग्ने कुनै काम कसैबाट हुन नदिन प्रहरीले निगरानी गरिरहेको छ’, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले भने, ‘सरकारले प्रतिबन्ध लगाइसकेकाले विप्लव समूहका नेता र उनीहरुका गतिविधिमाथि हामीले निगरानी गरिरहेका छौं ।’

प्रतिक्रिया

प्रतिक्रिया