मेरा कुरा : घोप्टे युग, युगकै एक चुनौती

हेमन्त राज काफ्ले

सत्य युग, द्वापर युग, कलियुग भन्थे अहिले युगलाई नै अजिव सँग चुनौती दिदै घोप्टे युगमा संसार गए जस्तो भान गराएको छ । अहिले प्रविधिले मानिसलाई यति ब्यस्त बनायोकी उसको जीवन सधै अस्तब्यस्त छ । जतिखेर पनि उ मोबाइल र कम्प्युटरमा एक किरा या लुतो जस्तो टाँसिएको छ । मानव सभ्यताको विकाससँगै आज सूचना प्रविधिमा आएको पछिल्लो चमत्कारले मानिसको जीवन भोगाइलाई नै परिवर्तन गराएको छ । मानवको अभिन्न अङ्गको रुपमा कम्प्युटर, ल्याप्टप, फोनहरु देखिएका छन् यीनी घोप्टे युगका एक शस्त्र भएका छन् ।

 
यो इन्टरनेटले आज मानिसलाई एक मानसिक दास जस्तो बनाइसकेको छ । चौबिसै घण्टा जसो लगभग मानिसहरू कम्प्युटर र मोबाइलमा ब्यस्त हुन्छन् । चाहे खेल होस् या त कुनै सामाजिक सञ्जालका च्याटिङ्ग होस् या कुनै युटुबका सामाग्री होस् । यो सामाजिक संजालले मानिसहरुका कति घर बनेका छन् त कतिका घर बिग्रेका छन् । मानिस आज डिप्रेसनको शिकार या मनरोगी बन्दै गएको छ । मानिस आज आफ्नो बिनाशको कारण आफै बन्दै छ । एउटा मन्द विष जस्तै बन्दै छ यो सामाजिक सञ्जाल । मानिस के खायो पहिले सामाजिक संजालमा पोस्ट गर्छ, के नयाँ कपडा किन्यो पोष्ट गर्छ अनि मानिस बिरामी भो पोस्ट गर्छ मानिस बित्यो भने पनि त्यो फोटो सङ्ग सेल्फी खिच्छ साँचै मानवता हराए जस्तो भान गराउँछ । यहाँ घरमा आगलागी भएको छ मानिस पानी हाल्ने ठाउँमा फेसबुक लाइभ गरेर बस्छ अनि कतै दुर्घटना भो सहयोग गर्ने ठाउमा उ भिडियो बनाएर बस्छ । अजिबको भएको छ यो घोप्टे युग ।

 
आज मानिसहरुका घरमा पहिले जस्तो बैठक कोठामा गएर गफ गरिदैन दिनभरिको कामको समिक्षा नि गरिदैन । छोराले बुबा सङ्ग र आमाले श्रीमान सँग सोधपुछ हुँदैन छोराले बुवा मेरो चित्र कस्तो छ बुबा चित्र नहेरी निकै राम्रो भन्न पुग्छ। जति सदस्य छन् घरमा सबै आफ्नै तरिकाले घोप्टेका छन् । अनि बिरामी कुर्न अस्पताल जानेहरु बिरामीको चिन्ता छैन जति जना छन् कुर्न बसेका सबै घोप्टेका छन् । आज कुनैपनि घरको सदस्यका बिचमा कुनै गफ हँुदैन नत कुनै सल्लाह हुन्छ । मात्र सबै ब्यस्त छन् आफ्नै मोबाइल या ल्यापटपमा । यति सजिलो भैइदियो की यसमा न उमेरले छेक्छ नत कुनै अप्ठ्यारो स्थिति छ । आज यसमा सबै भन्दा बढी युवा फसेका छन् । युवाहरू विशेष गरि नराम्रो संगतमा लागेका लाग्ने भएका छन् अनि विभिन्न अपराधी क्रियाकलापमा युवा नै छन् । आज कयौ ठुला ठुला घट्नाहरु सामाजिक सञ्जालले गर्दा भएका छन् । कतिले झुटको खेती गरेर नाजायज फाइदा लिएका छन् । सूचना प्रविधि, इन्टरनेटका कारण संसारका सम्पूर्ण गतिविधि र घटनाक्रम समाचारहरु एक ठाउँमा बसेर सहज तरिकाले हेर्न सकिन्छ र ताजै जस्तो बनाएको पनि छ । अझ त कतिपय नकारात्मक झुठो समाचार हावा जस्तै सहज फैलिएका छन् । नमरेकालाई मर्यो भनेर श्रद्धाञ्जली दिएको पनि देखियो । यसले गर्दा यसको विश्वसनीयता पनि औला उठ्न थालेको छ यसले अनेक किसिमका समस्याहरु पनि निम्तिरहेको छ ।

 

 
शारीरिक व्यायामयुक्त मनोरञ्जन लिनुको साटो यिनै संजालमा व्यस्त भैदिदा अनेक शारीरिक समस्यामा पर्ने गरेको पाइन्छ विभिन्न रोगले सहजै आक्रमण गर्दै गएको छ । बिहान कोठामा भएको छोरो दिन भरी भित्रै भैदिन्छ कति दिक्क लाग्दो हो आमा बुवालाई यसरी लामो समयसम्म एउटै थलोमा एक तमासले मोबाइल र ल्यापटममा लागि रहँदा ढाडको वा गर्धनको समस्या देखापर्न थालेको छ अनि मानिस दीर्घ रोगी बन्दै गएको छ । अझ भनम् भने आँखा कमजोर हुने तथा स्मरणशक्ति पनि कमजोर हुने समस्या उत्पन्न भएको छ । अझ मानिसहरुमा आफुमा भएका खुबीहरु मर्दै गएका छन् ।

 

 
आज मानिसलाई मोबाइल फोन वा ल्यापटप भएन भने उसको जीवन नै अधुरो रहेको महसुस गराएको छ । हातहातमा स्मार्ट फोन बोकेर छिनछिनमा त्यसैमा नजर दिनेहरुको कुनै कमी छैन । यस्ता दृश्य देख्दा लाग्छ नेपालीहरु आधुनिक घोप्टे युगको चरम उत्कर्षमा पुगेका छन् । अफिसका हाकिम ब्यस्त छन् पढ्ने विद्यार्थी ब्यस्त छन् अझ उनीहरुको व्यस्तता निकै अनौठो तरिकाले बढेको छ । सूचना प्रविधको विकाससंगै मौलाएको सामाजिक संजालमा प्रवेश गर्नेहरुमध्ये धेरै यसलाई मनोरञ्जन र समय कटाउने माध्यमकोवरुपमा मात्र लगिरहेका हुन्छन् । जथाभावी साथी बनाउने अनावश्यक कुराकानी गर्ने गर्दछन् र त्यसैबाट नजिक हुन्छन् र गलतको शिकार बन्न पुग्छन् । यसको तातो उदाहरण हाम्रा समाजमा दिनहुँ घटिरहेका घटनाहरु हुन चाहे सुर्खेतको प्रेमीले गरेको बलात्कार होस या दाङ्गमा भएको श्रेष्ठ ब्यापारीको हत्या होस यस्ता हजारौं घटना घटेका छन् । आज मानिस यसको बिकृतिले आर्थिक एबम विभिन्न हत्या हिंसा अनि शारीरिक शोषणमा परेका छन् ।

 

 
सामाजिक सञ्जालकै माध्यमबाट चिनजान गरेकाहरुबाट दुबै पक्षको घरबार विगारेका घटनाहरु पनि हजारौं छन् यो समाजमा । कयौंको घर पनि बसेको छ तर त्यति विश्वसनियता देखिएको छैन त्यो परिवारमा । छोराछोरीको बिहे गर्ने उमेर पुगेकाहरु च्याट गर्दै परस्त्री र परपुरुषसंग लहसिन पुग्ने र दुबै परिवारको बिचल्ली पारेका कयौ घटनाहरु देखिएका छन् ।

 
सामाजिक संजालकै चिनजानका कारण जीवनै बर्बाद गरेका घटनाहरु नि उदाहरणका रुपमा छन्, अनि यसैका कारण अपहणमाा परेर मोटो रकम फिरौती तिरेका घटनाहरु पनि छन् । समाजिक संजाल बास्तबमै एक चुनौतीको रुपमा देखिएको छ ।

 
कुनै पनि कुराको फाइदा र बेफाइदा हुन्छ । सदुपयोग गरे राम्रो नतिजा आउँछ भने दुरुपयोग गरेमा नराम्रो अवस्था देखा पर्छ । सूचना प्रविधिले गर्दा मानिस जाँगरिला, सिर्जनशील र रचनात्मक बन्दै गएको पनि हाम्रो समाजमा उदाहरणको रुपमा देखिएका छन् । कतिले त यसको सहायताले आफ्नो ब्यापार बिजनेश पनि बढाएका छन् । सूचना प्रविधिमा बढ्दै गएको विकृति, विसंगति हेर्दा समाजमा लाज लाग्दो अवस्था पनि सृजना भएको छ ।

 

 
हिजोआज संसारका अधिकांश मानिसको रोजाइमा सामाजिक संजाल पर्ने गरेको छ । सार्वजनिक स्थान, घर, स्कूल, कलेज, मन्दिर, चर्च, बस, जताततै जतिखेर पनि सामाजिक संजालमा ब्यस्त देखिन्छ मानिसहरु । यसरी ब्यस्त हुनु राम्रो होइन र यो यति सजिलो भयोकी जो कोहीसँग पनि यसको पहँुच छ । अनि जो कोही कसै सँगपनि सहजै नजिक हुन पुग्छ । यसरी हेर्दै जाने हो भने दिनप्रतिदिन यदि यसरी नै मानिस घोप्टे युगको सिकार बन्ने हो भने एकदिन आफ्नो मरणको कारक पनि आफै बन्ने छ । समयमा सचेत भैइ यो घोप्टे युगको मन्द विष सेवनबाट बच्न जरुरी छ यो घोप्टे युग वास्तवमै सबै युगको एक चुनौतीको रुपमा देखिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया