आठौं पर्खदै नेपालगन्ज

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले नेपालगन्जले आठौं राष्ट्रिय खेलकुदका लागि नेपालगन्ज तयारी अवस्थामा रहेको बताएका छन् । उपमहानगरपालिकाका तर्फबाट आठौंको स्वागतका लागि गरिएको छलफल कार्यक्रममा सोमबार खेलकुद मन्त्री जगत विश्वकर्मा लगायत खेल पदाधिकारीहरु सँग नगर प्रमुख डा. राणाले भने, ‘ढुक्क हुनुस् नेपालगन्जले आठौंको ऐतिहासिक छाप छाड्ने छ ।’

 
मिति नतोकिंदा तयारीका अन्यौलता औंल्याउँदै नगर प्रमुख डा. राणाले भने, ‘तपाई मिति निश्चित गर्नुस् नेपालगन्ज सफा, सुग्घर, चिटिक्क दुलही झैं सिंगारिनेछ ।’ उनले खेलकुदमा ऐतिहासिकता बोकेको नेपालगन्ज आठौंका कारण खेल पूर्वाधारमा समृद्ध बन्दै गएको बताउँदै भने, ‘थप तीन वटा रंगशाला बनाउन जग्गाको व्यवस्थापन गरिरहेका छौं ।’

 
कार्यक्रमका प्रमुख अतिथि खेलकुद मन्त्री विश्वकर्माले आगामी चैत्र १५ गते काठमाडौंमा बस्ने राष्ट्रिय खेलकुद परिषद्को बैठकले मिति निश्चित गर्ने जानकारी दिंदै भने, ‘२० गते नेपालगन्जमै मूल आयोजक समितिको बैठक बस्छ ।’ उनले आठौंको आयोजनामा निश्चित हुन आश्वस्त पार्दै भने, ‘नेपालगन्ज लगायत तोकिएकै भेनु र मिति भित्रै आठौंको आयोजना हुन्छ ।’ उनले पूर्वाधारका कारण मिति तोक्न भैरहेको ढिलाई र बाध्यता बुझ्न आव्हान गर्दै भने, ‘सञ्चारकर्मी साथीहरुले आठौं आयोजनाका बारेमा निराशाको सञ्चार नगरौं ।’ मन्त्री विश्वकर्माले राष्ट्रिय प्रतियोगिता सञ्चालन कार्यविधि नै तयार गरेर आगामी राष्ट्रिय प्रतियोगिताहरु पूर्वाधार सहित चक्रिय प्रणालीमा देशका सात वटै प्रदेशमा क्रमशः गर्दै जाने नीतिगत सुनिश्चितता गर्न लागिएको जानकारी दिए ।

 
नगर उपप्रमुख उमा थापा मगरले सहजीकरण गरेको कार्यक्रममा नागरिक समाजका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले आठौं तोकिएकै समयमा हुनुपर्ने कुरामा जोड दिएकी थिइन् । राखेप उपाध्यक्ष पिताम्बर तिमिल्सिना, सदस्य सचिव केवश कुमार विष्ट, क्षेत्रीय अध्यक्ष भीम ओली, उपाध्यक्ष नरेन्द्र थापा लगायतका खेल पदाधिकारी सम्मिलित कार्यक्रममा प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमाल, नेकपाका नेता सम्सुद्दिन सिद्दिकी, फोरम अध्यक्ष कमरुद्दिन राई, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कंडेल, कोहलपुर उद्योग वाणिज्य महासंघका महासचिव तेज प्रसाद अधिकारी लगायतले आठौंको भव्य सफलताका लागि आफ्नो भूमिका प्रभावकारी रहने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया