नेपाल–भारत सीमामा कडाई

भारतमा लोकसभा निर्वाचन
चेकजाँचमा फेला पर्यो ५० ग्राम ब्राउन सुगर र साढे ३ लाख नगद बरामद

 

नेपाल–भारत सीमामा भारतीय सुरक्षा अधिकारीहरुले निगरानी र चेकजाँचलाई बढाएका छन् । आगामी ११ अप्रिल देखि लोकसभाको निर्वाचन तय भएपछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर सीमामा चेकजाँच बढाएको भारतीय सुरक्षा अधिकारीहरुले बताएका छन् ।
भारतमा सात चरणमा निर्वाचन हुने लागेको हो । पहिलो चरणमा ११ अप्रिल, दोस्रो चरण १८ अप्रिल, तेस्रो चरण २३ अप्रिल, चौथो चरण २८ अप्रिल, पाँचौं चरण ६ मे, छैटौं चरण १२ मे र सातौं चरणमा १९ मे लोकसभा निर्वाचन हुन लागेको छ । नेपाल–भारत सीमाको नेपालगन्ज जमुनाहबाट नजिकमा रहेको बहराइच जिल्लामा आगामी मई ६ मा मतदान हुँदैछ ।
निर्वाचनकै निगरानीका क्रममा जमुनाह नाकामा भारतीय सुरक्षा अधिकारीहरुले सीमामा आवातजावत गर्ने प्रत्येक नागरिकको चेकजाँचमा कडाई गरेका छन् । त्यसले सास्ती समेत झेल्नुपरिरहेको यात्रुहरुको गुनासो छ । सीमा क्षेत्रका बासिन्दा भारतले यसअघिको निर्वाचन भन्दा यसपटक थप कडाईका साथ चेकजाँच गरेको बताउँछन् । ‘भारत–पाकिस्तान बीचको पछिल्लो तनाव र आतंकवादी हमलाका कारण नेपालतर्फको सीमामा पनि निगारानी यसअघि भन्दा बढी नै गरिएको हुनसक्छ’, नेपाली सुरक्षा अधिकारीहरु भन्छन् ।
‘निर्वाचनका बेला सीमाका कडाई हुनु नियमित प्रक्रिया हो’, भारतीय पत्रकार एसके मधेशीयाले भने, ‘निर्वाचन आचारसंहिता लागु भएका अवस्थामा प्रतिबन्धित गतिविधि नहोस् भन्नेमा प्रहरी सक्रिय छ ।’ भारतीय सुरक्षा अधिकारी हतियार ओसारपोसार, मदिरा र नगद ओसारपोसार नहोस् भनेर निगरानी गरिरहेका छन् ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय प्रहरीले सीमामा गरेको संयुक्त गस्तीका क्रममा दुई जना नेपालीलाई ८० लाख नेपाली मूल्य बराबरको ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । भारतीय सुरक्षाकर्मीले चेकजाँचका क्रममा नेपालगन्ज राँझाका रमेश शर्मा तथा सम्राट शाहीलाई ५० ग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको बताएको छ । उनीहरु दुवैलाई जेल चलान गरेको एसएसबी कमांडेट सुकुमार देव बर्मले सञ्चारमाध्यमलाई बताएका छन् । सीमामा सुरक्षा निगरानीका लागि गरिएको चेकजाँचमा ब्राउनसुगर ओसारपोसार गर्ने समातिएका हुन् ।
त्यस्तै, शनिबार भारतीय सुरक्षाकर्मीले सीमाबाट एक भारतीय नागरिकको ३ लाख २० हजार भारतीय रकम सहित नियन्त्रणमा लिएका छन् । निर्वाचन संहिता लागु गर्न खटिएको प्रहरी टोलीले झारखण्डका रञ्जित कुमार महतोसँग र रहेको रकम सहित नियन्त्रणमा लिएको हो । प्रहरीले मतदाता प्रभावित पार्ने प्रयोजनमा रकम प्रयोग गर्न खोजेको आशंकामा प्रहरीले रकम नियन्त्रणमा लिएको बताएको छ । ‘रकमबारे यथेष्ठ प्रमाण दिन नसकेपछि रकम जफत गरिएको हो’, भारतीय सुरक्षा अधिकारीहरुले सञ्चारमाध्यम सँग भनेका छन् ।
‘नेपालबाट भारत प्रवेश गर्ने नाकाहरुमा बेरियर लगाएर चेकजाँच भैरहेको छ’, भारतीय पत्रकार मधेशियाले भने । त्यसबाहेक निर्वाचन आचारसंहिता पालनाको अवस्था अनुगमनका लागि नानपाराका एसडिएमले रुपैडिहा बजार क्षेत्र अनुगमन गरेका छन् ।
भारतीय चुनाव आयोगका अनुसार तेलंगना, तामिलनाडू, झारखण्ड, अन्डमान एण्ड निकोबार र दादरमा एकै चरणमा चुनाव हुनेछ । कर्नाटका, मनिपुर, राजस्थान र त्रिपुरामा दुई चरणमा हुनेछ भने आसम र छत्तिसगढ राज्यको चुनाव तीन चरणमा सकिनेछ । यसैगरी झारखण्ड, मध्यप्रदेश, महाराष्ट्र र ओडिसाको चार चरणमा तथा झारखण्डमा पाँच चरणको चुनाव हुनेछ भने विहार, उत्तर प्रदेश र पश्चिम बंगाल प्रदेशमा सातै चरणको चुनाव पर्नेछ ।
आयोगका अनुसार १७ औं लोकसभा गठनका लागि हुने चुनावमा ९० करोड मानिसले मतदान गर्नेछन् । उनीहरु मध्ये ८ करोड ३४ लाख नयाँ मतदाता छन् । १८ देखि १९ वर्षका नयाँ मतदाता मात्र डेढ करोड रहेका छन् । १० लाख मतदान केन्द्र हुनेछन् भने हरेक मतदान केन्द्रमा भोटर भेरिफिकेसन पेपर अडिट ट्रोल (भीभीप्याट) हुने बताइएको छ । भारतीय संविधानअनुसार लोकसभाको सिटको अधिकतम संख्या ५५२ हुनसक्छ । अहिलेको सिट संख्या ५४५ छ । जसमध्ये सबै राज्य र केन्द्र शासित प्रदेशमा ५४३ सिटका लागि आम चुनाव हुनेछ । यसका साथै यदि राष्ट्रपतिलाई एंग्लो इण्डियन समुदायका मानिसहरुको प्रतिनिधित्व पर्याप्त छैन भन्ने लागेमा दुई जना मनोनित गर्न सक्नेछन् ।
कुल सिटमध्ये १३१ आरक्षित सिट हो, जसमा अनुसूचित जातिका लागि ८४ र अनुसूचित जनजातिका लागि ४७ सिट आरक्षित छ । कुनै पनि पार्टीलाई बहुमत प्राप्त गर्न २७२ सिट जित्नुपर्छ । विपक्षी दलको नेता हुन कम्तीमा ५५ सिट चाहिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया