संघीयताको प्रभाव : नेपालगन्जबाट टुक्रिँदै, छाड्दै कार्यालयहरु

    देबेन्द्र राज पौडेल


    मुलुक संघीय संरचनामा गएपछि नेपालगन्जका सरकारी तथा गैर सरकारी कार्यालयले नेपालगन्ज छाड्न क्रम जारी छ । कतिपय कार्यालयले नेपालगन्जको रहेको कार्यालयलाई शाखाका रुपमा छाडेर अन्यत्र गएका हुन् ।
    संघीय संरचनामा अघि बाँकेलाई केन्द्र बनाएर काम गरिरहेका सुदूरपश्चिम र मध्यपश्चिम हेर्ने कार्यालयहरुले बाँके छाडेका छन् । मध्यपश्चिममा नेपालगन्जलाई केन्द्र बनाएको गैर सरकारी संस्थाहरु पनि प्रदेश विभाजनपछि सम्बन्धित प्रदेश जाने क्रम चलिरहेको छ । क्षेत्रीय स्तरका सरकारी कार्यालयहरु पनि प्रदेशको राजधानी बुटवल जाने क्रम छ ।
    त्यसैक्रममा शिक्षा मन्त्रालय अन्तर्गत कोहलपुरमा मध्य र सुदूरपश्चिम हेर्ने गरी सञ्चालनमा रहेको सिटिइभीटी पश्चिम क्षेत्रीय कार्यालय रुपन्देही जाने भएको छ । प्रदेश विभाजन पछि कर्णाली प्रदेशको जिम्मेवारी हेर्ने गरी सिटिइभीटी सुर्खेत र प्रदेश ७ को जिम्मेवारी हेर्न धनगढीमा सिटिइभीटी स्थापना गरिने भएको हो । प्रदेश ५ को सिटिभीटीको मुख्य कार्यालय समेत रुपन्देहीबाट सञ्चालनमा आउने भएको छ । यद्यपि, कोहलपुरमा रहेको सिटिइभीटीको कार्यालय कुन अवस्थामा रहने भन्ने निश्चित छैन ।

     
    ‘मुलुक प्रादेशिक संरचना गएपछि सिटिइभीटीको कार्यालय पनि सम्बन्धित कार्यालयमा स्थापित हुन लागेको हो’, भेरी प्राविधिक शिक्षालय नेपालगन्ज उपप्रमुख पारस खड्काले भने ।

     
    बाँकेबाट सिटिइभिटीको पश्चिम क्षेत्रीय कार्यालय रुपन्देही सार्न लागिएको भन्दै विद्यार्थी संगठनहरुले विरोध गरेका छन् । ‘अपायक स्थानमा सिटिइभिटीको पश्चिम क्षेत्रीय कार्यालय सार्न लागिएकाले हामीले विरोध गरेका हौं’, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तुल्सीमणि केसीले भने, ‘कुनै न कुनै वहानामा बाँकेबाट कार्यालयहरु सार्न काम भैरहेको छ ।’

     

    विद्यार्थी नेता केसी, नेविसंघ बाँकेका अध्यक्ष पूर्ण प्रसाद आचार्य, अनेरास्ववियू बाँके अध्यक्ष मोहित शाह, अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष सुरेन्द्रजंग शाहले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी सटिइभिटीको पश्चिम क्षेत्रीय कार्यालय यथावत राख्न आग्रह गरेका छन् । विद्यार्थी नेताहरुले आफ्ना मागलाई वेवास्ता गर्दै कार्यालय सार्न खोजिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

    ‘सञ्चार केन्द्र नसार’

    नेपालगन्जबाट विभिन्न जिल्ला हेर्ने गरी स्थापना गरिएको सञ्चार केन्द्र सार्न थालिएपछि नेपाल पत्रकार महासंघ बाँकेले त्यसको विरोध गरेको छ । सरकारले नेपालगन्जमा रहेको सञ्चार केन्द्र वुटवल सार्न थालेपछि महासंघले त्यसको विरोध गरेको हो ।
    पत्रकार महासंघ बाँके शाखाले जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारलाई मंगलबार ज्ञापन पत्र बुझाउँदै सञ्चारकेन्द्र नेपालगन्जमै राख्न आग्रह गरेका छन् । महासंघले लामो समयदेखि लोक कल्याणकारी विज्ञापनको भुक्तानी समेत रोकिएकाले तत्काल उक्त भुक्तानीका लागि आग्रह गरेको हो ।
    नेपालगन्जका सञ्चारकर्मीहरुले बुटवल सञ्चार केन्द्र लगे त्यो अपायक हुने भन्दै विरोध गर्दै आएका छन् । वरिष्ठ पत्रकार पूर्णलाल चुकेले बर्र्षौदेखि नेपालगन्जमा रहेको सञ्चार केन्द्रलाई कुनै पनि हालतमा अन्यत्र लैजान दिन नहुने बताएका छन् । ‘सबैलाई पायक पर्ने ठाउँ नेपालगन्ज नै हो, भैरहेको कार्यालय सारेर अनावश्यक दुःख दिने काम भैरहेको छ’, वरिष्ठ पत्रकार चुकेले भने ।
    प्रेस मञ्च नेपालका उपाध्यक्ष आशिष गुप्ताले पनि सञ्चार केन्द्र कुनै पनि हालतमा नेपालगन्जबाट सार्न दिन नहुने तर्क गरेका छन् । पत्रकार गुप्ताले यसबारे अग्रसरता लिंदै अग्रज पत्रकारहरु बीच छलफल समेत आयोजना गरेका थिए ।

    प्रतिक्रिया

    प्रतिक्रिया