फिरौती पछि पनि नफर्काइएका मुन्नुका अपहरणकारी ६ बर्षपछि पक्राउ (यस्तो छ घटनाक्रम)

नेपालगन्जमा भएको एक अपहरण घटनाका अपराधीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले ६ बर्षपछि पक्राउ गर्न सफल भएको छ । २०६९ साल असार २६ गते नेपालगन्ज–१० का ताहिर अन्सारीका २२ बर्षका भाई मुन्नु अन्सारीलाई अपहरण गरेको घटनामा जिल्ला अदालतबाट सजाय पाई फरार रहेका मुल्ला भन्ने निजामुद्दिन साईलाई प्रहरीले पक्राउ गरेको हो । बाँके जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक मुद्दामा साईलाई २०७२ माघ २ गते ९ बर्ष कैद र ९ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो ।

 

 
मुन्नुका परिवारले अपहरणकारीले माग गरेको ९ लाख रुपैयाँ बुझाए । तर, मुन्नु हालसम्म पनि परिवारको सम्पर्कमा छैनन् । मुन्नु बेपत्ता भएपछि भारत मिहिपुरवा बस्ने उनकै मामा सिराजुल रहमानले घरमा फोन गरी भान्जा भारतमा अपहरणमा परेको जानकारी पहिलो पटक परिवारलाई दिएका थिए । सिराजुलले भान्जालाई अपहरणमुक्त गराउने भन्दै ९ लाख रुपैया“ लिएर गएकोमा हालसम्म फर्केर आएका छैनन् । घटनाका अभियुक्त सिराजुल हाल फरार छन् । परिवारका अनुसार, सिराजुलसँगै अन्य दुइजना भारत मिहिपुरवाका मोइन कुरेसी र इरसाद खानलाई पीडित परिवारले फिरौतीको रकम बुझाएको थियो ।

 

 
२०६९ साल असार २६ गते रुपैडिहा गएको मुन्नु त्यहीबाट अपहरणमा परेका हुन् । मुन्नुको परिवारले २०६९ साल कार्तिक १८ गते पहिलो पटक पत्रकार सम्मेलन गरी आफ्नै मामाको मिलेमतोमा अपहरण भएको तथ्य बाहिर ल्याएका थिए । मुन्नुले पित्तलको भाडा बनाउने काम गर्दै आएका थिए ।

 

 
अपहरण घटनापछि अपहरितका दाजु मोहम्मद ताहिरले जिल्ला प्रहरी कार्यालय, बा“केमा जोहेरी दिएका थिए । बाँके इन्द्रपुर ३ का रेङ्गउ भन्ने रिजवान साइ, ८ का सुस्मी बर्मा, ३ का निजामुद्धिन मुल्ला साइ, कम्दी ८ का बकरिदी शेष, भवानियापुर ८ का प्रमोद गिरी, भारतका मिहिपुरवा मोतीपुरका सिराजुल रहमान, इरसाद खान र मोइन कुरेसीलाई प्रतिवादी बनाउदै ताहिरले जाहेरी दिएका थिए ।

 
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, मुन्नु अपहरण घटनाका अभियुक्त बर्मा २०७४ साल असोज २९ गते पुनरावेदन अदालतबाट छुटेकी छन् । प्रमोद गिरी पनि हाल छुटेका छन् भने रिजवान साई नेपालगन्ज कारागारमा छन् । घटनामा संलग्न नेपाली नागरिक बकरिदी शेष, झल्लु धोबी, भारतीय नागरिक इरसाद खान, मोइन कुरेसी, सिराजुल रहमान फरार नै छन् । फरार रहेका भारतीय नागरिकलाई अदालतले नेपालको सरहदमा आएपछि तत्काल कार्यान्वयन गर्ने गरी आदेश मुल्तबीमा राखेको छ ।

 
मुन्नु अपहरणको एक बर्षपछि २०७० साल जेठमा मुन्नुको हत्या भएको सूचना परिवार समक्ष पुगेको थियो । धम्बोझीका एक व्यक्तिको अपहरण घटनाको अनुसन्धान गर्दा पक्राउ परेका व्यक्तिबाट मुन्नुको हत्या भएको खुलासा भएको थियो । परिवारले मुन्नुको शव गाडिएको ठाउँसमेतको जानकारीमा आएकाले उत्खनन् गरी डिएनए परीक्षणको माग गर्दै आएको छ ।

 
निजामुद्दिन साई पक्राउ परेपछि जानकारी दिन जिल्ला प्रहरी कार्यालय बाँकेले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले घटनाको सुक्ष्म रुपमा अध्ययन गरिरहेको जानकारी दिंदै फरार पक्राउ पर्ने बताएका थिए ।

 

 

 

प्रतिक्रिया

प्रतिक्रिया